निर्वाचन आचारसंहिता पालना गर्ने झापाका राजनीतिक दलको प्रतिबद्धता

0
1

झापा (विर्तामोड)। 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सदस्य निर्वाचनमा आचारसंहिता पालना गर्ने झापाका राजनीतिक दलले प्रतिबद्धता जनाएका छन् । उनीहरुले अझै पनि चुनावी वातावरण बन्न नसकेको भन्दै फरार कैदी र हतिार सुरक्षा थ्रे रहेको बताए ।

आसन्न प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न झापाका राजनीतिक दल, सुरक्षा निकाय र प्रशासनले साझा प्रतिबद्धता व्यक्त गरेका हुन् ।

संवाद समूह कोशी प्रदेशले विर्तामोडमा आयोजना गरेको संवादमा सहभागीहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने र सामाजिक सञ्जालमार्फत हुने दुष्प्रचार रोक्न आफ्नो ठाउँबाट पहल गर्ने सामूहिक अठोट गरेका हुन्।

​ प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले निर्वाचन आचारसंहिता २०८२ को कानूनी व्यवस्थाबारे प्रष्ट पार्दै २४ वटा विभिन्न क्षेत्र र समूहले यसको अनिवार्य पालना गर्नुपर्ने बताए । उनले कात्तिक ४ गतेपछि मात्रै जुलुस, र्‍याली र कोणसभा गर्न पाउने व्यवस्था रहेकाले अहिलेदेखि नै हुन सक्ने उल्लंघनका क्रियाकलापमा प्रशासनले निगरानी गरिरहेको बताए ।

​सुरक्षाको विषयलाई लिएर झापाका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले अहिलेको प्रमुख चुनौती डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालको दुरुपयोग रहेको उल्लेख गरे। प्रहरीले सामाजिक सञ्जालको सुक्ष्म मोनिटरिङ गरिरहेको र जिल्लाबाट सम्भव नभएका प्राविधिक विषयहरू केन्द्रमा पठाइने बताउँदै प्रहरी उपरीक्षक खड्काले सम्भावित सुरक्षा थ्रेटका सूचना समयमै प्रहरीलाई दिन आग्रह गरे।

​छलफलमा दलका प्रतिनिधिहरूले सुरक्षा र आचारसंहिता उल्लंघनका गम्भीर विषयहरू उठाएका थिए। नेकपा एमालेका एकराज कार्कीले कतिपय दलले निर्धारित समय अगावै घरदैलो र प्रचार सुरु गरेको भन्दै विधिको शासनमाथि प्रश्न उठाए। आचारसंहिताका कार्यान्वयन गर्ने बारेमा पार्टी कार्यकर्तासम्म संयन्त्र बनाएकाेले आाचारसंहिता कार्यान्वयनमा जाेड दिइएको बताए ।

नेपाली काँग्रेसका सचिव कृष्ण हुमागाईँले राजनीतिक प्रतिस्पर्धालाई आपराधिक गतिविधिले छायाँ पार्न खाेजेकाे बताए । विर्तामोडबाट लुटिएका हतियार अझै नियन्त्रणमा नआएकोमा चिन्ता व्यक्त गरे।

​त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका राजेन्द्र खनालले निर्वाचन आयोगको प्रभावकारितामाथि प्रश्न उठाउँदै आफ्ना कार्यकर्तालाई अनुशासनको दायरामा राख्न ५ तहको प्रशिक्षण दिएको जानकारी दिए। राप्रपाका केशवप्रसाद ओझा र नेपाल कम्युनिष्ट पार्टीका सुमन सिंहले झापा क्षेत्र नम्बर ५ लाई केन्द्रित गरी सामाजिक सञ्जालबाट फैलाइएका गलत सूचना र उम्मेदवार लक्षित षड्यन्त्रका हल्लाहरूले मतदातामा त्रास पैदा गरेको भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गराए।

​छलफलमा नेपाली कम्युनिष्ट पार्टीका ज्योतीसिंह दर्लामीले मतदाता शिक्षाको अभाव र बाहिर रहेका हतियारको जोखिमबारे कुरा उठाए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजा आङ्थुबोले पाथीभरा केबलकारको विवाद समाधान हुनुपर्ने विषयमा जाेड दिए ।

अहिले पनि पाथिभरामा केबुकार निर्माणकाे काम नराेकिएकाेले भाेली सम्भावित झडप हुनसक्ने भएकोले त्यसले चुनावमा असर पार्नेमा जाेड दिए । ​सबै सहभागीहरूले जेलबाट भागेका कैदी र अवैध हतियार नियन्त्रण गर्न, एआइ (कृत्रिम बुद्धिमत्ता) मार्फत फैलाइने घृणास्पद अभिव्यक्ति रोक्न र मतदाता शिक्षालाई प्रभावकारी बनाउन सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

दलहरूले आचारसंहिता विपरीत चल्ने आफ्ना कार्यकर्तालाई आफैँले कारबाही गर्ने र निर्वाचनलाई उत्सवका रूपमा सम्पन्न गर्ने साझा निष्कर्ष निकालेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here