भेनेजुएलाको संकट र नेपालको सतर्कता

0
18

अहिले नेपालमा मात्र होइन, संसारभरि नै चर्चाको विषयमा रहेको छ दक्षिण अमेरिकी राष्ट्र भेनेजुएला । गत जनवरी ३ तारिखको दिन अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मधुरोलाई आफ्नो निवासबाट अपहरण शैलीमा बन्दी बनाएर अमेरिका लगि कारवाही गर्ने प्रयास गर्दैछ । यसै कारण एउटा शक्तिशाली राष्ट्रले एउटा स्वतन्त्र, सानो राष्ट्रप्रति गरेको व्यवहारलाई लिएर सर्वत्र चर्चा भइरहेको छ ।

नेपालको राजनीतिमा यो देशलाई समृद्धशाली बनाउँछु, शान्ति, सुरक्षा, स्थिरता प्रदान गर्दै पूर्वाधारको विकास, सामाजिक, आर्थिक, सांस्कृतिक लगायत समग्र क्षेत्रको विकास गरेर अगाडि लैजान्छु भन्ने राजनीतिक वृत्तमा सुन्न पाइँदैन, तर यहाँ चर्चा चल्छ । अब हाम्रो राष्ट्र श्रीलंका जस्तो हुन्छ वा बङ्गलादेश जस्तो बन्छ वा बनाउनुपर्छ भन्दै गर्दा अर्को उदाहरण अब मुलुक भेनेजुएला जस्तो हुन्छ भन्ने राजनीतिक वृत्तमा सुन्न सकिने भएको छ । भेनेजुएलामा भएको के हो र यो अवस्था कसरी, किन आइपुग्यो भन्ने विषयमा म यहाँ छोटकरीमा चर्चा गर्न चाहन्छु ।

भेनेजुएला दक्षिण अमेरिकाको उत्तरी भागमा रहेको एउटा स्वतन्त्र सार्वभौम राष्ट्र हो, जसको पश्चिममा कोलम्बिया रहेको छ भने दक्षिणमा ब्राजिल रहेको छ । पूर्वमा घाना रहेको छ र क्यारेबियन समुद्रको लामो सामुन्द्रिक किनारमा रहेको यो देश प्राकृतिक स्रोत र साधनले भरिपूर्ण रहेको छ । यस देशमा हेन्डिज पर्वतमालाका अग्ला हिमालय चुचुराहरू रहेका छन् भने अर्कोतिर सामुन्द्रिक समथर भू–भाग जसले जल यातायात र पर्यटनलाई धेरै ठूलो टेवा पु¥याएको छ । यो देश जलस्रोतमा पनि निकै अगाडि रहेको छ । ओरिनीको नदी, मारा साइबो ताल जस्ता नदी र तालले जलविद्युत उत्पादनमा पनि अग्रणी स्थानमा रहेको छ । भेनेजुएला खनीज जन्य संसाधनमा पनि निकै अगाडि रहेको छ ।

फलाम, सुन, हिरा, कोइला आदि यहाँ पाइने प्रमुख खनिज पदार्थहरु हुन् । तर, भेनेजुएलाको प्रमुख र आर्थिक क्षेत्रलाई भरथेक गर्ने एकमात्र स्रोत खनिज तेल र ग्यास हुन् । खनिज तेल र प्राकृतिक ग्यासको लागि भेनेजुएला विश्वकै अग्रणी स्थानमा रहेको छ । यही प्राकृतिक स्रोत र साधनले देशको आर्थिक अवस्था सुदृढ गर्न अहम् भूमिका खेलेको छ । यति मात्र होइन भेनेजुएला कृषि वनजङ्गल आदि स्रोत र साधनमा पनि अग्रणी स्थानमा रहेको पाइन्छ । यहाँको मलिलो भू–भागमा कफी, कोका पाउडर, उखु, धान, मकै, कोला लगायतका अन्य उष्ण क्षेत्रमा पाइने फलफुलहरू पर्याप्त मात्रामा उत्पादन हुन सक्छन् ।
१६औं शताब्दीमा स्पेनद्वारा उपनिवेश बनाइएको यो राष्ट्रले सन् १८२१ मा स्वतन्त्रता प्राप्त ग¥यो र सन् १८३१ मा एकीकृत कोलम्बियाबाट छुट्टै स्वतन्त्र राज्य बन्न सफल भयो । कोलम्बिया स्वतन्त्र भएपछि यस राज्यमा राजनीतिक धेरै उतारचढाव आए । १८औं र १९औं शताब्दिभरि कोलम्बियामा सैनिक शासन रह्यो । सैनिक शासनको बेलामा नै भेनेजुएलामा तेलखानी पत्ता लाग्यो र भेनेजुएला विश्वको तेल निर्यात गर्ने राष्ट्रमा अग्रणी स्थानमा रह्यो ।

भेनेजुएला आर्थिकरूपले केही बलियो भए पनि राष्ट्रमा नागरिकहरूको अधिकारलाई संकुचन गरियो, नागरिकहरू बोल्न नसक्ने अवस्थामा भएकाले सैनिक शासकहरूको आर्थिक अनियमितता, आर्थिक अपारदर्शिता साथै भ्रष्टाचारका कुराहरू बाहिर आएता पनि नागरिकहरूले आवाज उठाउन सकेनन् । उठेका आवाजहरू पनि बल जबरजस्ती दमन गरियो, जसले गर्दा भेनेजुएलामा एउटा विद्रोहको आगो भित्र–भित्रै सल्किरहेको थियो । सन् १९९० को समयमा विश्वव्यापी रूपमा प्रजातन्त्रको लहर चल्यो र भेनेजुएलामा पनि विद्रोह भयो। र प्रजातन्त्रको स्थापना भयो ।

सन् १९९८ मा ह्युगो चाभेज राष्ट्रपतिका रुपमा निर्वाचित भए र राष्ट्रलाई समाजवादी अर्थतन्त्रतर्फ लगे । सम्पूर्ण राष्ट्रको स्रोत र साधनलाई राज्यको नियन्त्रणमा लिए । यसरी भेनेजुएला एउटा समाजवादी राष्ट्रमा परिणत भयो । यसलाई अमेरिकाले मन पराइराखेको थिएन, यसबाट समाजवादी राष्ट्रको नाताले चीनले बढी फाइदा लिइरहेको थियो । चाइनाको लगानी प्रशस्त भेनेजुएलामा भित्रिसकेको थियो, विशेष गरेर तेल कम्पनीहरुमा । यसैबीच सन् १९१३ मा ह्युगो चाभेजको अवसान भयो र उनका उत्तराधिकारी निकोलस माधुरो सत्तामा आए । निकोलस मादुरोले गहिरो आर्थिक पतन र राजनीतिक द्वन्द्वको बीचमा यी नीतिहरूलाई निरन्तरता दिए, जसले गर्दा अभाव, अत्यधिक मुद्रास्फीति र व्यापक बसाइँसराइ भयो ।

सन् २०२० मा भेनेजुएलाको राजनीतिक अवस्था अत्याधिक विवादास्पद बन्यो, जसले अन्तर्राष्ट्रिय ध्यान र हस्तक्षेप प्रयासहरू आकर्षित ग¥यो । मैले यहाँ भेनेजुएलाको केही उदाहरण दिएर भन्न खोजेका कुराहरू के हुन् भने कुनै पनि राष्ट्रमा छोटकरीमा ः भेनेजुएलाको अवस्थाले हामीलाई सिकाउँछ कि आर्थिक विविधता, जिम्मेवार शासन, बलियो संस्था, समावेशी लोकतन्त्र र सामाजिक सुरक्षा स्थिर र समृद्ध समाजको लागि महत्वपूर्ण छन् । यी पाठहरू भेनेजुएलाको लागि मात्र नभई आर्थिक र राजनीतिक चुनौतीहरूको सामना गरिरहेका अन्य देशहरूका लागि पनि सान्दर्भिक छन् ।

राष्ट्रमा जति नै राम्रो प्राकृतिक स्रोत र साधनहरू उपलब्ध भए पनि यसको प्रयोग विशेष गरेर राजनीतिक स्थिरताले नै अगाडि ल्याउन सक्छ । प्रजातन्त्रले मात्र देशको सर्वाेपरि हित संरक्षण गर्न सक्छ भन्ने कुराको उदाहरण धेरै राष्ट्रहरुबाट हामीले सिक्न सक्छौं । कतिपय राष्ट्रहरुमा पर्याप्त मात्रामा स्रोत र साधन नभए पनि स्थिर राजनीतिका कारणले राष्ट्रको आर्थिक, सामाजिक क्षेत्र मा दिगो विकास भइराखेको पाइन्छ । विकास एउटा दीर्घकालिन कार्यक्रम हो । यसलाई हामी नेपालको सन्दर्भमा पनि जोडेर हेर्न सक्छौं । नेपालमा पनि पर्याप्त मात्रामा प्राकृतिक स्रोत र साधनहरूको उपलब्धता भए पनि लामो समयदेखि आर्थिक सामाजिक विकासमा पछाडि पर्नुको एउटा प्रमुख कारण राजनीतिक अस्थिरता नै हो भनेर भन्न सकिन्छ ।

नेपालमा पटक–पटक आन्दोलन भए व्यवस्था परिवर्तन भयो, तर अवस्था परिवर्तन हुन सकेन । राजनीतिले स्थिरता लिन सकेन, यसको बारेमा गम्भीर विचार विमर्श गर्न जरुरी छ । अझ परिवर्तनका संवाहकहरू नेपालका राजनीतिक दलहरूले यसका बारेमा गहिरो, गम्भीर र परिणाममुखी विचार विमर्श गर्नुपर्ने देखिन्छ । राजनीतिक दलहरू बहुदलीय प्रजातन्त्रका धमनीहरू हुन् । प्रत्येक पटकको व्यवस्था परिवर्तनपश्चात नागरिकहरूको चाहना अनुसार काम गर्न दलका नेतृत्व वर्गहरूले सकेनन् वा गर्न चाहेनन् । दलका नेताहरु भ्रष्टाचारको दलदलमा फसे । देश, नागरिकहरू प्रतिभन्दा बढी आफ्नो दलीय स्वार्थ र कार्यकर्ताप्रति उत्तरदायी भए, राष्ट्र विकासभन्दा प्रचारमुखी र देखावटी प्रकारका विकासका पूर्वाधारहरू तिर आशक्त देखिए जसको परिणाम स्वरूप नागरिकहरूमा असन्तुष्टि कायमै रह्यो र पटक–पटक व्यवस्था परिवर्तनका लागि नागरिकहरूले आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भयो ।

दलका कार्यकर्ताहरूले पनि आफ्ना दलका नेताहरुले गरेका गल्ती, कमी–कमजोरीहरुलाई नऔंलाइकन ताली मात्र बजाइरहे । जसको परिणाम स्वरूप देशमा परिवर्तन संस्थागत हुन सकेन । नागरिकहरुमा असन्तुष्टि कायम रहिरह्यो र यसले आजको यो परिस्थिति सिर्जना ग¥यो । अहिले पनि दलहरूको वकालत सुन्दा लाग्छ दलहरुले वा दलका नेताहरुले कुनै गल्ती गरेका थिएनन् । आजभन्दा चालिसौ वर्ष अगाडिदेखि दलको नेतृत्वमा रहेर बसेका नेतृत्व वर्गहरु अहिलेसम्म ‘माछा देखे दुलामा हात, सर्प देखे बाहिर हात’ भन्ने उखान झैं गरिराखेका छन् । कुशासनको र भ्रष्टाचारको दलदलमा फसे पनि आफू पानी माथि ओभानो भएर चोखो झैं गरिराखेका छन् ।

आगामी दिनमा मुलुकमा आमचुनाव हुँदैछ । यही चुनावमा नागरिकहरूले सर्वोच्चता देखाउनुपर्नेछ । बुझेर मतदान गर्नुपर्नेछ । जसले गर्दा राष्ट्रको अहिलेको यो अवस्थाबाट हामी मुक्त हुन सक्छौं । दलीय स्वार्थमा रहेर होइन, दलीय कार्यकर्ता भएर होइन, उपयुक्त पात्रलाई छान्न सक्यो भने देशको परिवर्तन दिगो रूपमा राख्न सकिन्छ । प्रजातन्त्रमा चुनाव नै परिवर्तनको सर्वोपरी आन्दोलन हुनसक्छ, यसरी चुनावलाई एकजुट भएर, यसलाई परिणाममुखी बनाउन हाम्रालाई होइन राम्रालाई छान्न जरुरी देखिन्छ, अन्यथा नेपाल पनि अहिलेको संकटग्रस्त देश भेनेजुएला नहोला भन्न सकिन्न ।
(निरौला विपद् व्यवस्थापन, पर्यटन तथा समकालीन राजनीतिका विषयमा कलम चलाउँछन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here