योगेन्द्र योगी
सुन्दरहरैंचा (मोरङ),

निजी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र शिक्षक–कर्मचारीको क्षमता विकासलाई केन्द्रमा राख्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) कोशी प्रदेश र इन्स्पायर एजुकेशन कन्सलटेन्सीबीच सहुलियत दरमा विभिन्न तालिम सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ।
मोरङको सुन्दरहरैंचा–१० मा अवस्थित हिमालय इङ्ग्लिस स्कुलमा सम्पन्न सम्झौतामा नेसनल प्याब्सन कोशी प्रदेशका कार्यवाहक अध्यक्ष कमल खनाल र इन्स्पायर एजुकेशन कन्सलटेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्र कुमार प्रसाईले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि प्रतिक्रिया दिँदै कार्यवाहक अध्यक्ष खनालले निजी विद्यालयको दीर्घकालीन सुधार शिक्षक र शैक्षिक जनशक्तिको सशक्तिकरणबाट मात्र सम्भव हुने उल्लेख गरेका थिए । उनले भने,“शिक्षक र विद्यालय कर्मचारीको क्षमता विकास नै गुणस्तरीय शिक्षाको आधार हो। यो सम्झौतामार्फत सदस्य विद्यालयहरूले सहुलियत दरमा व्यवहारिक र समयसापेक्ष तालिम पाउनेछन्, जसले समग्र शैक्षिक वातावरण सुधार्न सहयोग गर्नेछ।”
यस्तै, इन्स्पायर एजुकेशन कन्सलटेन्सीका सीईओ इन्द्र कुमार प्रसाईले शिक्षामा लगानी गर्नु भनेको भविष्य निर्माणमा लगानी गर्नु भएको धारणा राखेका थिए । उनले भने, “नेसनल प्याब्सनजस्तो प्रतिष्ठित संस्थासँग सहकार्य गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो। यो सम्झौतामार्फत शिक्षाक्षेत्रमा कार्यरत जनशक्तिलाई व्यवहारिक, उपयोगी र गुणस्तरीय तालिम प्रदान गर्न हामी प्रतिबद्ध छौँ।”
सम्झौताअनुसार अब नेसनल प्याब्सन कोशी प्रदेश अन्तर्गतका विद्यालयका शिक्षक, कर्मचारी तथा सरोकारवालाहरूले इन्स्पायर एजुकेशन कन्सलटेन्सीमार्फत विभिन्न तालिमहरू सहुलियत दरमा प्राप्त गर्न सक्नेछन्।
यसले शैक्षिक दक्षता वृद्धि गर्नुका साथै निजी विद्यालयप्रतिको विश्वास थप मजबुत बनाउने अपेक्षा गरिएको छ। सम्झौता कार्यक्रममा नेसनल प्याब्सन कोशी प्रदेशका सदस्य सन्तोष कुमार राई, नेसनल प्याब्सन मोरङका सचिव भनिरुद्र चौधरी, नेसनल प्याब्सन सुन्दरहरैंचाका सल्लाहकार भीम अधिकारी लगायतको उपस्थिति रहेको थियो।































