योगेन्द्र योगी
सुन्दरहरैँचा (मोरङ),

शिक्षाको उज्यालोले भविष्य बदलिन्छ भन्ने विश्वासलाई जीवन्त बनाउँदै सुन्दरहरैँचा नगरपालिकाले पहिलोपटक ‘ज्ञान र सिपको उत्सव, सुन्दरहरैँचा शैक्षिक महोत्सव २०८२’ आयोजना गर्ने भएको छ।
नगर प्रवक्ता तथा वडा नं. १२ का अध्यक्ष रोशन प्रसाद ढकालका अनुसार फागुन ४, ५ र ६ गते हुने यो महोत्सव केवल कार्यक्रम मात्र नभई हजारौँ विद्यार्थीका सपना, चाहना र सम्भावनाको साझा मञ्च बन्नेछ।
महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ले गर्नेछन्। बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चल्ने प्रदर्शनीमा बालमनको प्रतिभा, सिर्जनशीलता र मेहनत झल्किने विश्वास गरिएको छ।
नगरभित्रका ८७ विद्यालयका करिब ३६ हजार विद्यार्थी सहभागी हुने अनुमान गरिएको छ भने तीन दिनमा करिब १ लाख ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ। प्रदर्शनी मूल समारोह समितिका संयोजक तथा नगरप्रमुख केदारप्रसाद गुरागाईं ले भावुक हुँदै भने, “यो महोत्सव हाम्रो भावी पुस्ताको आत्मविश्वास र क्षमताको उत्सव हो, जहाँ उनीहरूले आफ्नो प्रतिभा संसारसामु देखाउने अवसर पाउनेछन्।”
शिक्षा शाखा प्रमुख तेज आचार्यका अनुसार भाषा, साहित्य, विज्ञान, प्रविधि, गणितदेखि वातावरण, स्वास्थ्य, पोषण र व्यावसायिक सिपसम्मका विविध विषयगत प्रदर्शनीले महोत्सवलाई ज्ञानको रंगशाला बनाउनेछन्। सफल व्यक्तित्वहरूसँग हुने प्यानल छलफलले विद्यार्थीलाई प्रेरणाको ज्योति दिने अपेक्षा गरिएको छ।
कार्यक्रम औद्योगिक प्रदर्शनी केन्द्र मा हुनेछ, जहाँ अहिले उत्साह, तयारी र आशाले वातावरण नै उज्यालो बनाएको छ। नगरपालिकाका अनुसार विभिन्न समिति र उपसमिति सक्रिय भएर जुटेका छन्—किनकि यो केवल महोत्सव होइन, एउटा पुस्ताको भविष्यप्रतिको विश्वासको उत्सव हो।































