सेभेनसिज पब्लिक अंग्रेजी माविले दोस्रो पटक राष्ट्रपति रनिङ शिल्ड जित्यो

0
4

झिलझिले ।

सेभेनसिज पब्लिक अंग्रेजी माध्यमिक विद्यालयले लगातार दोस्रो पटक राष्ट्रपति रनिङ शिल्ड जितेको छ ।

झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा सम्पन्न १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि स्थानीय वडा नम्बर ८ को सेभेनसिज पब्लिक अंग्रेजी माद्यमिक विद्यालयले हात पारेको शिवशताक्षी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख शिक्षा अधिकारी छवि ढकालले जानकारी दिए ।

यससँगै विद्यालयले लगातार दोस्रो पटक राष्ट्रपति रनिङ शिल्ड जित्दै खेलकुद क्षमताको उत्कृष्टता पुनः प्रमाणित गरेको छ । यसअघि सम्पन्न १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि सेभेनसिजले उपाधि जितेको थियो । नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत गरी ३५ प्रतिस्पर्धी विद्यालयलाई पछि पार्दै सेभेनसिजले यस वर्षको प्रतियोगितामा उल्लेखनीय प्रदर्शन गरेर शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको शिक्षा शाखाले जनाएको छ ।

प्रतियोगितामा सेभेनसिज विद्यालयले ९ वटा स्वर्ण, ७ वटा रजत र ९ वटा काँस्य पदक जित्दै समग्रमा प्रथम स्थान हासिल गरेको छ । त्यसैगरी राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले ९ वटा स्वर्ण, ६ वटा रजत र ७ वटा काँस्य पदक जितेर दोस्रो स्थान प्राप्त गरेको छ भने झिलझिले माध्यमिक विद्यालयले ८ वटा स्वर्ण, ३ वटा रजत र ८ वटा काँस्य पदक सहित तेस्रो स्थानमा चित्त बुझाएको छ ।

दुधेस्थित दुधे रङ्गशालामा आयोजित प्रतियोगितामा एथलेटिक्स, कराते, भलिबल, कबड्डी र तेक्वान्डो गरी पाँच विधाका खेल समावेश गरिएको थियो । सेभेनसिजले सबै विधामा उत्कृष्ट प्रदर्शन गर्दै प्रतिस्पर्धी विद्यालयलाई उछिन्दै दोश्रो पटक उपाधि सुरक्षित गरेको हो ।

माघ २४ गतेदेखि सुरु भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सोमबार सम्पन्न भएको थियो । उपाधि जितेर विद्यालयमा सिल्ड भित्रिएपछि मंगलबार विद्यालयमा हर्षोल्लासको माहोल देखिएको थियो ।

विद्यार्थीहरूले झिलझिले बजार क्षेत्रमा सिल्ड र ट्रफी सहित मार्चपास गर्दै विजय उत्सव मनाएका थिए । पदक विजेता विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक दीपक कडरिया, सञ्चालक समितिकी सदस्य ज्योति राई लगायतले खादा, अविर तथा नगद पुरस्कार प्रदान गरी सम्मान गरेका थिए ।

विद्यालयको राष्ट्रिय सेवा दल एनसीसीका विद्यार्थीहरूले प्रधानाध्यापक कडरियालाई सिल्ड तथा ट्रफी हस्तान्तरण गरेका थिए । नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले विद्यालयस्तरमा खेल प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको अभिभावकको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here