बिर्तामोडका ढुण्डीराज गिरी डीएसपीमा बढुवा

0
31

बिर्तामोड ।

इलामको कन्याममा वि.सं. २०३३ साल साउन २० गते आमा देवकुमारी गिरी र बुबा वेदप्रसाद गिरीको पुत्ररत्नका रुपमा जन्मिएका ढुण्डीराज गिरी नेपाल प्रहरीको संगठनमा परिचित नाम हो ।

इलाममा जन्मिएपनि झापाको बिर्तामोडलाई कर्मथलो बनाएका गिरी प्रहरी नायव उपरीक्षकमा बढुवा भएका छन् । प्रहरी निरीक्षक हुँदा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको उत्कृष्ट नेतृत्व गरेका थिए भने उनले झापासहित विभिन्न जिल्लामा आफ्नो जिम्मेवारी सफलता पूर्व निर्वाह गरेका थिए ।

उनले नुवाकोट, प्युठान, काठमाण्डौं, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, पाँचथर र झापाका विभिन्न क्षेत्रमा कुशलता पूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनको कामलाई मुल्याङकन गर्दै नेपाल प्रहरीले प्रदान गर्ने पुलिस अफ दी मन्थ लगायतका दर्जनौं नगद र पुरस्कारहरु प्रदान गरिसकेको छ ।

उनले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नेतृत्व गरेको अहिले पनि सम्झना र प्रशंसा गरिन्छ । त्यस्तै विपद्का बेला उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए भने उनलाई दैवी प्रकोप उद्दार पदक दिर्घ सेवा पदकबाट समेत सम्मान गरिएको थियो ।

हाल जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक भएकै अवस्थामा उनको बढुवा भएको हो । गृह मन्त्रालय(सचिवस्तर) को निर्णयले गिरी प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा भएका हुन् ।

गिरीलाई आइतवार एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । पदोन्नति भएका प्रहरी नायव उपरीक्षक गिरीलाई प्रहरी नायव महानिरीक्षक घिमिरेले हार्दिक बधाईसहित धन्यवाद दिएका छन् ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापालगायत सिनियर तथा जुनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

२०५२ फागुन २४ गते प्रहरी जवानबाट उनले प्रहरी सेवामा प्रवेश गरेका थिए । त्यसपछि २०५४ चैत १६ मा प्रहरी सहायक निरीक्षकमा खुल्ला प्रतियोगिताबाट नाम निकाल्न सफल भएका थिए । २०५९ जेठ ६ गते प्रहरी नायब निरीक्षक र २०७१ चैत १ गते प्रहरी निरीक्षक हुँदै प्रहरी नायब उपरीक्षक पदमा बढुवा हुन सफल भएका हुन् । गिरीको अवकाश हुन अब एक महिना मात्र बाँकी रहेको बताइएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय झापाले एक कार्यक्रमका बीच प्रहरी नायव उपरीक्षकमा बढुवा भएका गिरीलाई प्रहरी उपरीक्षक बसुन्धरा खड्काले बधाई तथा शुभकामना ज्ञापन गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here