विमल दहाल, माई ।

माई नगरपालिका इलाममा मतदाता शिक्षाका लागि स्वयमसेवकलाई एक दिवसीय अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी फागुन ३ देखि १७ गतेसम्म देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भए संगै माई नगरपालिका भित्रका १० वटै वडामा मतदान शिक्षा प्रदान गर्ने गरि अभिमुखीकरण तालिम सम्पन्न गरेको माई नगरपालिका निर्वाचन सम्पर्क व्यक्ति तथा अनुगमनकर्ता एवम माई नगरपालिका प्रशासन शाखा प्रमुख लक्ष्मण भूर्तेलले जानकारी दिनुभयो।
देशभरका ६ हजार ७४३ वडामा एक–एक जना स्वयंसेवक परिचालन गरी मतदातालाई मतदान प्रक्रियाबारे जानकारी गराइने आयोगले जनाएको छ। स्वयंसेवकहरूले आम मतदाताको बस्ती र घरदैलोमै पुगेर नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्त्व र मतदान गर्ने सही तरिकाबारे सिकाउनेछन्।
आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउन जिल्ला र स्थानीय तहमा सम्पर्क व्यक्तिहरूलाई अनुगमनकर्ताका रूपमा तोकेको छ। निर्वाचनका बेला हुन सक्ने बदर मतको सङ्ख्या घटाउन र मतदातालाई गलत तथा भ्रामक सूचनाबाट जोगाउन यो कार्यक्रम ल्याइएको माई नगरपालिका अधिकृत नवराज खत्रीले बताउनु भयो।

मतदाता शिक्षा विशेष कार्यक्रम २०८२ अन्तर्गत मतदाताले मतपत्रको सही प्रयोग, गोप्य मतदानको महत्त्व र निर्वाचन आचारसंहिता जस्ता विषयमा जानकारी पाउनेछन्। संविधान र निर्वाचनसम्बन्धी कानुनको परिधिमा रहेर सचेत मतदान संस्कृतिको विकास गर्ने आयोगको मुख्य लक्ष्य रहेको बताईएको छ।
घर-दैलो तथा टोल-टोलमा मतदान सम्बन्धी कार्यका लागि, महिला स्वयंसेविका, सामुदायिक सिकाई केन्द्रका परिचालक, वाल विकास केन्द्रका स्वयंसेवक, स्वास्थ्य विमा दर्ता सहयोगी लगायतलाई परिचालन गरिएको छ।
माई नगरपालिकामा मतदाता शिक्षाका लागि वडा नम्बर-१ मा मनिमाया लिम्बू, वडा नम्बर-२ मा रञ्जना राई, वडा नम्बर-३ मा सुशील सुवेदी आचार्य, वडा नम्बर-४ मा सिता भट्टराई, वडा नम्बर-५ मा कल्पना देवि ढुङ्गेल, वडा नम्बर-६ मा मञ्जु लिम्बू, वडा नम्बर-७ मा रेनुका लिम्बू, वडा नम्बर-८ मा चन्द्रकला कोईराला, वडा नम्बर-९ मा सविना लावती र वडा नम्बर-१० मा पदम कुमारी लिम्बू रहनु भएको छ।































