वसांगु–देउराली मोटरबाटो ‘सेहानाम्लाङ (छाला सुकुवा)’ धार्मिक–पर्यटकीय गन्तव्य बन्ने आशा

0
24

पाँचथर । 

लिम्बू समुदायको मुन्धुमी इतिहास र प्रकृतिको अनुपम सौन्दर्य बोकेको सेहानाम्लाङ (छाला सुकुवा) क्षेत्रमा मोटरबाटो पुगेपछि स्थानीयमा नयाँ उत्साह जागेको छ ।

बसांगूबाट देउराली हुँदै सेहानाम्लाङ क्षेत्रसम्म जोडिएको मोटरबाटो सञ्चालनमा आएपछि शदियौँदेखि कथामा मात्र सीमित रहेको यो पवित्र भूमिमा अब प्रत्यक्ष सर्वसाधारणले पनि अवलोकन गर्न सकिने अवस्थामा पुगेको हो । यहाँ बाटो पुगेपछि शनिवार विधिवत रुपमा पूजा गरी सञ्चालनमा ल्याइएको हो ।

सेहानाम्लाङ क्षेत्र फाल्गुनन्द गाउँपालिका–६ र ७, कुम्मायक–२ तथा मिक्लाजुङ–१को सीमानामा अवस्थित छ । लिम्बू मुन्धुम अनुसार प्राचीनकालमा केसामी–नामसामी नामका दाजुभाइबीच भएको युद्धपछि मारिएका दाजु केसामीको छाला यही स्थानमा सुकाइएको थियो । त्यसैकारण यस ठाउँलाई ‘सेहानाम्लाङ’ अर्थात् छाला सुकाइएको थलो भनिन थालिएको जनविश्वास रहँदै आएको छ । आज पनि यो स्थानलाई लिम्बू समुदायले पवित्र तीर्थस्थलका रूपमा सम्मान गर्छन् । सडक पुगेपछि देउराली देवस्थलमा विधिवत् पूजा गरेर उद्घाटन गरिएको निर्माण समितिका अध्यक्ष सन्तवीर आङ्देम्बेले जानकारी दिए ।

कार्यक्रममा सहभागी स्थानीय अगुवा तथा धार्मिक गुरूहरूले सेहानाम्लाङ क्षेत्र संरक्षण, सम्वद्र्धन र व्यवस्थित तथा विकास गर्न सके पूर्वी नेपालकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बन्न सक्ने धारणा राखेका थिए ।

यस क्षेत्रको ऐतिहासिक महत्व मात्र होइन, प्राकृतिक सम्पदा पनि उत्तिकै समृद्ध छ । यहाँ हजारौँ वर्ष पुराना रुख, दुर्लभ चराचुरुङ्गी, औषधीय जडीबुटी तथा बन्यजन्तु पाइन्छन् । यहाँबाट खुला डाँडाबाट कञ्चन पहाडी हिमश्रृंखला, हरिया वनजङ्गल र बस्तीहरूको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

यही क्षेत्र आसपास १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले तपस्या गरेको गुफा, कुर्सी आकारको गुरु बसेको ढुंगा र ढुंगामाथि गाडिएको त्रिशुल आज पनि सुरक्षित छन्, जसले यस ठाउँलाई धार्मिक दृष्टिले झनै महत्वपूर्ण बनाएको छ । यही पवित्र धार्मिक स्थलको काखमै फैलिएको फक्ताङलुङ चिया बगानको हरियालीले सेहानाम्लाङ क्षेत्रलाई अझ सुन्दर बनाएको छ । अब मोटरबाटो पुगेसँगै यहाँ श्रद्धालु र घुमन्ते दुवैको पाइला पुग्ने भएको छ, जसले यो ठाउँलाई निकट भविष्यमा धार्मिक भ्रमण र रमाइलो पिकनिकको साझा गन्तव्य बनाउने आशा पलाएको छ ।

पहिला घाँसदाउरा, भेडाबाख्रा चराउन जानेहरूबाहेक सामान्य मानिस पुग्न नसक्ने यो स्थानमा अहिले मोटरबाटो पुगेपछि ज्येष्ठ नागरिकहरू समेत पुनः दर्शन गर्न पाएकोमा भावुक देखिन्छन् । जवान हुँदा यही वरिपरि बाख्रा चराउँथ्यौँ, बुढेसकालमा फेरि यहीँ आइपुग्न पाउँदा अत्यन्तै खुशी लाग्यो– स्थानीय वृद्धहरूको भनाइ छ । प्रदेश सरकारको करिब २३ लाख रुपैयाँ लागतमा निर्माण भएको यस सडकले सेहानाम्लाङ क्षेत्रलाई बाहिरी दुनियाँसँग जोडिदिएको छ । स्थानीयवासीका अनुसार यसले धार्मिक पर्यटनसँगै कृषि उत्पादनको बजार पहुँच, आपतकालीन सेवा र जनजीवनको सहजतामा ठूलो योगदान पुग्ने निर्माण समितिका सचिव दिलहाङ आङ्देम्बे बताउँछन् ।

यस क्षेत्रको प्रचार र संरक्षण गर्ने उद्देश्यले तीन वर्षअघि ‘सेहानाम्लाङ सांस्कृतिक पर्यटन संस्था’ (फाकुमि) स्थापना गरी वार्षिक महोत्सव सञ्चालन हुँदै आएको छ । संस्थाका अध्यक्ष देउमान आङ्देम्बेका अनुसार संस्थाको नाममा जग्गा र संरचना नहुँदा महोत्सव आयोजना गर्न कठिनाइ हुँदै आएको थियो । अब मोटरबाटो पुगेपछि यही क्षेत्रमा महोत्सव आयोजना गरी सेहानाम्लाङको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व देश–विदेशसम्म चिनाउने लक्ष्य लिइएको छ ।

तर, स्थानीयले संस्थाको नाममा जग्गा उपलब्ध गराउन सके मात्रै थप विकाश गर्न सकिने उनले बताए । वसांगू–देउराली मोटरबाटो पुगेपछि सेहानाम्लाङ (छाला सुकुवा) धार्मिक–पर्यटकीय गन्तव्य बन्ने आशा पलाएको स्थानीय अगुवाहरू बताउँछन् । सेहानाम्लाङ (छाला सुकुवा)लाई केवल मिथकको थलो होइन, सांस्कृतिक पहिचान र समृद्धिको आधार बनाउने तयारीमा सरोकारवाला जुटेका छन् ।

सडक पुगेपछि अब सेहानाम्लाङ कथा र किंवदन्ती नभइ पर्यटकको पाइलाले गुञ्जिने गन्तव्य बन्ने आशा गरिएको छ । यस पवित्र ठाउँलाई स्थानीय, प्रदेश र केन्द्र सरकारबाट समेत सहयोग दिनुपर्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here