झापा २ः मैदानमा १८ उम्मेदवार विखण्डित मतको परीक्षा

0
3

सुरेन्द्र भण्डारी
झापा, आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनले झापा क्षेत्र नम्बर २ लाई फेरि राष्ट्रिय राजनीतिक चासोको केन्द्रमा ल्याएको छ ।  
अघिल्लो निर्वाचनमा संसद्को सभामुख र उपसभामुख एउटै निर्वाचन क्षेत्रबाट चयन भई राष्ट्रिय राजनीतिमा दुर्लभ उदाहरण बनेको यो क्षेत्रमा यसपटक १८ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवार संख्या मात्रै होइन, राजनीतिक हैसियत, व्यक्तिगत प्रभाव र दलगत समीकरणको फेरबदलले पनि झापा–२लाई रणनीतिक रूपमा महत्वपूर्ण बनाएको छ ।

नेकपा (एमाले)का नेता तथा विघटित प्रतिनिधिसभाका सभामुख घिमिरे यस निर्वाचनका केन्द्रिय पात्र मानिन्छन् । २०७९को निर्वाचनमा २८ हजार ७१६ मत ल्याएर बिजयी बनेका घिमिरे सभामुख बनेपछि झापा–२मा विकासको अपेक्षा उच्च बनेको थियो ।

उनको पहलमा पूर्वाधार र विकासका केही योजना अघि बढे पनि ती योजनाले जनस्तरमा कति प्रभाव पा¥यो भन्ने प्रश्न अहिले निर्वाचनको निर्णायक बहस बनेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला र पार्टी संगठन बलियो मानिने क्षेत्र भएकाले घिमिरे अझै पनि संस्थागत शक्ति र संगठनात्मक आधारमा बलिया उम्मेदवार मानिन्छन् । तर, अघिल्लो निर्वाचनको तुलनामा यसपटक बहुदलीय प्रतिस्पर्धा र मत विभाजनको सम्भावनाले उनको जितको यात्रालाई अनिश्चित बनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा निवर्तमान उपसभामुख इन्दिरा रानामगर यसपटक प्रत्यक्ष निर्वाचनमार्फत संसद प्रवेश गर्ने लक्ष्यसहित मैदानमा छिन् । समानुपातिक प्रणालीबाट संसद प्रवेश गरेर उपसभामुख बन्न सफल रानालाई यसपटक प्रत्यक्ष जनमतको परीक्षणले चुनौति थपेको छ ।

राना सामाजिक अभियानबाट राजनीतिमा उदाएकी नेतृ हुन् । उनले आफ्नो कार्यकालमा स्थानीय विकास र सामाजिक मुद्दामा सक्रियता देखाएको दाबी गरे पनि पार्टीको संगठनात्मक संरचना अझै बलियो बन्न बाँकी रहेको विश्लेषण गरिन्छ । यसैले उनलाई यस निर्वाचनलाई राजनीतिक स्थायित्वको ‘टर्निङ प्वाइन्ट’ का रूपमा लिइएको छ ।

अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर दोस्रो स्थान हासिल गरेका भद्रप्रसाद नेपाल (स्वागत) यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चुनाव लडिरहेका छन् । २०७९मा उनले २६ हजार ४५५ मत ल्याएका थिए, जुन बिजयी उम्मेदवार घिमिरेको मतभन्दा २ हजार २ सय ६१ मात्र कम थियो ।

नेपालको मत परिणामले झापा–२मा वैकल्पिक राजनीतिक धारको सम्भावना देखाएको थियो । यसपटक दलको संरचनागत समर्थन पाएपछि उनी थप बलियो बन्ने वा तुलनात्मक रुपमा मत कम आउने हो, प्रतीक्षाको विषय छ ।

पुराना दलको अस्तित्वको लडाइ“

नेपाली कांग्रेसकी नेतृ तथा पूर्वराष्ट्रियसभा सदस्य एवम् पूर्वमन्त्री सरिता प्रसाईं र नेपाली कम्युनिष्ट पार्टीकी नेतृ तथा पूर्वमन्त्री धर्मशीला चापागाँईं पनि चुनावी प्रतिस्पर्धामा छन् । दुवै अनुभवी नेता हुन् ।

विशेष गरी कांग्रेस र माओवादी केन्द्रबीच अघिल्लो निर्वाचनमा रहेको गठबन्धन भंग भएसँगै यसपटक मत विभाजनको जोखिम देखिएको छ । यसले परम्परागत दलहरूलाई चुनावी गणित पुनः निर्माण गर्नुपर्ने अवस्था सिर्जना गरेको छ ।
२०७९को निर्वाचनमा प्रमुख दलहरूले गठबन्धनमार्फत चुनाव लडेका थिए । त्यसबेला एमाले–राप्रपा एकातिर र कांग्रेस–माओवादी केन्द्र अर्कोतिर थिए । तर, यसपटक सबै दल स्वतन्त्र रूपमा प्रतिस्पर्धामा छन् ।

यसले मतको विखण्डन बढ्ने सम्भावना मात्र होइन, अप्रत्याशित परिणाम आउने सम्भावनालाई पनि बलियो बनाएको छ । बिर्तामोड, अर्जुनधारा नगरपालिका, कनकाई नगरपालिकाका दुई वडा र बुद्धशान्ति गाउँपालिकाका चार वडा समेटिएको झापा–२मा कूल १ लाख ४७ हजार ५२२ मतदाता छन् । यसमध्ये १३ हजार ४३१ नयाँ मतदाता रहेका छन् ।

नयाँ मतदाताको झुकावले निर्वाचन परिणाममा निर्णायक भूमिका खेल्नसक्छ । विशेषगरी युवा मतदाता विकास, रोजगारी र वैकल्पिक राजनीतिक नेतृत्वको एजेण्डाप्रति आकर्षित हुने संकेत देखिन्छ । जुन जनस्तरमा चर्चाको विषय छ ।
यस निर्वाचनलाई दलगत शक्ति र व्यक्तिगत लोकप्रियताबीचको प्रतिस्पर्धाको रूपमा पनि हेरिएको छ । घिमिरे संगठन र सत्ता अनुभवका आधारमा बलिया देखिन्छन् भने राना र नेपाल वैकल्पिक राजनीतिक प्रतिनिधित्वको प्रतीकका रूपमा प्रस्तुत भएका छन् ।

त्यसैगरी प्रसाईं, चापागाँईं र कानून तथा संविधानका ज्ञाता युवराज संग्रौला जस्ता अनुभवी उम्मेदवारको उपस्थितिले प्रतिस्पर्धालाई बहुआयामिक बनाएको छ ।

झापा–२को परिणामले केवल स्थानीय राजनीतिक समीकरण मात्र होइन, राष्ट्रिय शक्ति सन्तुलनमा पनि प्रभाव पार्न सक्ने विश्लेषण भइरहेको छ । विशेषगरी नेतृत्व सम्हालेका व्यक्तिहरू प्रत्यक्ष निर्वाचनबाट पुनः संसद पुग्ने वा नपुग्ने प्रश्नले राष्ट्रिय राजनीतिमा प्रतीकात्मक अर्थ राख्छ ।

फागुन २१को निर्वाचनलाई झापा–२ का लागि मात्र नभई नयाँ र पुराना राजनीतिक धारबीचको जनमत परीक्षणको रूपमा पनि हेरिएको छ । यहाँको परिणामले आगामी संसदीय राजनीति र दलगत रणनीतिमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

झापा २मा अघिल्लो निर्वाचनमा १८ जना उम्मेदवार चुनावी प्रतिष्र्धामा थिए । यसपटक पनि संयोगका रुपमा १८ जना उम्मेदवार नै चुनावी दौडमा छन् । जसमा तीन जना स्वतन्त्र उम्मेदवार पनि छन् ।

जिल्ला निर्वाचन कार्यालय झापाले सार्वजनिक गरेको अन्तिम नामावलीमा अकलबहादुर तामाङ, अमृता लावती, अर्जुनकुमार पाण्डे, इन्दिरा रानामगर, केशवकुमार भण्डारी, चन्द्रकुमारी गारु, चूडाकर्ण बेघा, तिलबहादुर राई, देवराज घिमिरे, धर्माशिला चापागाँई, पुण्यप्रसाद आचार्य, भद्रप्रसाद नेपाल, मानबहादुर पुलामी मगर, युवराज संग्रौला, रमेशकुमार कार्की, रमेशकुमार राजवंशी, श्रीप्रसाद सिटौला र सरिता प्रसाईं चुनावी प्रतिष्पर्धामा उत्रिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here