०४८को आम निर्वाचनपछि एमालेलाई रोक्ने बुढाथोकी मात्रै
सुरेन्द्र भण्डारी
झापा ।

२०४६ मा प्रजातन्त्र पुनस्र्थापना भएपश्चात् २०४८मा पहिलो आम निर्वाचन भयो । जतिबेला झापा ७ वटा निर्वाचन क्षेत्रमा विभाजित थियो । त्यस क्रममा झापा क्षेत्र नम्वर ५मा नेकपा एमालेका उम्मेद्वार चन्द्रप्रकाश मैनाली १८,८९२ मतका साथ निर्वाचित भए । उनले नेपाली कांग्रेसका उम्मेदवार रामवावु प्रसाईलाई पराजित गरेका थिए । प्रसाईले सो निर्वाचनमा ११,९४८ मत प्राप्त गरेका थिए ।
२०५१ सालमा भएको आम निर्वाचनमा पनि १६,३६१ मतका साथ नेकपा एमालेका उम्मेदवार राधाकृष्ण मैनाली निर्वाचित भए । उनले नेपाली कांग्रेसका उम्मेदवार सूर्यनारायण ताजपुरियालाई पराजित गरेका थिए । ताजपुरियाले १३,८९८ मत प्राप्त गरेका थिए ।
२०५६मा भएको आम निर्वाचनमा नेकपा एमालेका तारासम योङ्या १९,१९९ मतका साथ निर्वाचित भए । उनले नेपाली कांग्रेसका उम्मेदवार सन्तोषकुमार मेयाङ्वोलाई पराजित गरेका थिए । उनले १६,६५१ मत प्राप्त गरेका थिए । लगातार तीनपटकको निर्वाचनमा सहज जित निकालेको नेकपा एमालेलाई ब्रेक लगाउन नेपाली कांग्रेसका उम्मेदवार केशवकुमार बुढाथोकी (स्व.) निस्किए ।
मुलुकमा १० वर्षे सशस्त्र द्वन्द्वपछि शान्ति स्थापना भएसंगै २०६४ साल चैत्र २८ गते संविधानसभाको पहिलो निर्वाचन सम्पन्न भएको थियो । सो निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट १६,४७७ मतका साथ केशवकुमार वुढाथोकी निर्वाचित भए । उनले नेकपा माओवादीका उम्मेदवार हर्कबहादुर खड्का (१५,५४८) लाई पराजित गरेका थिए ।
पहिलो संविधानसभाबाट निर्वाचित प्रतिनिधिले संविधान निर्माण गर्न नसकेपछि २०७० सालमा पुनः दोस्रो संविधानसभाको निर्वाचन भयो । सो निर्वाचनमा पनि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका बुढाथोकीले १६,५८७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार लालप्रसाद साँवा लिम्बूलाई पराजित गरे । लिम्बूले सो निर्वाचनमा १६,३४७ मत प्राप्त गरेका थिए । अर्थात् नेकपा एमालेका उम्मेदवार लिम्बूलाई उनले २४० मतको अन्तरले पछि पार्दै नेपाली कांग्रेसको शाख जोगाएका थिए ।
त्यसपछि झापामा निर्वाचन क्षेत्र घटाइयो । सात वटा निर्वाचन क्षेत्र रहेको झापा ५ वटा निर्वाचन क्षेत्रमा सीमित बन्यो । तत्कालीन झापा ५लाई निर्वाचन क्षेत्र घटाइएसँगै क्षेत्र नम्वर ४मा रुपान्तरण गरियो ।
२०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट पुनः लालप्रसाद साँवा लिम्बू उम्मेदवार भए । उनले नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेवे लिम्बूलाई पराजित गर्दै एमालेको पुरानो बिरासत फर्काए । २०७४को निर्वाचनमा एमालेका उम्मेदवार लिम्बूले ४३,५१५ मत ल्याउँदा कांग्रेसका उम्मेदवार थेवेले २६,८२२ मत मात्र प्राप्त गरे । अर्थात् १६,६९३ मत अन्तरले एमालेका उम्मेदवार साँवा निर्वाचित भएका थिए ।
यता २०७९मा भएको प्रतिनिधिसभाको निर्वाचनमा पनि एमालेले नै यो निर्वाचन क्षेत्रबाट जित निकाल्यो । यसपटक पनि नेपाली कांग्रेसका उम्मेदवार थेवेलाई नेकपा एमालेका उम्मेदवार साँवाले नै पराजित गरे । साँवाले यो निर्वाचनमा २९,३१५ मत प्राप्त गरे । यसपटक पनि नेपाली कांग्रेसका उम्मेदवार थेवेले २२,४४८ अर्थात् ३० प्रतिशत मतान्तरका साथ बिजयी भए ।
२०७९को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालले १४,०६९ मत ल्याउँदै तेस्रो स्थान हासिल गरे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १६ जना उम्मेदवारले यो पटक पनि मनोनयन दर्ता गराएका छन् ।
उम्मेदवारको संख्या मात्र होइन, उनीहरूले प्रतिनिधित्व गर्ने राजनीतिक धार, बिचार र पृष्ठभूमिका कारण यसपटकको चुनावलाई सामान्य प्रतिस्पर्धाभन्दा फरक रूपमा हेरिएको छ । अघिल्लो निर्वाचनमा प्रतिष्पर्धामा उत्रिएको रास्वपाका उम्मेदवार शम्भुप्रसाद ढकाल (सुस्केरा) पनि योपटक मनोनयन दर्ता गराउँदै प्रतिष्पर्धामा छन् ।
झापा–४को निर्वाचन अब परम्परागत कांग्रेस–एमाले प्रतिष्पर्धामा मात्र सीमित नरही नयाँ शक्तिको सम्भावित उदय र पुराना दलको आधार कति मजबुत छ भन्ने परीक्षणको चरणमा पुगेको छ ।
बहुदलीय भीडन्तको क्षेत्र
नेपाली कांग्रेसबाट देउकुमार थेबे, नेकपा एमालेबाट लालप्रसाद साँवा लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शम्भुप्रसाद ढकाल (सुस्केरा), नेकपा माओवादीबाट ताराबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भक्तिप्रसाद सिटौला, श्रम संस्कृति पार्टीबाट अमृतादेवी राई, नेपाली कम्युनिष्ट पार्टीबाट पुरुषोत्तम चुडाल (राजु), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट किरण लिम्बू लिङ्देन, नेपाल मजदुर किसान पार्टीबाट तुलसीलक्ष्मी दुमरु, मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट दिलीप धिमाल, जनता समाजवादी पार्टी नेपालबाट पल्टन ताजपुरिया, उज्यालो नेपाल पार्टीबाट सन्तोष तामाङ, जनमत पार्टीबाट लोथ्रो हेमरम, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–पुष्पलाल) बाट टेकबहादुर अधिकारी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट त्रिनारायण राजवंशी र स्वतन्त्र उम्मेदवार साजन माझी चुनावी मैदानमा छन् ।
झापा–४को निर्वाचनलाई समीक्षा गर्दा विगतमा कांग्रेस र एमालेबीचको प्रतिस्पर्धा मुख्य रहँदै आएको थियो । बिगतमा भएको निर्वाचनको नतिजा हेर्दा यो निर्वाचन क्षेत्रमा नेकपा एमालेको आधार बलियो भए पनि लोकप्रियता घट्दो क्रममा रहेको संकेत गर्छ ।
नयाँ शक्ति र वैकल्पिक धार
२०७९ सालको निर्वाचनमा पहिलोपटक सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले झापा–४मा उल्लेख्य प्रभाव देखाएको थियो । रास्वपाका उम्मेदवार ढकाल तेस्रो स्थानमा रहँदै रास्वपाको उपस्थिति सशक्त रहेको देखाएका थिए । यसले कांग्रेस–एमालेको परम्परागत प्रतिस्पर्धा बाहिर पनि वैकल्पिक राजनीतिक धारप्रति मतदाताको आकर्षण रहेको स्पष्ट संकेत दिएको थियो । जसको परिणाम आसन्न निर्वाचन देखिने आँकलन गरिएको छ ।
त्यसैगरी, २०७९को निर्वाचनमा राप्रपाबाट विद्रोह गरेर उम्मेदवार बनेकी खुश्बू ओली, स्वतन्त्र उम्मेदवार तथा अन्य साना दलले करिब १९ हजार मत तानेका थिए । यसले झापा–४मा मत विभाजन कति निर्णायक हुन सक्छ भन्ने देखाएको थियो । यसपटक पनि १६ उम्मेदवारको उपस्थितिले मत विभाजनको सम्भावना यथावत छ । यस निर्वाचनमा केही उम्मेदवार युवा पुस्ताबाट आएका छन् । उनीहरूले सुशासन, भ्रष्टाचारविरुद्धको अभियान, रोजगारी, शिक्षा–स्वास्थ्य सेवा सुधार र प्रभावकारी सेवा प्रवाहजस्ता मुद्दालाई प्राथमिकतामा राखेका छन् ।
वैदेशिक रोजगारीमा रहेका मतदाताका परिवार, युवा मतदाता र शहरीकरणको प्रभाव बढ्दो क्षेत्र भएकाले परम्परागत दलप्रति असन्तुष्ट देखिने वर्ग पनि यहाँ उल्लेख्य छ । यही वर्ग नयाँ दल र स्वतन्त्र उम्मेदवारको सम्भावित आधार मानिन्छन् ।
तर, अर्कोतर्फ, संगठन, आर्थिक स्रोत, स्थानीय संरचना र मतदाता परिचालन क्षमताका हिसाबले कांग्रेस र एमाले अझै बलिया छन् । यही कारणले नयाँ शक्तिका लागि परिणाम उल्टाउन सजिलो छैन । मतदाताको असन्तुष्टि भए पनि त्यो असन्तुष्टि एकीकृत मतमा परिणत हुन नसकेमा त्यसको प्रत्यक्ष फाइदा ठूला दललाई नै पुग्ने सम्भावना रहन्छ ।
कसलाई फाइदा, कसको जोखिम ?
झापा ४को पछिल्ला मत परिणामलाई विश्लेषण गर्दा एमालेको आधार अझै मजबुत देखिए पनि मत घट्दो क्रममा छ ।
कांग्रेस दोस्रो स्थानमा रहे पनि निर्णायक फड्को मार्नुपर्ने दबाबमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नयाँ दलले मुख्यतः पुरानैको मत काट्ने भूमिकामा देखिन्छन् । साना दल र स्वतन्त्र उम्मेदवारले केही हजार मत तानेमा त्यसको असर मुख्य प्रतिस्पर्धी दलहरूमा पर्नसक्छ । यदि वैकल्पिक शक्तिहरूले संगठित रूपमा मत आकर्षित गर्न सके भने कांग्रेस र एमाले दुवैलाई झट्का लाग्न सक्छ । तर, मत धेरै साना दलमा छरिएमा अन्ततः ठूला दलले नै त्यसको लाभ उठाउने सम्भावना हुन्छ ।
झापा–४को निर्वाचन अब दुई दलबीचको साधारण प्रतिस्पर्धा मात्र रहेन । यो पुराना राजनीतिक शक्तिहरू र नयाँ वैकल्पिक धारबीचको परीक्षा बनेको छ । नयाँ पार्टी र युवा उम्मेदवारले राजनीतिक बहसलाई ताजा बनाएका छन्, तर परिणाम परिवर्तन गर्न उनीहरू अझै एकीकृत रणनीति, स्पष्ट सन्देश र प्रभावकारी संगठनसहित मैदानमा उत्रिनुपर्ने देखिन्छ । पुराना दलको वर्चस्व कायम रहने कि नयाँ शक्तिको उदय हुने भन्ने निर्णय झापा–४ का मतदाताले फागुन २१ मा गर्नेछन् ।




























