झापा ।

झापाको १२ ठाउँमा नेपाली सेनाको बम डिस्पोजल टोली तैनाथ गरिने भएको छ । फागुन २१ गतेको निर्वाचनमा आपराधिक तत्त्वहरूबाट हुन सक्ने अपराध रोक्नका लागि पूर्व तयारीस्वरुप जिल्लाको १२ ठाउँमा सेनाको बम डिस्पोजल टोली तैनाथ गरिने भएको हो ।
हाल जिल्लाका विभिन्न ६ ठाउँमा बम डिस्पोजल टोली तैनाथ भइसकेको र निर्वाचनको संघारमा अन्य ६ ठाउँमा बम डिस्पोजल टोली राखिने सुरक्षा स्रोतले जनाएको छ । संवेदनशील मानिएको चन्द्रगढी विमानस्थल र झापा कारागारमा बिहीबारदेखि नै सेना परिचालन गरिएको छ । विमानस्थल र कारागारमा एक–एकवटा नफ्री परिचालन गरिएको अरिदमन गणले जनाएको छ ।
त्यस्तै माघ २१ गतेदेखि सेनाले पैदल , सवारी साधनमार्फत र संयुक्तरुपमा गस्ती सञ्चालन गरिरहेको छ । निर्वाचनको एक महिना अघिदेखि जिल्लाको चार ठाउँमा कम्पनी अपरेटिङ बेस (सीओबी) खडा गरी सुरक्षा प्रदान गरिरहेको छ ।
मेजरको कमान्डमा झापा क्षेत्र नं ५ को सुरक्षाका लागि दमकमा , झापा ४ को लागि सुरुङ्गामा , झापा ३ को लागि चन्द्रगढीमा सीओबी खडा गरिएको हो भने झापा १ र झापा २ को लागि अरिदमन गणबाटै सुरक्षा प्रदान भइरहेको छ ।
त्यसबाहेक जिल्लाको १६ ठाउँमा पोस्ट अपरेटिङ बेस (पीओबी) खडा गरिदैछ । जिल्लाका हरेक मतदान केन्द्रमा २० मिनेटभित्र पुग्ने गरी फौजलाई परिचालन गरिएको अरिदमन गणका प्रमुख सेनानी सरोज थापाले बताए ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदान स्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदान स्थलको तीन तहमा वर्गीकरण गरेको छ । जिल्लाका ९५ वटा मतदान स्थललाई अतिसंवेदनशीलका रुपमा राखिएको छ । जिल्लामा रहेका २८५ मतदानस्थलमध्ये १४७ संवेदनशील र ४३ वटा मतदानस्थल सामान्य रहेका छन् । जिल्लामा ८१५ वटा मतदान केन्द्र छन् ।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि करिब ८ सय सेना परिचालन गरिएको छ । चारआलीस्थित अरिदमन गणबाट ६ सय र २१ नं बाहिनी तोपगाछीबाट २ सय फौज परिचालन गरिएको छ ।




























