इन्टरनेटको सुरक्षित प्रयोग गरौं

0
17

प्रविधिको विकाससँगै इन्टरनेट चलाउनेको संख्या बढ्दै जाँदा त्यसको सुरक्षित प्रयोग सम्बन्धी सचेतना प्रवाह गर्न सुरक्षित इन्टरनेट दिवस मनाइन्छ । आज त्यही दिन र दिवस हो जसले इन्टरनेटको प्रयोगका क्रममा उत्पन्न कठिनाइ, समस्या र असुरक्षाका बारेमा अनुभव साटासाट गर्न सचेतना दिने कार्यक्रमहरुको आयोजना गरिन्छ । हामीकहाँ पछिल्लो समय इन्टरनेटकै माध्यमबाट हुने ठगीका घटनाहरु दिनहुँ बढिरहेका छन् । त्यसको सुरक्षित प्रयोग नगरिँदा धेरैले आर्थिक, मानसिक र भौतिक क्षति व्यहोर्नु परेको छ । इन्टरनेटको दुरुपयोगले व्यक्तिको मान, प्रतिष्ठामा आघात पुगेको छ र कतिले दुव्र्यवहार पनि खप्नु परेको छ ।

इन्टरनेटको दुरुपयोगबाट हुनसक्ने जोखिम र क्षति न्यूनीकरण गर्दै साइबर सुरक्षा सम्बन्धमा चेतना अभिवृद्धि गर्न बालबालिका तथा युवा वर्ग लक्षित यो दिवस आजको डिजिटल युगले दिएको ज्ञान र त्यसबाट प्राप्त हुने सिप र क्षमता अभिवृद्धिका लागि समेत सहायक छ । आजभोलि इन्टरनेटको पहुँच वृद्धिले प्रयोग बढाएको मात्र छैन ज्ञान, सूचना, सञ्चार र मनोरञ्जनको अभूतपूर्व अवसर पनि प्रदान गरेको छ । तर, त्यसकै दुरुपयोगले बालबालिका र युवाहरु अनलाइन दुव्र्यवहार, शोषण, छलकपट, यौनजन्य अपराधहरुबाट पीडित पनि छन् ।

खासगरी बालबालिका र युवावर्गलाई इन्टरनेटको नकारात्मक प्रभावबाट जोगाउन सरकारी तथा निजी क्षेत्रले बेलैमा सजगता अपनाउनुपर्छ । कोभिडको महामारीपछि संसारभरि अनलाइनको प्रयोग बढेको छ । बालबालिकाका हातमा समेत इन्टरनेटको पहुँच र प्रयोग बढेको छ । त्यसैले त्यसको नकारात्मक प्रभावबाट सुरक्षित राख्न पनि यो दिवसले विशेष सन्देश दिएको छ । त्यसका लागि विद्यालय, अभिभावकहरु, सामाजिक संघ–संस्थाहरु सक्रिय हुनुपर्छ । त्यही उद्देश्य प्राप्तिका लागि सन् २०१९ देखि नेपालमा पनि मनाइन थालेको इन्टरनेट दिवस आजको आवश्यकता हो ।

मुख्यतः चाइल्डसेफ नेटले प्रबद्र्धन गरेको यो दिवस आज विश्वव्यापी भइसकेको छ । सूचना तथा प्रविधिको तीव्र विकासले ल्याएको क्रान्तिसँगै नकारात्मकताले बालबालिका बढी प्रभावित हुन थालेका छन् । त्यसैले त्यस्तो नकारात्मकताबाट जोगाउँदै इन्टरनेटको सुरक्षित प्रयोग सम्बन्धी चेतना अभिवृद्धि गर्न, अनलाइन ठगी तथा जोखिमबाट बच्न, लक्षित वर्गकै हित र क्षमता बढाउन पनि सहायक हुने यो दिवसले इन्टरनेटको सुरक्षित प्रयोगको चेत बढाओस् शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here