झापाको बिर्तामोड पूर्वी नेपालको स्वास्थ्य सेवाको मुख्य गन्तव्य बन्दै गएको छ । निजी क्षेत्रका उद्यमीहरुको अग्रसरता र सेवाले झापा मात्र होइन पूर्वी पहाडी जिल्लाहरु र अझ भारतकै सेवाग्राहीहरु समेतलाई आकर्षित गरेको छ । त्यसो त बिर्तामोड झापाको नयाँ मध्येको एक शहर उन्मुख क्षेत्र हो । तत्कालीन अनारमनीको नाम बदलेर अहिले बिर्तामोडका नाममा परिचय बनाएको बिर्तामोड स्वास्थ्यभन्दा अघि शिक्षाको हब बनिएको थियो । प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मको अध्ययन–अध्यापन हुने बिर्तामोडमा पछिल्लो समय खुलेका निजी तथा सामुदायिक अस्पतालले विशेषज्ञ सेवा प्रदान गरेर देशलाई आवश्यक पर्ने स्वास्थ्य सेवाको पहुँच सुलभ र सरल बनाएको छ ।

झापाको बिर्तामोडलाई केन्द्र बनाएर यहाँ कार्यरत चिकित्सकहरु र नेपाल अर्थोपेडिक एशोसिएशनको ३१औं वार्षिक साधारणसभा सञ्चालन भएको छ । बिहीबार बिर्तामोडका तीनवटा अस्पतालमा प्रिकन्फरेन्स वर्कसप र फागनु १, २, ३ गते अन्तर्राष्ट्रिय सेमिनार गरिने आयोजक समितिले जनाएको छ । देश–विदेशका गरी पाँच सयभन्दा बढी हाडजोर्नी विशेषज्ञहरुको सहभागिता रहने आयोजक समितिका अध्यक्ष डा. लक्ष्मी मैनालीले बताएका छन् । अर्थोकन महाकुम्भ मानिएको अर्थोकन सेम्मलनमा भारत, भुटान, बंगलादेश, अमेरिका, बेलायत, चीन, हङकङ, थाइलेण्ड, इन्डोनेसियाका हाडजोर्नी विशेषज्ञहरुको समेत सहभागिता हुने कारणले यसलाई हाडजोर्नी उपचारको महाकुम्भ भनिएको छ ।
विगतमा उपचारका लागि भारतको शिलगढी पुग्नै पर्ने झापालीको बाध्यता थियो । तर, अहिले चिकित्सा शिक्षा समेतको पढाइ हुने बीएण्डसी मेडिकल कलेज लगायत पूर्वाञ्चल क्यान्सर अस्पताल, पूर्ण–टुङ्ग बिर्तासिटी अस्पताल जस्ता विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालहरु सञ्चालनमा छन् । त्यस्तै आँखा, दाँत लगायत हाडजोर्नीको विशेषज्ञ र विशिष्ट सेवा दिने अस्पताल पनि बिर्तामोडमै छन् जसले विदेशी सेवाग्राहीलाई समेत सेवा दिइरहेका छन् । यहाँका अस्पतालहरुमा बढ्दो बिरामीको चापले स्वास्थ्य सेवाको विश्वसनीयताको चित्र देखाएको छ ।
स्वास्थ्य सेवाको विकासको क्रममा प्रारम्भ भएको अन्तर्राष्ट्रिय स्तरको अर्थोकन सम्मेलनले सेवा, विज्ञता, कुशलता र प्रविधि सम्बन्धी अनुभव आदान–प्रदान गर्नेछ । हाडजोर्नी उपचारका क्षेत्रमा आएका नवीनतम् प्रविधि र उपचार पद्धतिको साटासाटले हाडजोर्नी सम्बन्धी उपचारमा नयाँ आयाम थपिने अपेक्षा गर्न सकिन्छ । यस्तो सम्मेलनले स्वास्थ्य पर्यटनको गन्तव्य बनाउन समेत मद्दत पुग्ने आयोजकको विश्वास छ । यस्तो सम्मेलनबाट बिर्तामोड र झापा जिल्ला दक्षिण एशियाकै महŒवपूर्ण स्वास्थ्य केन्द्र बन्न सक्नेछ । यो सम्मेलनको पूर्ण सफलताको कामनासहित गुणस्तरीय र विश्वसनीय सेवाको अपेक्षा गर्दछौं ।




























