अठोटका साथ आजैबाट काम थालौं

0
483

Untitled-1 copy

मुलुकको अवस्था झन् जटिल बनेको छ । बन्दहड्ताल र नाकाबन्दीका कारण देशले दैनिक करीब रू. ६ अर्ब घाटा व्यहोरिरहेको छ । नेपालको अर्थतन्त्र कूल गार्हस्थ्य उत्पादन रू २१ खर्ब २४ अर्बको रहेको र बन्दहडताल र नाकाबन्दीका कारण ४ महिनामा रू ५ खर्ब ४० अर्ब नोक्सान भएको अर्थविद्हरुको विश्लेषण छ । बन्दहड्तालको असर तराई–मधेशमा मात्र होइन, हिमाल, पहाड नेपालका सबै क्षेत्रमा परेको छ । अर्थतन्त्र ठप्प भएका कारण सरकारले जेजस्तो तथ्याङ्क प्रस्तुत गरे पनि आर्थिक वृद्धिदर ऋणात्मक रहने पक्का छ । अर्थतन्त्र चलायमान हुन नसक्दा आयात निर्यात दुवै घटेको छ । लगानी हुन सकिरहेको छैन, फाष्टट्रयाकको बाटो अवलम्बन गरे पनि अर्थतन्त्र सामान्य अवस्थामा फर्काउन २ वर्ष लाग्ने विश्लेषकको भनाई छ ।nakabadi copy
बन्दहड्तालसँगै पुनर्निर्माण, पुनर्वास तथा आर्थिक सुधारका कार्यहरू हुन सकिरहेको छैन । कूल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ३३ प्रतिशत योगदान रहेको कृषिक्षेत्र मौसमी प्रतिकुलताको चपेटा परेको छ भने भएका उद्योगधन्दा ऊर्जा र कच्चा पदार्थको अभावले बन्द भएका छन् । चालू आवमा जीडीपीमा उद्योगको योगदान ऋणात्मक रहनसक्ने सरकारी तथ्याङ्कले बताइसकेको छ । अर्थ मन्त्रालयले मंसीर ८ गते सार्वजनिक गरेको श्वेतपत्रमा २ हजार २ सय उद्योग बन्द भएको तथ्याङ्क प्रस्तुत गरे पनि अर्थविज्ञहरूले भने ४ हजार उद्योग बन्द भएको र ४ लाख मजुदरको रोजीरोटी गुमेको बताएका छन् ।
सामान्य अवस्था भए पनि लगानी परिचालन गरी उत्पादन गर्न समय लाग्ने र उत्पादित वस्तुलाई बजारसम्म पु¥याउनेलगायत कारण छिट्टै पूर्वावस्थामा अर्थतन्त्र फर्कन सम्भव नभएको बताइन्छ  । जीडीपीको आधारमा गणना गर्ने हो भने बन्दहड्तालका दिनलाई गणना गरेर सहजै हिसाब निकाल्न सकिन्छ  । नेपालका खर्च प्रणालीलाई हेर्ने हो भने विशेष गरी मंसीरपछि नै विकास निर्माणका कार्यले गति लिने हुँदा आर्थिक वृद्धिमा भने श्वेतपत्रमा उल्लेख गरे बमोजिमको २ प्रतिशत र पछिल्लो समय अर्थसचिवले गरेको आँकलन (४ प्रतिशत) भन्दा बीचमा रहने उनको अनुमान छ । बाँकी ७ महिनामा सामान्य अवस्थामा विकास खर्च गर्न सकिए ४ प्रतिशतको आर्थिक वृद्धि रहनसक्ने अनुमान गरिएको छ ।
भूकम्पले नेपालमा ७ लाख गरीब थपिएका थिए । हालको परिस्थितिले धेरैको आयआर्जनका बाटा गुमेका छन्, सामान्य अवस्था फर्कन समय लाग्ने भएकाले गरीबको संख्या अभैm थपिने देखिएको छ । बन्दहड्तालले नेपालमा अझ गरीबी बढाउन सघाएको छ । भूकम्प र नाकाबन्दीले यस वर्ष १४ लाखभन्दा बढी जनता गरीब हुने अनुमान छ । बन्दहड्तालले गरीबको संख्या बढाउन थप मद्दत गरेको छ । विषम परिस्थितिका कारण आयआर्जनका साथै आपूर्ति पनि घटेको र बजार मूल्य बढेकाले अर्थतन्त्र महँगो बन्दै गएको अवस्था छ ।
आजको युग अन्तरनिर्भर अर्थतन्त्रको भए पनि हामीले आत्मनिर्भर हुने धेरै क्षेत्र छन् । नेपाल प्रगतिका लागि बृहत् सम्भावना भएको देश हो । कृषिका विविध क्षेत्रमा आत्मनिर्भर हुनसक्ने सम्भावना छ । हाम्रो भूमि यति उब्जाउ छ कि हिमाल, पहाड, तराई जहाँ पनि अनेक वस्तु उत्पादन हुन सक्छ । हिमाली क्षेत्रमा बहुमूल्य जडीबुटी, पहाडी क्षेत्रमा नगदेबाली, विभिन्न प्रजातिका वनस्पति लगाएर लाभ लिन सकिन्छ भने तराई अनाजको भण्डार नै हो । इजरायलले मानिसको जाँगर, प्रविधि र सोचका कारण यूरोपतिर कृषिजन्य उत्पादन निर्यात गरिरहेको छ । प्राकृतिक हावापानीका कारण नेपालमा सबै मौसममा अनेक प्रकारका उत्पादन गर्न सकिन्छ । अन्य देशले गरेजस्तो सोच र इच्छाशक्तिले काम गर्ने हो भने हामीलाई पुगेर पनि निर्यात गर्न सक्छौं । तर, अहिलेसम्म पनि हामीमा त्यस्तो दूरदर्शी दृष्टिकोण र दृढताको कमी रह्यो । केही वर्षअघिसम्म हामी चामल निर्यात गथ्र्यौं, अहिले दिनको रू. १० करोडभन्दा बढीको आयात गर्नुपरेको छ । त्यसकारण अब कृषिलाई व्यवसायीकरण, आधुनिकीकरण गर्नु आवश्यक छ । चिनी उत्पादनको सम्भावना उस्तै छ । विद्युत उत्पादनमा प्रसस्त संभावना छ । त्यसकारण आत्मनिर्भरताको खोक्रो नारामा मात्र दिएर केही हुनेवाला छैन । अहिलेसम्म न राजनीतिक नेतृत्वमा न त प्रशासनिक निकायमा गम्भीरता देखिएन, समस्या यहीँनेर हो ।
कपडा आयात गर्नु परिरहेका बेलामा स्वदेशी उद्योगका उत्पादनले पनि राम्रो बजार लिइरहेको छ । यस उद्योगलाई थप प्रवद्र्धन गर्न केकस्तो वातावरण दिनुपर्ला भन्नेतिर ध्यान छैन । हामी यहाँ धागो उत्पादन गर्छौं । धागो यहाँ नबिकेर टर्की, भारत, बङ्गलादेश निर्यात गर्नुपरेको छ । तर, कपडा उद्योगलाई प्रवद्र्धन गर्नसके वा नयाँ उद्योग थप्ने, भएका उद्योगको गुणस्तर वृद्धि गर्ने हो भने अतिरिक्त मूल्यसहित धागो यही खपत गर्न सकिन्थ्यो ।
राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सकिने अर्को क्षेत्र पर्यटन हो । तर, विदेशी पर्यटकको मात्र भर परेर होइन । आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु आवश्यक छ । भारतको पर्यटन ६० प्रतिशत र चीनको ८० प्रतिशत आन्तरिक पर्यटकले धानेका छन् । त्यसकारण आन्तरिक पर्यटन बढाउन हवाई, बस सेवा शुल्क घटाइदिने, जहाजहरूका लागि अवतरण शुल्क घटाइदिने, बसोवासको राम्रो व्यवस्था गर्नेलगायत सुविधा दिनुपर्छ । वर्षेनि बाह्य पर्यटक भित्र्याउने नारा दिइरहँदा हामीसँग शौचालयसम्म छैन, कतिसम्म लाजमर्दो कुरा । पर्यटक प्रहरी दस्ता बनाइए पनि तिनले पर्यटन प्रवद्र्धनमा खासै काम गरेको देखिँदैन । कैयौं ठाउँमा तिनै प्रहरीबाट पर्यटक सताइएका खबर आउँछ । कही पर्यटकलाई अप्ठ्यारो परे वा कसैले ठगे भने तिनको सुरक्षा गर्ने काम ती प्रहरीको हो । तर, कतिपय ठाउँमा उल्टै ठगहरूको पक्षमा उभिएर पर्यटकलाई नै सास्ती दिने काम तिनले गरेको पनि पाइन्छ । आत्मनिर्भरताका लागि अठोट चाहिन्छ । अठोट भए शुरुआत जहीँबाट पनि गर्न सकिन्छ । कम्तीमा हामी आजैदेखि सकारात्मक सोचका साथ आर्थिक विकासको काम थालनी गरौं । त्यसो हुन सक्यो भने भोलि विकास र आत्मसम्मान दुवै प्राप्त गर्ने छौं । अनि मुलुक समृद्ध बन्ने छ ।
शिवाकोटी झापा उद्योग वाणिज्य संघका
सचिव तथा बिर्तामोडका उपाध्यक्ष हुन ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here