डिजिटल प्रविधिको शिक्षण

0
895

प्रविधिको विकाससँगै उपयोग पनि आज द्रुतगतिमा बढेको छ । झापाको बिर्तामोडस्थित देवभूमि विद्यापीठ अंग्रेजी स्कूलले डिजिटल प्रविधिबाट शिक्षण शुरु गरेको समाचार प्रकाशनमा आएको छ । ‘कुलल्याब टेक्नोलोजी’ मार्फत डिजिटल माध्यमबाट शिक्षण शुरु गर्दा पढाईप्रति विद्यार्थीको आकर्षण र शिक्षकको उत्साहपनि बढेको बताइन्छ । उक्त प्रविधिमार्फत सरकारले तोकेको पाठ्यक्रम विद्यालयमा र ‘अनलाइन’ मार्फत घरमै पनि पढ्न सकिने अवस्थाले थप सजिलो बनाएको छ । झापाकै कतिपय विद्यालयले साना कक्षाहरुमा अडियो–भिडियो शिक्षण शुरु गरेका छन् । त्यो उपयोगी पनि देखिएको छ ।
घोकाएरभन्दा बुझाएर सिकाउनुले सिकाईको प्रभावकारिता बढाएको छ । सैद्धान्तिक भन्दा व्यवहारिक र अभ्यासमार्फत सिकाएको सिकाई दीगो हुन्छ । प्रभावकारी र दीगो सिकाइले नै शिक्षण–सिकाईलाई सार्थक बनाउँछ । विद्यार्थीलाई शिक्षणप्रति आकर्षित गर्न अहिलेका विकसित प्रविधिको उपयोग गर्दै जानु सकारात्मक पक्ष हो । अहिले भइरहेका शिक्षण भद्दा र विद्यार्थीको ध्यान तान्न नसक्ने खालका भइसकेका छन् । प्रविधि र शैक्षिक सामग्रीको पर्याप्त उपयोगिताले मात्र शिक्षण प्रभावकारी भई विद्यार्थी राम्रोसँग सिक्न सक्छन् । विद्यालयको शैक्षिक गुणस्तर अनि विद्यार्थीको दक्षता शिक्षण–सिकाइमा निर्भर रहने हुन्छ । प्रविधिको उपयोगबाट गरिएको शिक्षणले विद्यार्थी आकर्षणसँगै विद्यालयको शैक्षिक गुणस्तर बढ्ने विश्वास सरोकारवालाको रहेको छ । तसर्थ यस्ता प्रविधि विद्यार्थी आकर्षित गर्न केही समयका लागि मात्र होइन कि सँधैका लागि समयानुकूल सञ्चालनमा ल्याइनुपर्छ ।
निजी विद्यालयले आधुनिक प्रविधिबाट शिक्षण गरिरहँदा त्यहाँ पहुँच नभएका गरीब, पछाडि पारिएका बालबालिका पुरातन शैली मै पढ्न बाध्य छन् । घोकाएर पढाउने चलन हटेको छैन । प्रविधि र शैक्षिक सामग्रीको अधिकतम् उपयोग सामुदायिक विद्यालयका लागि अहिलेको आवश्यकता हो । यसका लािग दक्ष शिक्षक, पाठ्यक्रममा एक रुपता कायम गर्ने हो भने अहिले भोगिएको अवस्था अर्थात मुलुकमा दुई खाले जनशक्ति उत्पादन हुने थिएनन् । एकैखाले दक्ष जनशक्ति गुणस्तरीय शिक्षा आर्जन गरी उत्पादन हुने बातावरण निर्माण अहिलेको आवश्यकता हो । सैद्धान्तिकभन्दा व्यवहारिक, सीपमूलक, प्राविधिक शिक्षा अनि त्यो शिक्षाको शिक्षण आधुनिक प्रविधिमार्फत गर्दा मात्र विश्वव्यापी रुपमा बढ्दो प्रतिस्पर्धामा उत्रन सक्ने जनशक्ति तयार हुन्छन्, अन्यथा शिक्षितका नाममा बेरोजगार उत्पादन मात्र हुनेछन् । समयको माग र आवश्यकतालाई मध्यनजर गरी शैक्षिक पाठ्यक्रम, शिक्षण पद्धति प्रविधिमा सुधार आजको आवश्यकता हो । यो आवश्यकता परिपूर्तिका लागि सरकार तथा सबै सरोकारवाला अग्रसर हुन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here