झापा ।

गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको हतियारसहित गोली प्रहरीले बरामद गरेको छ ।
जेनजी आन्दोलनका क्रममा लुटिएको पेस्तोलसहित म्याग्जिन र गोली बरामद गरिएको हो । विशेष सूचनाका आधारमा झापा कनकाई नगरपालिका–८ मिश्रा टोलस्थित तुल बहादुर थापा मगरको घरमा लागूऔषध तथा अवैध हातहतियार लुकाई राखिएको भन्ने जानकारीपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठको कमाण्डमा खटिएको टोली र लागूऔषध ब्युरो काकभिट्टाबाट खटिएको प्रहरीको संयुक्त टोलीले खानतलासी गरेको थियो।
खानतलासीका क्रममा तुल बहादुरका २२ वर्षीय छोरा सौगात थापा मगरले घर पछाडि रहेको कुखुराको खोरमा प्लास्टिकको ड्रमभित्र लुकाई राखेको सीएफ ९८९ एमएम पेस्तोल एक थान, सोही पेस्तोलको गोली ४० राउण्ड र म्याग्जिन एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अनुसन्धानका क्रममा उक्त पेस्तोल, म्याग्जिन र ४० राउण्ड गोली गत भाद्र २४ गते जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको पुष्टि भएको प्रहरीले जनाएको छ।
हातहतियार लुटपाट घटनामा संलग्न रहेको आरोपमा कन्काई नगरपालिका–८ बस्ने २२ वर्षीय सुजय राजवंशीलाई नियन्त्रणमा लिइएको छ। उनीमाथि मुलुकी अपराध संहिता, २०७४ बमोजिम अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।































