झापा । नेकपा एमाले झापा क्षेत्र नम्बर ५ का निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले आगामी निर्वाचनमा एमालेको जीत राष्ट्रिय आवश्यकता भएको बताएका छन्। बिहीबार दमकमा सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा एमाले केन्द्रीय सदस्यसमेत रहेका दाहालले राष्ट्रियताको संरक्षण, पूर्वाधार विकास र आर्थिक समृद्धिका लागि एमालेले जित्नुपर्ने बताए।
उनले नेकपा एमाले जनताका प्रश्नबाट भाग्ने पार्टी नभएको स्पष्ट पारे। दाहालका अनुसार मतदाताले आफ्ना कुरा उम्मेदवार र पार्टीसँग खुलेर राख्न पाउनुपर्छ र सन्तोषजनक जवाफ खोज्नु उनीहरूको अधिकार हो। त्यसैले एमाले र उसका उम्मेदवारहरू जनतासँग छलफल र संवाद गर्न तयार रहेको उनको भनाइ थियो।
राष्ट्रियताको सवालमा एमाले र अध्यक्ष ओलीले लिएको अडानका कारण देशभर एमाले जनताको पहिलो रोजाइ बनेको दाहालले बताए। नाकाबन्दीविरुद्ध निर्वाह गरेको भूमिका तथा लिपूलेक, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा समेट्ने कामबाट राष्ट्रियताको पक्षमा एमालेभन्दा बलियो पार्टी र ओलीभन्दा अडानको नेता अरू नभएको जनताले बुझेको उनले दाबी गरे।
पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका दाहालले अहिलेको सरकार विकासविरोधी देखिएको बताए। ओली नेतृत्वको सरकारका पालामा बजेटमा समावेश गरिएका महत्वपूर्ण योजनाहरू कटौती र रोक्का गरेर सरकारले विकासविरोधी चरित्र देखाएको उनको आरोप छ।
सुकुमबासीलाई धनीपूर्जा वितरण भइरहेको अवस्थामा आयोग नै विघटन गरिनुले सरकार भूमिहीन तथा सुकुमबासीको विपक्षमा रहेको पुष्टि भएको दाहालले बताए। अदालतको आदेशबाट आयोग पुनःस्थापना भए पनि सरकारको असहयोगका कारण काम अघि बढ्न नसकेको उनको दाबी छ।
काठमाडौंमा सुकुमबासी बस्तीमा डोजर चलाउनेहरूले झापामा आएर सुकुमबासी समस्या समाधान गर्छौं भन्ने कुरा भ्रमपूर्ण रहेको झापाली जनताले बुझिसकेको दाहालले बताए।
एमाले अध्यक्ष ओली पहिलो चरणको भेटघाट सकेर काठमाडौं फर्किसकेको र घोषणा पत्रको तयारी पूरा भएपछि पुनः झापा आउने निर्वाचन प्रचार उपसमितिका संयोजक तथा एमाले केन्द्रीय सदस्य इन्द्र भण्डारीले जानकारी दिए।





























