सोहराय पर्वमा सन्थाल संस्कृति झल्कियो, बिर्तामोडमा भव्य सांस्कृतिक कार्यक्रम

0
126

झापा । झापाको बिर्तामोड नगरपालिका–९ स्थित गरामनीमा सन्थाल समुदायको महान् पर्व सोहराय को अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

सन्थाल मार्साल डाहार सुसार समाजको आयोजनामा सम्पन्न कार्यक्रममा सन्थाल समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान झल्किने विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। परम्परागत नृत्य, गीत–संगीत र भेषभूषाले कार्यक्रमस्थललाई उत्सवमय बनाएको थियो।

सोहराय पर्व सन्थाल समुदायको प्रमुख सांस्कृतिक उत्सव हो। धानबाली भित्र्याएपछि मनाइने यो पर्व कृषि चक्र, पशुपालन र प्रकृतिप्रतिको कृतज्ञतासँग जोडिएको मानिन्छ। परिवार, समाज र प्रकृतिबीचको सहअस्तित्वलाई प्रतीकात्मक रूपमा अभिव्यक्त गर्ने यो पर्व पूर्वी नेपालका झापा र मोरङ जिल्लामा विशेष उत्साहका साथ मनाइँदै आएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद एकराज कार्की थिए। कार्यक्रममा प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरेले सन्थाल समुदायको मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षणमा राज्य र समुदाय दुवैको सक्रिय भूमिका आवश्यक रहेको बताए। उनले सांस्कृतिक विविधता नेपालको शक्ति भएको उल्लेख गर्दै आदिवासी समुदायको पहिचान जोगाउन साझा प्रयास अपरिहार्य रहेको धारणा राखे।

कार्यक्रममा बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर ७ का वडाध्यक्ष अविरल कृष्ण खरेल, वडा नम्बर ९ का वडाध्यक्ष हरिप्रसाद चौलागाईं, वडा नम्बर १० का वडाध्यक्ष दुर्योधन गुरुङ, कार्यपालिका सदस्य संगिता सिवा, हडम मुर्मुलगायत जनप्रतिनिधि तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो।

सांस्कृतिक कार्यक्रममा भारतबाट आएका कलाकार नानोक हस्दा, सोनाली सोरेन, अजित मुर्मु, भोला मुर्मुलगायतले विशेष प्रस्तुति दिएका थिए। स्थानीय कलाकार सोराहीले पनि कार्यक्रमलाई थप जीवन्त बनाएका थिए। कार्यक्रमको अध्यक्षता मुकेस हस्दाले गरेका थिए भने सञ्चालन श्याम मुर्मुले गरेका थिए।

आधुनिकता र शहरीकरणका कारण आदिवासी समुदायका मौलिक संस्कृतिहरू संकटमा पर्दै गएको सन्दर्भमा यस्ता कार्यक्रमले सांस्कृतिक संरक्षण, पहिचान सुदृढीकरण र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here