योगेन्द्र योगी
सुनसरी,

सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएकी रोल्पाली चेली फाउन्डेसनकी अध्यक्ष यमुना केसी निर्वाचन नजिकिँदै जाँदा जनताको मन जित्ने अभियानमा निरन्तर लागिरहेकी छन्।
ठूला मञ्च र औपचारिक भाषणभन्दा टाढा रहेर उनी माटोमा पसिना बगाइरहेका किसानका खेत, बारी र घरआँगनमै पुगेर मत मागिरहेकी छन्।
काममै व्यस्त मतदाताको दैनिकी बुझ्दै, उनीहरूकै छेउमा उभिएर “तपाईंको दुःख मेरो राजनीति हो” भन्ने भाव बोकेर केसी मतदातासँग संवाद गरिरहेकी छन्। खेतमा हिलोले लतपतिएका किसान, घरधन्दामा व्यस्त महिला र जीवनको उत्तरार्धमा पुगेका ज्येष्ठ नागरिकसँग उनको भेट केवल भोट माग्ने औपचारिकता होइन, पीडासँग जोडिएको आत्मीय सम्बन्ध जस्तै देखिन्छ।
रोल्पाको विकट भूभागबाट संघर्ष गर्दै सामाजिक सेवामा दुई दशक बिताएकी केसीका लागि राजनीति शक्ति होइन, सेवा हो। त्यही सेवाको अनुभव र जनताप्रतिको उत्तरदायित्व बोकेर उनी आज संसदसम्म जनताको आवाज पुर्याउने संकल्पसहित मैदानमा उत्रिएकी छन्।
उनको चुनाव चिह्न ‘मुसा’ रहेको छ। जनताको घरआँगनमै पुगेर गरिएको यो भावनात्मक घरदैलो अभियानले “अब राजनीति अनुहार होइन, अनुभूति खोज्छ” भन्ने सन्देश सुनसरी–४ का बस्ती–बस्तीमा फैलिँदै गएको छ।































