जसले सटिक एजेन्डा सुनाउँछ उसैले चुनाव जित्छ

0
7

फागुन २१ को आम निर्वाचन नजिकिँदैछ । गाउँघर, शहर बजारमा चुनावी रौनक बढिसकेको छ । राजनीतिक पार्टीका नेताहरु मतदाता भेट्ने अभियानमा निस्किएका छन् । मतदाताहरु पनि चाखपूर्वक अवलोकन गरिरहेका छन् । यसपालीको चुनाव अलि भिन्न प्रकृतिको छ । पुराना दलहरु र नयाँदलहरु बीच घमासान प्रतिस्पर्धा हुनेवाला छ । पुरानाका लागि पुरानै बिरासत जोगाउनु पर्नेछ भने नयाँले संसद र सत्तायात्राको औचित्य पुष्टि गर्नुछ । यस अर्थमा यी पुराना र नयाँले खास एजेन्डा मतदाताका अगाडि राखेका देखिएका छैनन् । पुरानालाई पुराना या अनुभवी भएकै कारणमात्र भोट दिनुपर्ने हो ? र नयाँलाई नयाँ भएकै कारण भोट दिनु पर्ने हो ? जनता रनभुल्लमा परेका छन् ।

खोइ त भिजन तथा योजनाहरु ?

कसैले पनि अहिलेसम्म चुनावी घोषणापत्र सार्वजनिक गरेका छैनन् किन होला ? के पार्टीहरुमा देशका लागि राम्रो योजना बनाउन सक्ने नेता, विज्ञ या जनशक्तिहरु छैनन् ? एक वर्षमा नेपाललाई कस्तो उचाईमा पु¥याउने ? तीन, पाँच, दश, पन्ध्र र पच्चीस वर्षमा देशलाई कुन देश जस्तो स्तरमा पु¥याउने ? र पचास र सय वर्षमा नेपाल कस्तो बन्छ यस्ता भिजन, मिसन, गोल, उद्देश्य, लक्ष्य र रणनीति रचना गर्न सक्ने नेपालका पार्टीहरुमा अनिकाल परेकै हो त ? नेताहरुले व्यक्तिगत धारणा भने राखेका पाइन्छन्, तर व्यक्तिगत धारणाले देश विकास हुँदैन पार्टीगत योजनाहरु चाहिन्छन् जसलाई सबैले अपनत्व महशुस गरेको हुनु पर्दछ ।

कान पकाउने एजेन्डा ?

एजेन्डा त कान पाक्ने गरी २००७ साल अघिदेखि नै सुन्दै आएका छन् नेपालीहरुले । सायद ती एजेन्डाहरुले काम नगरेर नै होला पञ्चायत शासन ढलेको । २०४८ पछिका एजेन्डाले पनि त्यति राम्रो काम गरेन होला र नै २०६२÷०६३ मा परिवर्तन भयो । यो परिवर्तनपछिको एजेन्डाले पनि काम गरेन होला र नै २०८२ मा जेन–जी आन्दोलन भएको होला । यी परिदृष्यले के जनाउदछ भने नेपाली राजनीतिक दल तथा तीनका नेताहरु नेपाल र विश्वको परिवेश सुहाउँदो एजेन्डा डिजाइन गर्न जान्दैनन् । तर, देशमा परिवर्तन र उपलब्धी नभएका भने होइनन् । केवल समयानुकल तथा विश्वको रफ्तार अनुसार भएन अर्थात् नयाँ–नयाँ पुस्ताहरुका शिक्षा, ज्ञान, सीप, प्रतिभा, बुद्धिमत्ता, सोच, आकांक्षा र रफ्तार अनुसार उपलब्धी भएनन् । पर्याप्त रोजगारीका अवसरहरु सिर्जना भएनन् । आम्दानीका स्रोतहरु भएनन् । परिणाम स्वरुप नयाँ पुस्ताहरु विदेशिन बाध्य भएका छन् र आन्दोलित भएका छन् ।

के नयाँले सटिक एजेन्डा ल्याउलान् त ?

नयाँ भनेर टड्कारो रुपमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म आफ्नो आधिकारिक एजेन्डा सार्वजनिक गरेको छैन । आसन्न निर्वाचनका एक उम्मेदवारले भने हाम्रा एजेन्डा अरुले कपी गर्लान् भनेर एजेन्डा नभनेको । पार्टीका एक वरिष्ठ नेताले चाहिँ भने गरीबका छोराछोरीले निःशुल्क पढ्न पाउनुपर्छ र पैसा हुनेले व्यापार गर्न पाउनुपर्छ । यो कुन नयाँ एजेन्डा भयो र ? यो काम त धेरै पहिलेदेखि नै भइआएकै छन् । नयाँ पुस्ता हा हा हु हु गर्दै फुर्किएर निर्वाचनमा होमिएका देखिन्छन् । उनीहरुले पनि समयानुकूल एजेन्डा डिजाइन गर्लान् जस्तो छैन ।

बरु उज्यालो नेपाल पार्टीले भने जलविद्युत विकासका माध्यमबाट देशमा प्रचुर मात्रा धन आर्जन गर्न सकिन्छ र त्यो धन देशको विकास र सामाजिक क्षेत्र जनकल्याणका लागि खर्च गरी जनतालाई खुशी र सुखी बनाउन सकिन्छ भन्ने भिजन सुनाइसकेको छ । यसका साथै देशका वन पैदावार नदीजन्य लगायतका ढुंगा बालुवा गिटी निर्यात गरी प्रचुर धन आर्जन गर्न सकिने योजना सुनाएको छ । त्यसैगरी श्रम संस्कृति पार्टीले श्रम गरेर देश बनाउने एजेन्डा सुनाएको मात्र होइन प्रयोगात्मक काम गरेर देखाइ नै दिइसकेको छ । पुराना ठूला पार्टीका एजेन्डाहरु प्रष्टरुपमा आएका छैनन् । जुन सुनाइँदैछन् ती सरदर खालका छन् । ट्रिगरिङ, एक्सन ओरिन्टेड र मच मनीअर्निङ् गर्ने टाइपको एजेन्डा चाहिन्छ भावी दिनका लागि ।

नयाँ एजेन्डा यस्तो हुनुपर्दछ :

नयाँ एजेन्डा निर्यातमुखी हुनुपर्दछ । सबैजसो सरोकारवालाहरुले भन्ने गर्छन् कि, योजना र बजेटहरु उत्पादनसँग जोडिनु पर्दछ, तर कसैले पनि उत्पादनलाई निर्यातसँग जोड्नुपर्छ भनेको सुनिँदैन । नेपालीहरुको सोचको परिधी निकै नै कमजोर छ । उत्पादनलाई निर्यातसँग जोड्न सक्यो भने मात्र देशमा खर्चभन्दा आम्दानी बढी हुनसक्छ, आयातभन्दा निर्यातको रेसियो बढी हुनसक्छ, देशमा धन बचत हुन्छ र जनतालाई सुविधाहरु थप गर्न सकिन्छ ।

जसरी भारत, चीन, जापान, अमेरिका तथा युरोप लगायत विकसित देशहरुले उत्पादनलाई निर्यातसँग जोडेर धन आर्जन गर्दछन् र जनतालाई सामाजिक सुविधा दिन्छन् । भारतमा किसानहरुलाई सरकारले अनुदान दिन्छ । अनुदान कृषिकै आम्दानीबाट मात्र नभएर औद्योगिक उत्पादन निर्यातबाट गरिएको आम्दानीबाट किसानलाई सहयोग गरिन्छ । तसर्थः नेपालमा पनि एजेन्डा निर्यात केन्द्रित हुनुपर्दछ ।

उत्पादन भन्नाले भौतिक सामग्री मात्र होइनन् :

आजको जमाना कम्प्यूटिङ्ग, कोडिङ्ग, एल्गोरिदम, एआई र प्रबिधि आबिष्कार र विकास हो । नेपालबाट कम्प्यूटर सफ्टवेयर र एप्स् निर्यातबाट वर्षेनि छब्बीस अर्बभन्दा धेरै धन आर्जन गरिरहेको समाचार पढ्न पाइन्छ । यो धेरै खुशीको उपलब्धी हो । त्यसैले उत्पादन भनेका बुद्धिमत्ता (इन्टेलिजेन्स्) पनि हुन् । अमेरिका, चीन, दक्षिण कोरिया र ताइवानले बुद्धिमत्ता (इन्टेलिजेन्स्) निर्यात गरेर धन आर्जन गर्दछन् ।

नेपालले रेअर अर्थ र सेमिकन्डक्टरको क्षेत्रमा पनि काम गर्नुपर्दछ :

नेपालले विभिन्न खानी, रेअर अर्थ, सेमिकन्डक्टर, सिलिकन माइक्रोचिप्स्, सफ्टवेयर, एप्स् र इन्फरमेसन टेक्नोलोजीको क्षेत्रमा पनि काम गर्नुपर्दछ । जसले गर्दा प्रबिधिमा प्रतिभावान युवाहरुलाई प्रचुर रोजगारी प्राप्त हुनेछ । युवाहरु विदेश जान पर्दैन । यो क्षेत्रलाई नेपाली राजनीतिक पार्टीहरु र अबका सरकारहरुले प्राथमिकतामा राख्नु निक्कै जरुरी देखिएको छ । यी क्षेत्र नेपाललाई रफ्तारमा कुदाउने डूाइभिङ फ्याक्टर हुनसक्छन् ।

नेपालीपनका उत्पादन :

नेपालले घरेलु, कुटीर उद्योगबाट उत्पादन हुने नेपालीपनका उत्पादनहरु निर्यात गर्नुपर्दछ । ठूला उद्योगहरुले आर्थिक सम्पन्न औद्योगिक घराना र विदेशी लगानी समेट्छ । नेपालीपन भन्नाले चाहिँ खनिज पदार्थ, जडिबुटी, चिया, अलैँची, फलफूल, अन्न, रुद्राक्ष, बुद्धचित्त, तितेपाती, चिरैतो, लोक्ता, सुपारी, हातबुना कपडाहरु अनि काष्ठकला, हस्तकला, धातुकला, वास्तुकला आदि हुन सक्छन् । जसलाई हामी नेपाली शैली र सीपयुक्त आम्दानीका परम्परागत किसिमका स्रोत भन्न सक्दछौँ । जसले तराईदेखि पहाड र हिमाली क्षेत्रका मध्यम र निम्न वर्ग नेपालीहरुलाई आर्थिक टेवा पुग्नेछ र धन ग्रामीण क्षेत्रसम्म पुग्न सक्दछ । साथै पर्यटन क्षेत्रलाई रिडिजाइन गरेर यसका आम्दानीका स्रोतहरुलाई विविधिकरणसहित प्रोत्साहित गर्नु पर्दछ । अनि मात्र नेपाललाई स्वीटजरल्याण्ड जस्तो स्तरमा उकास्न मद्दत पुग्दछ ।

प्रभावकारी एजेन्डाको अभाव जेन–जी आन्दोलनको रहस्य :

सरकारहरुले वैदेशिक अनुदान तथा ऋणसहित वर्षेनी एक खर्बका दरले वार्षिक बजेट बढाउँदै आएको देखिन्छ । बीचैमा ऋण थपिएको पनि पाइन्छ जसले गर्दा ३० खर्ब नजिक देशलाई ऋणमा पारिसकिएको अवस्था छ । देशले निर्यात बढाएन र नाफा आर्जन गरेन भने ऋण लिने क्रम बढ्दै जान सक्छ । जसलाई देशले धान्न नसक्ने हुनसक्छ ।

अर्को तर्फ भ्रष्टाचार चुलियो । यस्तो अवस्थामा सुधार ल्याउने योजनाहरु चाहिएको छ हाम्रो देशमा तर कुनै पनि पार्टी तथा नेताहरुले यसतर्फ विशेष ध्यान दिएका पाइँदैनन् । मात्र पार्टी र नेताका अस्तित्व जोगाउने बिजिनेशमा समय खेर गइरहेको छ । यसले देशको आर्थिक प्रगति हुने छैन । जब आर्थिक प्रगति हुँदैन देशको स्तर पनि बढ्दैन । अनि जहिल्यै छिमेकी र टाढाका शक्तिराष्ट्रहरुको हेपाइमा परिरहनु पर्दछ । जेन–जी आन्दोलनको गर्भ या रहस्य यही हो । यी सब किन भयो ? प्रमुख कारण, बिगतमा प्रभावकारी एजेन्डा तय गर्न नजान्दा यो दुर्घटना भएको हो ।

निर्वाचन अयोगद्वारा घोषणापत्र आह्वान :

निर्बाचन आयोगले फागुन ३ गतेसम्ममा निर्वाचनमा भाग लिइरहेका राजनीतिक पार्टीहरुलाई आफ्ना घोषणापत्र पेश गर्न निर्देशन दिएको समाचार पढ्न पाइएको छ । तसर्थः निर्वाचनका प्रतिस्पर्धी राजनीतिक पार्टीहरुले माथि सुझाइएका आयामहरुलाई पनि आफ्ना धोषणापत्रमा अंकित गर्नु समयसापेक्ष र नयाँ पुस्ताको चाहना अनुरुप हुनेछ । आशा गरौँ पार्टीहरु र तीनका नेताहरुले अझ राम्रा, देश र युग सुहाउँदो प्रणाली, रणनीतिसहितका एजेन्डा तय गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here