निन्दा कृषि सहकारी संस्थामा महायज्ञ शुभारम्भ

0
2

मेचीनगर । निर्माणाधिन अवस्थामा अलपत्र परेको सामुदायिक भवनसहितको कृषि संग्रहालयलाई पूर्णता दिने उद्देश्यले निन्दा कृषि सहकारी संस्थाले झापाको मेचीनगर १० मा महायज्ञ शुभारम्भ गरेको छ ।

आर्थिक अभावका कारण निर्माणाधिन अवस्थामा अलपत्र बनेको सामुदायिक भवनसहितको ग्रामिण कृषि संग्रहालयलाई पूर्णता दिन श्रीमद् भागवत महापुराण धन-धान्याचल सप्ताह धार्मिक ज्ञान महायज्ञको आयोजना गरिएको हो । भवन सरस्वती टोलमा छ । त्यहाँ व्यवस्थापनमा समस्या आएपछि देवी टोलमा महायज्ञको आयोजना गरिएको संस्थाका अध्यक्ष प्रकाश खड्काले जानकारी दिए । माघ १७ गते शनिबार औपचारिक रुपमा पुराणको प्रारम्भ गरिएको छ ।

उद्घाटनको दिन कलश यात्रा गरिएको थियो । पुराणस्थलबाट निन्दा नदीसम्म र नदीको पानी लिएर महायज्ञस्थलसम्म पुर्याएको थियो ।
सामुदायिक भवनसहित कृषि संग्रहालय बनाउने उद्देश्यले स्थानीय सरस्वती टोलका अनिल पौडेलले २०७७ सालमा करिव २५ लाख मूल्य पर्ने १ कठ्ठा जमिन संस्थालाई प्रदान गरेका थिए । पछि भवन निर्माणका लागि बाटो अभाव हुँदा डेढ कठ्ठा जमिन दिएर एकलौटी बाटो निर्माण गरिदिएका थिए ।

सामुदायिक भवन निर्माणसहित ग्रामिण कृषि संग्रहालय निमार्ण गर्न समुदाय नै लागेपनि पूर्ण भने हुन पाएको थिएन । समन्वयकै आधारमा तत्कालिन सांसद राम कार्कीले संघीय सरकारबाट सात लाख उपलब्ध गराएर सहयोग गरेका थिए । त्यसैगरी प्रदेश सरकारका सांसद श्री मैलानीले ५ लाख, मेचीनगर पालिकाले ३ लाख २५ हजार आर्थिक सहयोग गरेपछि भवन निर्माण सुरु गरेका थिए । उक्त रकमबाट निर्माणाधिन अवस्थामै रकम अभाव भएपछि निन्दा कृषि सहकारी संस्था र सदस्यहरुबाट संकलित ४ लाख रकम समेत भवन निर्माणमा लगाइएको थियो । त्यसपछि कोभिड महामारीका कारण निर्माण रोकिएको थियो । त्यसपछि निर्माणाधिन अवस्थामै अलपत्र परेको संरचनालाई पूर्णता दिन महायज्ञको आयोजना गरिएको जग्गा दाता पौडेलले जानकारी दिए ।

कलश यात्रापछि आयोजित कार्यक्रमका प्रमुख अतिथि मेचीनगर वडा नम्बर ९ का पूर्वअध्यक्ष गोपाल खड्काले दीप प्रज्जलन गरेको उद्घाटन गरेका थिए । उनले सामुदायिक भवन र कृषि संग्राहलय स्थापना गर्ने महान् उद्देश्य राखेर आयोजना गरिएको महायज्ञलाई सबैले सहयोग गर्न आग्रह गरेका थिए । आफुले पनि सक्ने सहयोग गर्ने प्रमुख अतिथि खड्काले बचन दिएका थिए । माघ १७ गतेदेखि २५ गतेसम्म आयोजना हुने उक्त पुराणबाट भवन निर्माणका लागि १५ लाखबढी आर्थिक सहयोग संकलन हुने अपेक्षा गरिएको आयोजकको भनाई छ ।माघ २५ गतेसम्म सञ्चालन हुने महायज्ञमा प्रमुख कथा बाचक पण्डित व्यासाचार्य खगेन्द्रप्रसाद अधिकारी रहनेछन् ।

प्रकाश खड्काको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पुराण व्यवस्थापनका लागि निर्माण गरिएको १ सय १ सदस्यीय समिति तथा तीन वटा उपसमिति समेत बनाइएको जानकारी गराइएको थियो ।

उपसमिति अन्तरगत जग्गा दाता अनिल पौडेलको संयोजकत्वमा आर्थिक समिति बनाइएको छ । त्यस्तै शिवशंकर शाहको संयोजकत्वमा प्रचारप्रसार समिति र विनोद कट्वालको संयोजकत्वमा यज्ञ तथा पण्डाल व्यवस्थापन समिति निर्माण गरिएको बताइएको छ । कार्यक्रमको  सञ्चालक परमात्मा ओझाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here