धर्मको उदय गराउने उत्सब

0
3

आज महाशिवरात्रि । वैदिक सनातन हिन्दू धर्मका प्रमुख पर्वहरु मध्येको एउटा ठूलो पर्व हो– शिवरात्रि । भगवान शिवको उत्पत्ति भएको दिन मानिने आजको रात्रि हाम्रा प्रमुख चार रात्रिमध्ये एउटा हो र आजको दिनलाई पवित्र पर्वका रुपमा हिन्दू ग्रन्थहरुमा वर्णन गरिएको छ । फागुन महिनाको कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रिलाई पृथ्वीका सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरुको हृदयमा सत्कर्म र धर्मको उदय गराउने भगवान शिवको प्रिय दिनका रुपमा लिइन्छ । आजको दिन वैदिक संस्कृति र हिन्दू धर्म मान्नेहरुले दिनभरी भगवानको पूजा गरी राति जाग्राम बसेर उनकै आराधना गर्छन् ।

महिलाहरुले महाशिवरात्रि पर्व विशेष र धुमधामका साथ मनाउँछन् । दिनभर निराहार बस्दै शिवालयहरुमा जल र बेलपत्र अर्पण गरेर भगवान शिवको प्रार्थना गर्छन् । भगवान शिवको उत्पत्ति र विवाह भएको हर्षमा मनाइने यो पर्वको बेग्लै महत्व छ । दिनभर ब्रत बसेर रातभर जाग्राम बसेर भगवान शिवको पूजा–आराधना गरे शिवजी प्रशन्न हुन्छन् भन्ने जनविश्वास छ । यसो गर्नाले शिवजी प्रशन्न हुने र आफूलाई अन्जानमा गरिएका पाप कर्मको फलबाट मोक्ष प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ ।

भगवान शिव संहार शक्तिका अधिष्ठातृ हुन् । संहार शक्ति सत्व, रज र तम गुणभन्दा माथि छन् । त्यसैले उनलाई अन्धकारको रात्रि प्रिय लाग्छ भनिन्छ । त्यही कारण फागुनको कृष्ण त्रयोदशी र चतुर्दशीको सन्धि हुने रात्रिलाई महाशिवरात्रिमा शान्ति, प्रकाश र समृद्धिको कामना गर्दै भगवान शिवको उपासना गर्ने विधान बनेको शास्त्रीय मान्यता छ । आजको दिन राजधानीस्थित पशुपतिनाथ मन्दिरमा हजारौं विवाहित महिलाहरु बिहानैदेखि भगवान शिवको दर्शन तथा पूजाआराधना गर्न लाम्बद्ध हुन्छन् । आफ्ना पति, सन्तान र परिवारको मंगल कामना गर्दै भगवान शिवको आराधना गर्छन् भने अविवाहितले असल पतिको कामना गर्दै ब्रत बस्ने गर्छन् ।

शिवको अर्थ कल्याण हो । सम्पूर्ण जगतको कल्याणका लागि भगवान शिवले समुद्रमन्थन गर्दा निस्किएको कालकुट विष सेवन गरेको धार्मिक कथन छ । देवताहरुका समेत देवता भगवान शिवको विशेष दिन देशभरका शिवालयहरुमा दर्शनार्थीहरुको भीड रहन्छ । पशुपतिनाथ समेत भनिने भगवान शिवको दर्शन मात्रले हामीभित्रको पशुत्वभावको अन्त्य हुन्छ । तिनै पशुपतिनाथको कृपाबाट सुरक्षित हामीलाई आजको संकटबाट मुक्त हुन पनि उहाँकै कृपा अनिवार्य छ । आजको दिनले धर्मान्तरणको चपेटाबाट रक्षा गर्ने सामथ्र्य पनि दिओस्– महाशिवरात्रिको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here