झापा ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी चुलिएको छ । दल र उम्मेदवारहरू मतदाताको ढोका–ढोकासम्म पुगिरहेका छन् । सीमावर्ती क्षेत्र, व्यापारिक नाका, पहिचान र बिचारको बहुलता बोकेको यो क्षेत्र यसपटक पनि पूर्वी नेपालको राजनीतिक प्रयोगशाला जस्तै देखिएको छ ।
भारतसँग सिधा सीमाना जोडिएको मेचीनगर–१५ वडासहित बुद्धशान्ति–४ र भद्रपुर–२ वडा समेटिएको झापा–१मा एक लाख ३१ हजार ६७ मतदाता छन् । पुरुष मतदाता ६५ हजार ८ सय ५८ र महिला मतदाता ६५ हजार २ सय ९ छन् । मतदाताको संख्यागत सन्तुलन र भूगोलको विविधताले यहाँको चुनावलाई सधैं अनिश्चित बनाउँदै आएको छ ।
यसपटकको प्रतिस्पर्धामा राजनीतिक पृष्ठभूमि मात्रै होइन, पेशागत पहिचान पनि प्रमुख मुद्दा बनेको छ । प्राध्यापक, इञ्जिनियर, सहकारीकर्मी, पत्रकारदेखि सामाजिक अभियन्तासम्म चुनावी मैदानमा छन् । यसले झापा–१को चुनावलाई परम्परागत दलगत प्रतिस्पर्धाभन्दा बाहिर लैजाने संकेत गरेको छ ।
नेपाली कांग्रेसका उम्मेदवार केशबराज पाण्डे संगठनात्मक राजनीतिबाट आएका अनुभवी नेता हुन् । नेविसंघ हुँदै नेपाली कांग्रेसको सक्रिय राजनीतिमा स्थापित पाण्डे पार्टीभित्र कुशल संगठक र सफल व्यवसायीका रूपमा चिनिन्छन् । उद्योग–व्यवसायसँगको लामो सम्बन्ध र धार्मिक आस्थालाई जोडेर मतदातामाझ पुगिरहेका पाण्डेले काँग्रेसको परम्परागत मताधार जोगाउने रणनीति लिएका छन् ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको चुनावी क्षेत्र भएकाले पनि कांग्रेसको शाख जोगाउन पाण्डेलाई चुनाव जित्नैपर्ने दबाब छ । तर, संसदीय यात्राका लागि उनी नयाँ अनुहार हुन् । नेपाली कांग्रेसका उपसभापति शर्माले चुनावमा उम्मेदवारी नदिएर पार्टीका झापा उपसभापति समेत रहेका पाण्डेलाई अघि सारेपछि उनको काँधमा चुनाव जित्नै पर्ने बाध्यता छ ।
यता अर्का उम्मेदवार रामचन्द्र उप्रेतीका लागि पनि संसदीय यात्रा प्रवेशका लागि नयाँ खुड्किलो बनेको छ– यो निर्वाचन । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका उप्रेती सहकारी अभियानमा स्थापित नाम हो । लामो समय पार्टी जिम्मेवारीमा सक्रिय नरहे पनि सहकारी क्षेत्रमा बनाएको सञ्जाल उनको मुख्य बल हो । पछिल्ला वर्षहरूमा सहकारी क्षेत्रमा देखिएका समस्याबीच उप्रेतीको छवि मतदाताले कसरी मूल्याङ्कन गर्छन् भन्ने प्रश्न यस क्षेत्रमा चासोको विषय बनेको छ ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार अशेष घिमिरे वैचारिक राजनीतिमा जोड दिने युवा अनुहार हुन् । ‘पैसा दिएर मत नकिन्ने’ घोषणासहित मैदानमा उत्रिएका घिमिरेले वैचारिक स्पष्टता र सैद्धान्तिक बहसलाई आफ्नो मुख्य अस्त्र बनाएर चुनावी मैदानमा छन् । तर, संगठित संरचनाको अभावले उनको अभियानले कति हदसम्म चिर्न सक्छ भन्ने चुनौति यथावत् छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका हेमराज कार्कीले अर्थशास्त्र र विकासको बहसलाई केन्द्रमा राखेका छन् । शिक्षण पेशाबाट आएका कार्कीले आर्थिक रूपान्तरणको स्पष्ट खाका प्रस्तुत गर्न सक्ने दावी गर्दै आएका छन् । यद्यपि, राप्रपाको सीमित सांगठनिक पहुँचले उनलाई कति लाभ दिन्छ भन्ने प्रश्न यथावत छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार निशा डाँगी यस क्षेत्रकै सबैभन्दा कम उमेरकी उम्मेदवार हुन् । पूर्व समानुपातिक सांसदको अनुभव लिएकी डाँगीले युवापुस्ताको प्रतिनिधित्व र वैकल्पिक राजनीतिलाई जोड दिँदै आएकी छिन् । रास्वपाप्रतिको शहरी र युवा आकर्षणले झापा–१को समीकरणमा नयाँ कोण थपेको छ ।
पहिलोपटक चुनावी मैदानमा उत्रिएको श्रम संस्कृति पार्टी, मंगोल नेशनल अर्गनाइजेशनजस्ता दलका उम्मेदवारहरूले पहिचान र वैकल्पिक राजनीतिक धारलाई प्रतिनिधित्व गरिरहेका छन् । स्वतन्त्र उम्मेदवार गणेशकुमार खरेलले भने स्थानीय मुद्दा, सामाजिक सक्रियता र व्यक्तिगत छविलाई आधार बनाएर फरक परिचय निर्माण गर्ने प्रयास गरिरहेका छन् ।
झापा–१मा यसपटकको चुनाव परम्परागत ठूला दलको संगठनात्मक शक्ति, वैचारिक राजनीति, पेशागत पहिचान र नयाँ पुस्ताको आकर्षणबीचको टकरावका रूपमा देखिएको छ । १५ उम्मेदवार रहेको यो क्षेत्रमा मत विभाजनको सम्भावना उच्च छ । अन्ततः मतदाताले संगठन रोज्ने कि व्यक्तित्व, अनुभव रोज्ने कि नवीनता–यसको फैसला फागुन २१ गतेको मतपेटिकाले गर्नेछ ।
झापा १बाट दुई स्वतन्त्रसहित १५ उम्मेदवार चुनावी मैदानमा छन् । जसमा अशेष घिमिरे नेपाली कम्युनिष्ट पार्टी, ओलोन राजवंशी राष्ट्रिय सद्भावना पार्टी, केवलराम राई श्रम संस्कृति पार्टी, केशवराज पाण्डे नेपाली कांग्रेस, खान्द्रु करुवा नेपाल जनमुक्ति पार्टी, गणेशकुमार खरे स्वतन्त्र, दुर्गाप्रसाद साँवा लिम्बू स्वतन्त्र, नरेशकुमार लावती उज्यालो नेपाल पार्टी, निशा डाँगी राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए ।
उनका अनुसार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मानवहादुर साँवा लिम्बू, जनता समाजवादी पार्टी नेपालबाट रमा मेचे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट रामचन्द्र उप्रेती, मंगोल नेशनल अर्गनाइजेशनबाट सन्तोष तामाङ, नेपाल मजदुर किसान पार्टीबाट हिरण्यप्रसाद भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेमराज कार्कीको उम्मेदवारी रहेको छ ।



























