‘लापसे’ दुर्घटनाको कारक नहोस्

0
2

लागूपदार्थ सेवन सवारी दुर्घटनाको प्रमुख कारक बन्दै गएको सन्दर्भमा ट्राफिक प्रहरीले नयाँ रणनीति प्रयोग गर्न थालेको छ । मादक पदार्थ सेवन गरे/नगरेको परीक्षण हुन थालेपछि प्रयोगकर्ताहरु लापसे अर्थात् लागूपदार्थ सेवन गर्न लागेका कारण पछिल्लो समय सवारी दुर्घटना पनि बढ्दै गएको प्रहरीको तथ्यांक छ । लापसे गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम मापसेबाट भन्दा बढी अर्थात् उच्च रहेको ट्राफिक प्रहरीको भनाइ छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा चालकले आफ्नो गति र सडक क्षेत्रको अवस्था बारे होस पु¥याउन सक्दैन र दुर्घटना हुने र बढ्ने गरेको तथ्यांकले पनि देखाएको छ ।

लागूपदार्थ सेवन दुर्घटना बढाउने कारकतत्व मध्येको प्रमुख हो । यसबाट चालकको सोच्ने र निर्णय लिने क्षमतामा गम्भीर असर पर्छ । त्यस्तै लापसेको नशामा चालकले आफूले चलाएको सवारीको गति सन्तुलनमा राख्न सक्दैन जसका कारण गति अनियन्त्रित भई दुर्घटना हुनसक्छ । लापसेले गर्दा चालकको ध्यान सवारी र आफ्नो जिम्मेवारीबाट अलग हुन्छ । सडक नियमको पालना गर्न सक्दैन र दुर्घटनाको जोखिम बढ्छ । लापसेले निर्णय क्षमता कमजोर बनाउँछ र सवारी दुर्घटना हुन्छ । विगतमा भएका दुर्घटनाको अनुसन्धान गरेका र सवारी दुर्घटना न्यूनीकरणको प्रयास गरिरहेको ट्राफिक प्रहरीको अध्ययन अनुसार पछिल्ला दुर्घटनामा लापसे नै प्रमुख कारण रहेको तथ्यांकले देखाएको कोशी प्रदेश प्रहरी कार्यालयले समेत उल्लेख गरेको छ ।

सडक दुर्घटना अहिले विश्वका धेरै देशहरुको ठूलो र साझा समस्याका रुपमा देखा परेको छ । त्यसमा पनि कम विकसित देशमा विकसित देशको तुलनामा बढी दुर्घटना हुने गरेको विभिन्न तथ्यांकले देखाएको छ । यस्ता दुर्घटनामा निम्न आय भएका मानिस र महिलाको तुलनामा बढी पुरुषहरु प्रभावित हुने गरेका छन् । सवारी दुर्घटना बढेसँगै मापसे परीक्षण गर्न थालेको ट्राफिक प्रहरीलाई नयाँ चुनौती थपिएको छ । प्रहरीको कडाइपछि मापसे गरी सवारी चलाउने प्रवृत्ति त घट्यो तर दुर्घटनाको श्रृंखला रोकिएन । यसले चालकको प्रवृत्ति लापसेको नयाँ लत बसेको तथ्यांक र परीक्षणले देखाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले पनि लापसेको प्रवृत्ति बढेको जनाएको छ । भारतसँग सीमाना जोडिएका झापाका विभिन्न नाकाबाट भारत जाने र लापसे गरेर फर्किने गरेको लापसे चेकजाँचका क्रममा फेला परेको ट्राफिक प्रहरीको भनाइ छ । लापसे परीक्षणका लागि आवश्यक उपकरणको कमीका कारण सबै नाकामा नियमित चेकजाँच नहुँदा यस्तो प्रवृत्ति बढेर जानु चिन्ताको विषय हो । यसै पनि खुल्ला सीमाका कारण झापा लागूपदार्थको ओसारपसार, कारोबार र सेवनको उच्च जोखिममा छ, त्यसमा पनि परीक्षण गर्ने पर्याप्त स्रोत र साधन नहुँदा जीवनसँगै देशकै भविष्य असुरक्षित छ । यद्यपि झापा प्रहरी प्रमुख बसुन्धरा खड्काले चेकजाँचलाई कडाइ गर्ने बताएकी छन् । तथापि दीर्घकालीन योजना बिना नियन्त्रण कठिन हुन्छ । त्यसले दुर्घटनाका अन्य कारण सडकको अवस्था लगायतका विषयलाई समेत ध्यानमा राखी सुधारका उपाय अपनाउन ढिला गर्नुहुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here