अर्जुनधारा, अर्जुनधारा नगरपालिका–८ शनिश्चरे बजारस्थित शनिश्चरे माध्यमिक विद्यालयको ७८औँ वार्षिकोत्सव बिहीबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीप्रसाद ओलीको अध्यक्षता रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।
वार्षिकोत्सवको अवसरमा विद्यालय प्राङ्गणमा संस्थापक प्रधानाध्यापक शिवप्रसाद दाहालको अर्धकदको शालिक निर्माण गर्ने एसएलसी ब्याच–२०४७, विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने एसएलसी ब्याच–२०६९, शैक्षिक अध्ययन अवलोकन भ्रमणमा सहयोग गर्ने दातृ संस्था जुकेखाडी सामुदायिक वन उपभोक्ता समूह, शान्ति सामुदायिक वन उपभोक्ता समूह तथा विभिन्न दाताहरुलाई सम्मान गरिएको थियो ।
त्यसैगरी विद्यालयमा अक्षयकोष दाताहरुबाट स्थापना गरिएका विभिन्न पुरस्कारमार्फत जम्मा २४ जना विद्यार्थी पुरस्कृत भएका थिए । हरिविलास वन स्मृति पुरस्कार, लोकनाथ–हेमकला वृत्ति पुरस्कार, रुद्र तोरण स्मृति पुरस्कार, खगेन्द्र–विभा वृत्ति पुरस्कार, विष्णु–सेमन्ता श्रेष्ठ स्मृति पुरस्कार, दुबसु विद्या पुरस्कार–२०८१, २०४७ ब्याच समूहद्वारा स्थापित मोहन जोशी स्मृति पुरस्कार तथा कक्षा–१२ का नगर उत्कृष्ट र विद्यालय उत्कृष्ट पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा हालै सम्पन्न नगरस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरुलाई क्रमशः दुई हजार, एक हजार पाँच सय र एक हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो । शनिश्चरे मावि लगातार तीन पटक राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा नगर च्याम्पियन बन्न सफल भएको विद्यालय हो ।
यस वर्षको उत्कृष्ट शिक्षक पुरस्कारबाट शिक्षक चम्पा प्याकुरेललाई सम्मानपत्र, नगद पुरस्कार, मायाको चिनो तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक विनोदकुमार गौतमले विद्यालयको भावी रणनीतिसहित शैक्षिक तथा व्यवस्थापकीय पक्ष समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले पीटी प्रदर्शन, राष्ट्रिय सेवा दल शनिश्चरे माध्यमिक विद्यालयको एरोबिक्स प्रदर्शन, गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष डिल्ली राम दाहाललगायतले मन्तव्य राखेको कार्यक्रममा अर्जुनधारा–९ का वडाध्यक्ष भीष्म मिश्र, अर्जुनधारा नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक कौशिलाल परियार, नगर सभा सदस्यद्वय सरु बुढाथोकी र हरिबहादुर कटुवाल, अक्षयकोष दाताहरु किरण वन, खगेन्द्र ढकाल, पुष्प ओझा, लवकुश गिरी, लोकनाथ पौडेल, चित्रकला पौडेललगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक रुद्र खतिवडाले स्वागत मन्तव्य राखेका थिए भने शिक्षक जीवन धितालले स्वागत गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक कपिलदेव तिम्सिनाले गरेका थिए ।





























