बिर्तामोड ।

बिर्तामोड–५ स्थित न्युटन्स् एजुकेशन एकेडेमीको २३औं बार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रवार विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष गोपीकृष्ण प्रसाईंको अध्यक्षता तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयको गतिविधिसहित भावी कार्यक्रमबारे प्रिन्सिपल देवेन्द्र हुमागाँईंले प्रकाश पारेका थिए । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गुरुङ तथा विद्यालयका निर्देशक आशिष प्रसाईंले सम्मानितहरुलाई सम्मान–पत्र र नगद प्रदान गरेका थिए । कार्यक्रममा झापा गोल्डकपलाई एक लाख रूपैयाँ हस्तान्तरण गरिएको थियो । उक्त रकम गोल्डकपका सल्लाहकार प्रशान्त भण्डारीले ग्रहण गरेका थिए । कार्यक्रममा एसईईमा विद्यालयकी सर्वोत्कृष्ट छात्रा श्रेयसी कार्की, न्यूट्न्सबाट कक्षा ११ विज्ञान संकायमा जिल्ला प्रथम हुने संस्कार भट्टराई र कक्षा १२मा जिल्ला दोस्रो हुने सविता न्यौपानेलाई सम्मान गरिएको थियो । भट्टराईका सम्मान उनका पिता रवीन्द्रले ग्रहण गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष शिक्षासेवी गौतम शर्मा शिवाकोटीलाई अभिनन्दन गरिएको थियो । सोही कार्यक्रममा पत्रकार सन्तोष न्यौपानेलाई कदर–पत्र नगदसहित सम्मान गरिएको थियो । उनी एभिन्यूज टेलिभिजनका संवाददाता हुन् ।
कार्यक्रममा उत्कृष्ट अभिभावकको रूपमा मदनगोपाल सुब्बा, उत्कृष्ट शिक्षकको रूपमा केवल सापकोटालाई सम्मान गरिएको थियो भने सेकेण्डरी इञ्चार्ज शिक्षक नोएल परेरालाई विशेष सम्मान गरिएको थियो ।
त्यस्तै विद्यालयका संस्थापक हरिकुमार प्रसाईंको निधनपछि विद्यालयमा कुशल नेतृत्व प्रदान गर्ने प्रिन्सिपल देवेन्द्र हुमागाँईलाई व्यवस्थापन समितिको तर्फबाट विशेष सम्मान प्रदान गरियो । न्यूट्न्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायलाई समेत सेवा पु¥याउँदै आएको छ ।
जस अन्तर्गत सामुदायिक विद्यालयतर्फ तीन वटा विद्यालयमा उत्कृष्ट छात्रछात्रालाई छात्रबृत्ति प्रदान गर्नका लागि अक्षयकोष स्थापनार्थ रकम हस्तान्तरण गरिएको छ । सरस्वती माध्यमिक विद्यालय बिर्तामोड– ६ बुट्टाबारी, आदर्श बिद्यामन्दिर माध्यमिक विद्यालय घैलाडुब्बा, सरस्वती मावि आठराई हाङ्पाङलाई तीन लाख १० हजार रूपैयाँका दरले अक्षयकोषका लागि रकम हस्तान्तरण गरिएको थियो ।
त्यस्तै मदरसा तालीमूल कुरान आधारभूत बिद्यालय बिर्तामोड–३लाई ५० हजार रूपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो । बिद्यालयकी छात्रा अनन्या खरेलले स्वागत गरेको कार्यक्रम पहिलो चरण सञ्चारकर्मी लीला अनमोल र दोस्रो चरण शिक्षक पवित्रा पौडेलले सञ्चालन गरेका थिए । उक्त अवसरमा बिद्यार्थीले विविध संस्कृति झल्कने नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।































