बिर्तामोड ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको साथ छाड्नेको लर्को लाग्न थालेको छ ।
झापा क्षेत्र नम्बर–५ का प्रतिनिधि सभा सदस्यको उम्मेद्वार समेत रहेका एमाले अध्यक्ष ओलीको साथ छाड्दै सोही क्षेत्रबाट उम्मेद्वार बनेको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)को पक्षमा एमालेका युवा नेताहरु खुल्न थालेको छन् ।
नेकपा एमालेका युवा नेता तथा बिर्तामोड उद्योग वाणिज्य संघका निर्वतमान महासचिव समेत रहेका अर्जुन मैनालीले एमाले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका हुन् । मैनालीले आज सामाजिक सञ्जालमार्फत रास्वपा नेता शाह तथा स्थानीय रास्वपा नेताहरूसँगको फोटो सार्वजनिक गर्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन्।
उनले सार्वजनिक गरेको वक्तव्यमा आज २०८२ साल १० महिना २० गतेदेखि नेकपा एमाले परित्याग गरेको स्पष्ट उल्लेख गरेका छन्। एमालेमा रहँदा सहयोग गर्ने आदरणीय नेतागण, सहयात्री साथीहरू तथा शुभचिन्तकहरूप्रति आभार व्यक्त गर्दै आजकै मितिदेखि आफू रास्वपा पार्टीमा आबद्ध भएको जानकारी गराएका छन्।
एमालेबाट रास्वपामा मैनालीको प्रवेशलाई बिर्तामोड राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। पछिल्लो समय युवाहरूको बढ्दो आकर्षण रास्वपातर्फ देखिँदै गएको सन्दर्भमा यो घटनाले स्थानीय राजनीतिमा नयाँ तरंग ल्याउने अनुमान गरिएको छ। उनले अन्त्यमा ‘जय घण्टी’ उल्लेख गर्दै आफ्नो नयाँ राजनीतिक यात्राको औपचारिक घोषणा गरेका छन्।




























