
परिचय
सोहराय पर्व सन्थाल जातिहरूको महान् धार्मिक पर्व हो । यो पर्व हात्ती जस्तै ठूलो पर्वको रूपमा लिइन्छ । यो पर्व यस्तो पर्व हो कि, सन्थालहरूको चाड सँगसँगै अन्नवाली संरक्षण र गाईवस्तुहरूको सम्मान गर्ने पर्व हो, सोहराय शब्दको उत्पत्ति ‘साहाराय’बाट बोल्दा–बोल्दा ‘सोहराय’ भएको हो, यो पर्व छ दिनको मनाइन्छ । सोहरायको पहिलो दिनलाई ‘उम भनिन्छ, क्रमशः दोस्रो दिनलाई ‘दाका’, तेस्रो दिनलाई ‘खुन्टौ’, चौथो दिनलाई ‘जाली’, पाँचौं दिनलाई ‘हाकुकाद्कम’, छैटौं दिनलाई ‘साकरात’ भनिन्छ । नेपालको सन्दर्भमा सोहराय पर्वको अवस्था हेर्दा, गाउँको समय अनुकूल कसैले पुस महिनाको अन्तिममा मनाउँछन्, कसैले माघ महिनाको पूर्णिमामा मनाउँछन् भने कसैले फागुनको पूर्णिमासम्म मनाएको पाइन्छ । तर, माघ महिनाको पूर्णिमादेखि मनाउन अधिकांश सन्थालहरू सहमत रहेको पाइन्छ ।
यसै कुरामा आधारित रहि सन्थालहरुको जातीय संस्था नेपाल सन्थाल आदिवासी उत्थान संघ केन्द्रिय समिति पहलमा मिति २०८१ चैत १९ गते कोशी प्रदेश सरकारद्वारा प्रकाशित ‘प्रदेश राजपत्र’मा सन्थाल समुदायलाई सोहराय पर्व– माघ शुक्ल पुर्णिमा माघ १८ गते आइतबार दिन एकदिन सार्वजनिक बिदा दिएको छ । झापा मोरङको स्थानीय केही तहहरूले स्थानीय विदा गरेको छ । सोहराय पर्व माघ शुक्ल पुर्णिमा अर्थात यसपाली माघ १८ गतेदेखि शुरु गरी माघ २३ गतेसम्म छ दिनमा विधिगत रुपमा यो पर्व सन्थालहरूको धर्म ‘सारना’ (बिदिन) धर्म अन्तर्गत रहेर यो पर्व मनाइन्छ ।
पहिलो दिन
सोहराय पर्वको पहिलो दिनलाई ‘उम’ भनिन्छ । उम भनेको नेपालीमा ‘नुहाउनु’ हो, यो दिन महिलाहरू घर, आँगन सरसफाई गर्ने, पुराना कपडाहरू सफा गर्ने र आफू सफासुग्घर भएर बस्ने गर्दछन् । पुरुषहरू चाहिँ गाउँको प्रतिनिधि गुडितको नेतृत्वमा गाउँको प्रत्येक घरमा गएर चामल, नुन, खोर्सानी, बेसार, कुखुरा, परेवा र दाउरा जस्ता आवश्यक पूजा सामग्री सङ्कलन गर्दछन् ।
गाउँको पुजारी नाइकी बाबाले एउटा नयाँ नाङ्लोमा मेथि, सिन्दुर, पिठो, अगरबत्ती, अण्डा, सानो गाग्री, काँचो धाँगो जस्ता पूजामा आवश्यक पर्ने सामानहरू लिएर गटथानतिर प्रस्थान गर्नुहुन्छ । जाहेरथान, माझीथानभन्दा अलिक टाढा अलग्गै बनाएको शुद्ध ठाउँ बा एकै ठाउँ भेला हुने ठाउँलाई ‘गटथान’ भनिन्छ । त्यहाँ गाउँका सम्पूर्ण सन्थालहरू भेला भएपछि गाउँका प्रतिनिधिसँगै नाइकीले गटथानमा देवताको अलग–अलग स्थान बनाउँछन्, जसलाई सन्थालीमा ‘खन्ड’ भनिन्छ । सन्थाल जातिको सबैभन्दा ठूलो देवता माराडबु लगायत जाहेरथानका सम्पूर्ण देवताहरूलाई विधिगत रूपमा अण्डा, पानी, जाँड, खुक्रा, परेवा जस्ता देवता अनुसारको फरक–फरक पूजा गरिन्छ, पूजापाठ सम्पन्न भइसकेपछि बलिको रूपमा पूजा गरेका कुखुरा परेवाहरूलाई एकै ठाउँमा भेला गरी पोलेर मासु बनाउँछन्, त्यो कुखुराको मासुलाई चामलसँग पकाएर खिचडी बनाइन्छ, जसलाई सन्थालीमा ‘सोढो’ भनिन्छ ।
जुन गटथानमा भेला भएका सम्पूर्णले प्रसादको रूपमा ग्रहण गर्दछन् र घरमा रहेकालाई घरमै पु¥याई दिने चलन छ । त्यसपछि गाउँभरिका गाईवस्तुहरूलाई भेला गरिन्छ गटथानमा राखिएको सिङ्गो अण्डालाई गाउँको सबै गाईवस्तुलाई एकेचोटी गटथानतिर धपाइन्छ, जुन गाई अथवा गोरुले उक्त अण्डालाई टेक्छ, त्यो गाई बा गोरुलाई समाएर खुट्टा धोएर तेल सिन्दुर लगाइ दिन्छन्, सो गोरु धनीलाई सो वर्गको भाग्यमानी मानिन्छ, आउने दिनको सोहराय पर्वमा वस्तुको धनीले एक गाग्रो जाँड दिनुपर्ने हुन्छ । गटथानबाट नाइकीलाई बाजागाजासहित घर पुच्याउँछन् । नाइकीले एकलोटा पानी र नाङलो बोकेर घरतिर प्रस्थान गर्दछ ।
अरू नाइकी बाबाको पछिपछि बाजा बजाउँदै जान्छन्रु, नाइकीले लगेको लोटाको पानीलाई घरको छानोमा खन्याई भिजेर घरतिर प्रवेश गर्दछ । त्यहाँबाट सम्पूर्ण मानिस जगमाझीको घरमा पग्छन् । जगमाझीले पनि प्रसादको रूपमा जाँड दिन्छ, गाईवस्तुहरूलाई पनि चार्डपर्वको अनुभति गराउनको लागि प्रत्येक गोटमा गई बाजागाजा बजाई लोकगीत गाउँछन् । घरको मान्छेले गाईवस्तुलाई तेल लगाइदिन्छन्, यसरी नै सोहरायको पहिलो दिन समाप्त हुन्छ ।
दोस्रो दिन
सोहरायको दोस्रो दिनलाई ‘दाका’ भनिन्छ । ढाका भनेको नेपालीमा ‘भात’ हो, ढाकाको दिन चाहिँ बिहान सबेरै प्रत्येक गोटमा गई बाजा बजाउँदै गीत गाउँछन् । जसलाई सन्थालीमा ‘गोईकाँडा जागाउ’ भनिन्छ, त्यसपछि मात्र गोटबाट निकालिन्छ, यस दिन विशेष गरी निम्तो गरिएको छोरीचेली र परपाहुनाहरू आउने दिन हो । यो दिन पाहुनाहरू पर्खेर बाटो हेरिरहेका हुन्छन् । बेलुकीपख निम्तालु छोरीचेली तथा पर पाहुनाहरू आइपुग्छन् र उनीहरू सम्बन्ध अनुसार ढोगेर सम्मान तथा स्वागत गरिन्छ, सबैजनालाई गोडा धोइदिने चलन छ, साइनो अनुसार ज्वाइँ आएको खण्डमा सालीले भिनाजुको खुट्टा थालमा राखेर धोइदिन्छ, भैनाले सगुनको रूपमा रुपैयाँ, लुगाफाटा नदिएसम्म खुट्टा दुई हातले समाई रहेको हुन्छ ।
गच्छे अनुसार भेनाले लुगाफाटा तथा रुपैयाँ दिएपछि सालीले खुट्टा छोडिदिन्छ । यस अवस्थामा साली नभएको अवस्थामा भदैनी धोइ दिने चलन पनि छ, त्यसपछि छोरी ज्वाइँ तथा पाहुनालाई चियानास्ता गराउँछन्, त्यो दिन प्रत्येक घरको कुल देवता लगायत पितृ देवताहरूलाई पूजा गरिन्छ । त्यसपछि घरपरिवारको आर्थिक अवस्था अनुसार मिठो मसिनो खाएर समाप्त हुन्छ ।
तेस्रो दिन
सोहरायको तेस्रो दिनलाई ‘खुन्टौ’ भनिन्छ, खुन्टौ भनेको नेपालीमा पगा लगाउनु हो, यो दिने गाईवस्लुहरूको लागि विशेष दिनको रूपमा मानिन्छ । यो दिन पनि बिहान सबेरै गाउँले प्रत्येक गोटमा गएर बाजागाजा बजाउँदै गीत गाउने चलने छ । यो दिन गाईवस्तुको पर्व रहेको हनाले गाईगोरुलाई राम्ररी नुहाइदिने, तेल लगाइ दिने, हरियो घाँस खुवाउने र वर्ष भरी उनीहरूप्रति गरिएको अन्याय प्रतिको क्षमा याचना गर्ने जस्ता क्रियाकलाप गरिन्छ । गाउँको प्रतिनिधिहरूको निर्णय अनुसार आफ्नो गाउँ खुल्ला ठाउँमा एउटा दरो किलो गाडिन्छ, त्यहाँ लिपपोत गरिन्छ, र त्यहाँ एउटा गोरु वाँधिन्छ ।
त्यो गोरुलाई पुनः तेल सिन्दुर, पिठो लगाएर जिउ सिँगार गरिन्छ । जसलाई सन्थालीमा ‘गोईकाँडा चारहाउ’ भनिन्छ, गाउँका युवा केटाहरू बाजा बजाउँदै गोरुलाई जिस्काउने तथा तर्साउने गर्दछन्, उसको घाँटीमा झुन्डाएको पैसा खोस्ने प्रयत्न गर्दछ । र, गाउँका सम्पूर्ण मानिसले रमाइलोको त्यो दृश्य हेरिरहेका हुन्छन् । त्यसपछि महिला पुरुष नाँच गान रमाउलो गर्दै, शुभकामना साटासाट गर्दछन् । यसरी नै तेस्रो दिनको कार्याविधि समाप्त हुन्छ ।
चौथो दिन
सोहरायको चौथो दिनलाई ‘जाली’ भनिन्छ । यो दिन पूजाआजा हुँदैन । पहिलो, दोस्रो र तेस्रो दिन सम्मको सम्पूर्ण क्रियाकलापको बारेमा समीक्षा गरिन्छ । गाउँको प्रमुख माझीहाडामको घरमा भेला भई उक्त तीन दिनको बारेमा छलफल गरिन्छ, गाउँमा झंै–झगडा भयो कि ? कसैले अनैतिक काम गरियो कि ? कसैको घरमा समान हरायो कि ? भन्ने विषयमा माझीहाडामले गाउँलेलाई सोधपुछ गरी न्यायनिसाफ फैसला गरिदिने काम गर्दछ । त्यसपछि गाउँका महिलाहरूले प्रत्येक घरबाट आ–आफ्नो बारीमा रहेका सब्जीहरू भेला गरी एकै ठाउँमा पकाउने गर्दछन् । सबैजना रमाइलो नाँचगान गर्दै खाने पिउने काम गर्दछन् र यो दिन राति कसैले पनि घर बाहिर निस्किनु हुँदैन, किनभने यो दिन राति माझीथानमा देवताहरू भेला भई उनीहरूले पनि चाडपर्वको समीक्षा गरिरहेका हुन्छन्, भन्ने विश्वास रही आएको छ । यसरी नै चौथो दिनको कार्यक्रम पनि समाप्त हुन्छ ।
पाचौं दिन
सोहरायको पाँचौं दिनलाई ‘हाकुकादकम’ भनिन्छ । हाकुको अर्थ ‘माछा’, काद्कमको अर्थ ‘गंगेटा’ हो, यो दिन पनि विशेष पूजापाठ हुँदैन, यो दिन विशेष गरेर माछा मारेर खाने चलन छ । लगातार चौथो दिनसम्म मासु खाएर वाक्क भएपछि आज चाहिँ माछा खाउँ भनेर खोलानालातिर महिला पुरुष माछा मार्न जान्छन् । बेलुका मारेर ल्याएपछि मिठो परिकार पकाएर खाँदै रमाउने गर्दछन्, यसरी पाँचौं दिन समाप्त हुन्छ ।
छैटौं दिन
सोहरायको छैटौं तथा अन्तिम दिनलाई ‘साक्रात’ भनिन्छ । यो दिन चाहिँ विशेषगरी सिकार खेल्न जाने दिन हो । यो दिन पुरुषहरू सिकार खेल्न जानलाई रमाइरहेका हुन्छन् । सिकार खेल्न जादा अघि रमाइलो क्षणहरू हुन्छन्, गाउँका पुरुषहरू आफ्नो घरबाट थोरै खाना खाँदै निस्किन्छन् र प्रत्येक घरमा अलि–अलि खाना माग्दै खाँदै सम्पूर्ण पुरुषहरू सामुहिक रूपमा खाँदै हिँड्छन्, यो रमाइलो क्षण सकेपछि, कुडोम नाइकीको नेतृत्वमा गाउँबाट सिकार खेल्न निस्किन्छन् र आवश्यक सिकारका साधनहरू धनुष, वाण, गेटिस, कोदालो, भाला जस्ता सामान बोक्छन् ।
पहिले पहिले सिकार खेल्नका लागि जंगलतिर जाने गर्दथे भने हाल जनसंख्याको चापले गर्दा जङ्गल मासिँदै गएको छ । यसकारण खोला, पैनीको किनार, कोसिनी घारी, उदी रमाइलो गर्दै पराम्पराको जगेर्ना गरिएको पाइन्छ । सिकारमा जस्तैः चराचुरुङ्गी, मुसा, खरायो जस्ता जनावरहरू मारेर भेला गरिन्छ, सिकारबाट भेला भएका सम्पूर्ण चराचुरुङ्गी, पंक्षी, जनावरहरूलाई मासु तयार गरी सबैजनाका लागि भाग लगाउँछन्, त्यसपछि उक्त मासु भाग घर लिएर आउँछन् । आ–आफ्नो घरमा उनहरूलाई स्वागत गरेर सिकारको बारेमा सोधपुछ गरिन्छ । त्यसपछि गाँउको जगमाभीले सबै सिकारीहरूलाई लिएर एउटा खुल्ला मैदानमा लिएर जान्छ । एउटा केराको खम्वा गाडिन्छ, जगमाभझीले विशेष पूजाका साथ त्यस खम्बामा चामलको पिठोबाट बनाएको एउटा रोटी (पापर) राखिन्छ ।
सिकार गएका पुरुषहरूले निर्धारण गरेको निश्चित दुरीबाट उक्त केराको खम्बालाई लक्ष्य बनाई तीर चलाउँछन् र प्रत्येक पुरुषहरूले उक्त खम्बालाई भेदन नगरुञ्जेलसम्म तीर चलाउने गर्दछन् । जसलाई सन्थालीमा ‘बिजाहा तुज्’ भनिन्छ, तिर लागि सकेपछि, त्यहाँका सम्पूर्ण तीरहरूलाई हटाइ केराको खम्बा माथि राखिएको चामलको रोटीलाई त्यहाँको कुनै युवा केटाले तोडेर भाग्छ र सम्पूर्ण युवा केटाहरूले उक्त युवालाई खेदाएर उक्त रोटीलाई खोसेर खाने प्रयत्न गर्दछन् । जगमाझीले उक्त खम्बालाई सात भागमा टुक्रा बनाउँछ, जुन पुरुषबाट खम्वा भेदन गरिएको हुन्छ । सो पुरुषले सबै टुक्राहरू आफ्नो धनुषमा झुन्ण्डयाउँछन् ।
उक्त पुरुषलाई जगमाझीले बोकेर निश्चित स्थानतिर लैजान्छ । त्यसपछि त्यो पुरुषले त्यहाँका सबै मानिसलाई ढोगी दिन्छ र उसलाई उत्तरतिर पारेर सुताइन्छ । पाँच वा सात जना युवाहरूको कान्छी औंलाले जगमाझीले तीन पटकसम्म मन्त्र पढेपछि जुरुषक उठाउँछन् । त्यसपछि जगेमाझीले उसलाई पुनः बोकेर गाउतिर लैजान्छु । र गाउमा चुनिएका प्रतिनिधिको घरमा गई नाँचगान गर्दै र टुक्रा गरिएको केराको सात भागलाई पहिलो भाग माझीहाडामको घरको छानामा राखिदिन्छन् । त्यसगरी क्रमशः पारानीक, जगमाझी, नाइकी गुडित, जगपारानीक, कुडोम नाइकी गर्दै सबै प्रतिनिधिको घरमा पु¥याउँछन् । यसरी नाँचगान गरेवापत भुजा, जाँड दिने चलन छ । अन्त्यमा महिला र पुरुष नाँचगान गर्दै सोहराय गीत गाउँछन्, त्यसपछि माझी हाडामले सोहराय पर्वको विसर्जन भएको घोषणा गर्दछ ।
एउटा सोहराय पर्वको लोकगीत
कुल्ही मुचाद्
कुदुनी कु डेराउ आकान दाय
कुल्ही मुचाद्
कुदुनी कु डेराउ आकान दाय
बोबय ताहेरे बिङ लिका कुदा उचुइञ मे
तिहिञ मैना बानु टाका
गापा मैना टाका–ना
बोबय ताहेरे बिङ लेका…२
बाइञ कुदा मे ।
कुल्ही मुचाद्
कुदुनी कु डेराउ आकान नाय
कुल्ही मुचाद्
कुदुनी कु डेराउ आकान नाय
बोबय ताहेरे बिङ लिका कुदा उचुइञ मे
तिहिञ मैना बानु टाका
गापा मैना टाका–ना
बोबय ताहेरे बिङ लेका…२
बाइञ कुदा मे ।
सन्दर्भ सामग्री :
मुर्मु, शिबुु, सयपत्री, अङ्क ४०, वर्ष २६, नेपाल प्रज्ञा प्रतिष्ठान, पृष्ठ – १४२ देखि १४६
सोरेन, बुिद्वलाल, जाहेरथान माझिथान नेपाल
हपनमाई हास्दा



























