झापा । सालबारी महिला नौमती बाजा संघको आयोजनामा महिलाहरूका लागि पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गिरिबन्धु श्रमिक टोलमा माघ २४ गते शनिबार आयोजित शिविर संघकी अध्यक्ष इन्दिरा पोखरेलको अध्यक्षतामा तथा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 
शिविरमा पूर्णाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोग रहेको थियो । पूर्वाञ्चल क्यान्सर अस्पतालका एचडी डाक्टर डा. ज्योति भाजु लामाले प्रमुख चिकित्सकको रूपमा सेवा प्रदान गरेकी थिइन् । त्यस्तै मार्केटिङ इन्चार्ज गोविन्द खनाल, प्रशिक्षकहरू प्रतिमा काकी, रेनु लिम्बु, सुनिता सोनाम, रुकमिना शर्मा, अरुण लोकान्द्रीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
स्वास्थ्य शिविरमार्फत ८० जना महिलाले प्रत्यक्ष स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएको आयोजकले जनाएको छ । कार्यक्रमको सञ्चालन समाजसेवी रोजिना पाण्डेले गरेकी थिइन् ।
महिलाहरूमा क्यान्सरसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको शिविर स्थानीय समुदायका लागि प्रभावकारी, उपयोगी तथा प्रशंसनीय रहेको संघले जनाएको छ ।
































