स्रोत जुटाएर ब्याडमिन्टन कभर्डहल निर्माण

0
13

बेनी (म्याग्दी),

बेनी नगरपालिका–४ डामडाँडामा ब्याडमिन्टन कभर्डहल निर्माण गरिएको छ । वडा कार्यालय, समुदाय र प्रवासमा रहेका स्थानीयवासीको रु २० लाख बढी लगानीमा ब्याडमिन्टन कभर्डहल निर्माण गरिएको हो ।

कभर्डहलको शनिबार उद्घाटन गरिएको छ । कभर्डहलको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले पछिल्लो समय लोकप्रिय खेलका रूपमा विकास हुन थालेको ब्याडमिन्टन खेलअभ्यास तथा प्रतियोगिता सञ्चालनका लागि कभर्डहलले सहयोग पुग्ने बताउनुभयो । उहाँले सरकारी बजेटमा करिब दोब्बर सहयोग र श्रमदान जुटाएर खेलकुद पूर्वाधार निर्माण गरी स्थानीयवासीले उदाहरणीय कार्य गरेको बताउनुभयो ।

आर्थिक वर्ष २०७९/८० देखि निर्माण सुरु भएको कभर्डहल निर्माणले पूर्णता पाएसँगै ब्याडमिन्टन खेलाडी उत्साहित बनेका छन् । कभर्डहलको पूर्वाधार निर्माण गर्न दुई वर्षमा गरी वडा कार्यालयबाट रु सात लाख विनियोजन भएको थियो भने स्थानीयवासीले देउसीभैलोबाट रु दुई लाख तथा प्रवासमा रहेका स्थानीयवासीबाट उपलब्ध भएको रु ११ लाख ६२ हजार उठेको कभर्डहल निर्माण अभियानका संयोजक सुमन गुरुङले जानकारी दिनुभयो ।

करिब १५० जना दर्शकले खेल अवलोकन गर्न मिल्नेगरी पूर्वाधार निर्माण गरिएको छ । वडाभित्रका हरेक बस्तीमा खेलमैदान तथा खेलपूर्वाधार निर्माण गर्ने अभियानअन्तर्गत वडा र समुदायको साझेदारीमा कभर्डहल निर्माण भएको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार डामडाँडाका साथै सिङ्गा र तातोपानीमा गरी तीन स्थानमा ब्याडमिन्टन कभर्डहल निर्माण भएको र पूर्वाधार बनाउन वडामार्फत रु ३३ लाख खर्च भएको र समुदायले समेत त्यसमा थप सहयोग र श्रमदान जुटाएर ब्याडमिन्टन कभर्डहल निर्माण भएका हुन् ।

कभर्डहल उद्घाटन समारोहमा बेनी नगरपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, वडा सदस्य सन्दीप खत्री, नेपाली कम्युनिष्ट पार्टीका तेजबहादुर बानियाँ, नेपाली कांग्रेसका सुमन बानियाँ, नेकपा एमालेका तुलप्रसाद श्रेष्ठ, बालमखोला सिँचाइ उपभोक्ता समितिका अध्यक्ष भीम गुरुङलगायतले मन्तव्य राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here