दलहरुलाई जिम्मेवार बन्न नागरिक समाजको आग्रह

0
52

बिर्तामोड ।

फागुन २१ गते हुने निर्वाचनका लागि दलहरु संयम भएर लाग्नुपर्नेमा झापाका नागरिक समाजका अगुवाहरुले जोड दिएका छन् । तोकिएको समयमा निष्पक्ष निर्वाचन सम्पन्न गर्नका लागि नागरिक समाजले सबै राजनीतिक दलहरुलाई अपिल समेत गरेको छ ।

संवाद समूह कोशी प्रदेशले आइतबार झापाको बिर्तामोडमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ मेची बहुमुखी क्याम्पसका अध्यक्ष लीला अधिकारीले निर्वाचनको बिकल्प नभएको बताए ।

अहिले तोकिएको समयमा निर्वाचन हुनुपर्ने र चुनौति तथा अप्ठेराहरुलाई हटाएर निर्वाचनको वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिए । उनले सामाजिक सञ्जालबाट एकले अर्कोेले होच्याउने गालीगलौज र घृणा गर्ने अबस्था अहिले पनि देखिएकोले यो बिषय सुरक्षाको चुनौति रहेकाले सरोकारवाला निकाय सजग बन्नुपर्ने धारणा व्यक्त गरे ।

मानव अधिकार सञ्जाल झापा अध्यक्ष डा. रुपक खनालले दलहरुमा उच्छृंखलपना देखिएकाले दलहरु संयमित हुनुपर्ने धारणा व्यक्त गरे । एजेण्डा केन्द्रित छलफल र बहस हुनुपर्नेमा प्रतिस्पर्धामा कसरी हराउने भन्नेमा मात्रै दलहरु केन्द्रित भएको भन्दै उनले यो राम्रो नभएको बताए । सञ्चारकर्मीहरु तटस्थ हुनुपर्नेमा हरेक क्षेत्रमा दलगत आस्था देखिएकाले यसले निर्वाचनलाई समेत प्रभावित बनाउन सक्ने उनले उल्लेख गरे ।

सामाजिक सञ्जाललाई नियमन गर्दै सञ्चार क्षेत्रमा सकारात्मक तथा सत्य–तथ्य समाचारहरु आउनुपर्नेमा उनको जोड थियो । नागरिक समाज तटस्थ हुनुका साथै दलहरु संयमतापूर्वक नै लागेको अबस्थामा निर्वाचन शान्तिपूर्ण रुपमा हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।

चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण बिमलीले समाज दुई धारमा बाँडिएको अवस्था रहेकाले दलहरु संयमित हुनुपर्ने बताए । जेन–जी आन्दोलन चुनावको लागि नभएको भन्दै उनले सुशासनको पक्षमा भएको आन्दोलन एकाएक आँधिबेहरीले समाजलाई विभाजन गरेर चुनावको परिस्थिति ल्याएको आरोप लगाए । यो चुनावले पनि निकास दिन नसक्ने भन्दै उनले चुनाव के को लागि भएको हो भन्नेमा कोही पनि स्पष्ट नभएको जिकिर गरे । अहिले निषेधको राजनीति भएको भन्दै शान्तपूर्वक भोट हाल्ने वातावरण कसरी तय गर्ने भन्ने मुख्य एजेण्डा देखिएको उनको भनाइ छ ।

नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले परिवर्तनलाई संस्थागत गर्नका लागि, नागरिक समाज, मतदाता र सरकारका प्रतिनिधि सबै मिलेर चुनाव गर्नुपर्ने बताए । झापा क्षेत्र नम्बर ५मा अहिले पनि समस्या रहेको भन्दै उनले अहिल त्यहाँ चुनाव प्रचारमा प्रभाव पार्ने र आफू नजित्ने हुँदा चुनाव हुँदैन भन्ने खालका गतिविधि समेत हुन सक्ने भएकाले सुरक्षा संयन्त्रलाई सजग बनाउनुपर्ने उनको भनाइ थियो ।

सञ्चारिक समूह झापाकी अध्यक्ष लीला अनमोलले नयाँ र पुरानालाई र पुरानाले नयाँलाई स्वीकार गर्न नसकेको अवस्था रहेको भन्दै यस्तो अवस्थामा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताइन् । संसद पुनस्थापना गर्ने कुराले नागरिक सशंकित रहेको र समाजमा भ्रम सिर्जना गर्ने खालका कामहरु भएकोले समाजमा विवाद हुनसक्नेतर्फ सुरक्षा सयन्त्र चनाखो हुनुपर्ने उनको भनाइ थियो ।

विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले मतदाताहरुले शान्तिपूर्ण रुपमा मतदान गर्ने वातावरण बनाउन राजनीतिक दलहरु जिम्मेवार बन्नुपर्ने धारणा राखे । उनले झापा क्षेत्र नम्बर ५का मतदाता बढी त्रासमा रहेकाले उनीहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने बताए । उनले मतदान गर्न जाँदा कसैले आक्रमण गर्ने हो कि भन्ने खालको कुरा आयो भने यसले मतदातामा त्रास सिर्जना हुनसक्ने बताए । उनले आचारसंहितालाई गम्भीरताका साथ पालना गरिएन भने झडप हुनसक्ने भएकाले राजनीतिक दलका केही नेतृत्वहरुले दिएको अभिव्यक्तिप्रति सशंकित हुनुपर्ने अवस्था रहेको बताए ।

उनले कार्यकर्तालाई उक्साउने, भड्काउने लगायतका कामहरु पनि दलका नेताहरुले गरेकाले त्यसतर्फ ध्यान दिन सुझाव दिए । राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई अक्षरशः कार्यान्वयन ग¥यो भने चुनाव हुन्छ नत्र फेरि भाँडिन सक्ने आशंका व्यक्त गरे । मादक पदार्थ सेवन गरेर आएकालाई मतदानबाट बञ्चित गराउनुपर्ने भन्दै उनले मतदानका दिन निजी सवारीसाधनहरुलाई प्रयोग गर्न दिनुपर्ने बताए । निर्वाचनलाई तटस्थ बनाउने काम सञ्चार क्षेत्रले मात्रै गर्न सक्ने भएकोले सञ्चारमाध्यमले समेत एक पक्षीय समाचारहरु सम्प्रेषण गर्न नहुने उनको भनाइ थियो ।

नेपाल शिक्षक महासंघ झापाका प्रतिनिधि युवराज कट्टेलले लोकतन्त्रको आधार निर्वाचन भएको र वर्तमान संकटलाई निकास दिन निर्वाचनको विकल्प नभएको बताए । भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै पक्षको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।

नेपाल औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवनकुमार खड्काले अहिलेको निकास भनेको निर्वाचन मात्रै भएकाले नागरिक समाजले समेत यसमा सहयोग गर्नुपर्ने बिचार व्यक्त गरे । उनले निर्वाचन सम्पन्न गर्न राजनीतिक दल, सुरक्षा निकाय तथा आम नागरिक जिम्मेवार बन्नुपर्ने बताए ।

एबीसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाले महिला, अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई स्वतन्त्र रुपमा मताधिकारको प्रयोगको वातावरण बनाउनुपर्ने धारणा ब्यक्त गरिन् । समाज अहिले नकारात्मक अबस्थामा लागेकोले सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बिचार व्यक्त गरिन् ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघ उपाध्यक्ष विशाल थापा, नियोक झापाका प्रतिनिधि विकास कोइराला, नेपाल मुस्लिम नागरिक समाज झापाका अध्यक्ष एजाज अहमद अन्सारी लगायतले नागरिक समाजको भूमिका पनि तटस्थ हुनुपर्नेमा जोड दिए । उनीहरुले निर्वाचन सम्पन्न गर्न नागरिक समाजको तर्फबाट सबै भूमिका निर्वाह गर्न आफूहरु तयार रहेको प्रतिबद्धता समेत जनाएका थिए । उनीहरुले सबै राजनीतिक दल तथा सुरक्षा संयन्त्रलाई सक्रिय भएर लाग्न आग्रह समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here