प्रेम जालमा पारेर यौन शोषण, तनाव झेल्न नसकेर आत्महत्या !

0
1
  • आत्महत्या दुरुत्साहन आरोपमा काठमाडौंबाट प्रधान पक्राउ

झापा, प्रेमको नाममा यौन शोषण तथा मानसिक दबाबका कारण झापाकी एक युवतीले आत्महत्या गरेको घटनामा संलग्न रहेको आरोपमा एक युवालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

बिर्तामोडस्थित इन्द्रेणी क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत कचनकवल गाउँपालिका–३ की २१ वर्षीया अस्मिता देवानले गत मंसीरमा विष सेवन गरी आत्महत्या गरेकी थिइन् । उपचारका क्रममा मंसीर ९ गते बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उनको मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार आत्महत्या दुरुत्साहन गरेको आरोपमा मेचीनगर नगरपालिकास्थित धाइजनका २८ वर्षीय रवीन प्रधानलाई काठमाडौंबाट पक्राउ गरी झापा ल्याइएको छ । उनलाई हाल इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार मृतक देवानले मंसीर ७ गते विष सेवन गरेकी थिइन् । प्रारम्भिक अनुसन्धानमा उनको आत्महत्यापछि भेटिएको सुसाइड नोट, मोबाइलमा भएको संवाद तथा परिवारको जाहेरीका आधारमा प्रधानमाथि आत्महत्या दुरुत्साहनको आरोप लागेको हो ।

मृतकका आफन्तका अनुसार प्रधान कचनकवलस्थित एक विद्यालयमा शिक्षकका रूपमा कार्यरत रहँदा देवानसँग चिनजान भएको थियो । सोही क्रममा उनले प्रेम सम्बन्ध स्थापना गरी पटक–पटक यौन शोषण गरेको आरोप परिवारले लगाएको छ ।

मृतककी आफन्त कुमारी हेम्ब्या राईका अनुसार अस्मिता प्लस–टू अध्ययनपछि विराटनगरमा बसेर उच्च शिक्षा अध्ययन गरिरहेकी थिइन् । त्यही अवधिमा प्रधानसँग उनको सम्बन्ध गहिरिएको र पटक–पटक यौन शोषण भएको परिवारले दाबी गरेको छ ।

“हामीलाई छोरी डिप्रेसनमा रहेको मात्र थाहा थियो । तर आत्महत्या गरेपछि फेला परेको सुसाइड नोट र मोबाइलमा भएका संवाद हेर्दा प्रेमको नाममा यौन शोषण र मानसिक दबाब सहन नसकेर उनले आत्महत्या गरेको स्पष्ट भयो,” राईले भनिन् ।
परिवारका अनुसार यौन सम्बन्धका क्रममा बनाइएको भिडियो तथा त्यससम्बन्धी धम्कीका कारण अस्मिता गम्भीर मानसिक तनावमा परेकी थिइन्। “छोरीले सुसाइड नोटमा आमासँग माफी माग्दै आफ्नो पीडाबारे उल्लेख गरेकी छन्,” उनले भनिन् ।

मृतकका परिवारले दिएको जाहेरीका आधारमा माघ १ गते प्रधानविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । त्यसपछि खोजी कार्य तीव्र पारिएकोमा उनलाई काठमाडौंमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार प्रधान हाल काठमाडौंमा आफ्नी दिदीको घरमा बस्दै एक कन्सल्टेन्सीमा व्यवस्थापकका रूपमा कार्यरत थिए । अनुसन्धानका क्रममा उनी देवानसँग भेटघाट गर्न पटक–पटक विराटनगर जाने गरेको खुलेको छ ।

यस्तै, प्रधानविरुद्ध यसअघि पनि काठमाडौंमा अर्की एक युवतीसँग सम्बन्धित विवादमा उजुरी परेको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ती युवतीसँग विवाहको आश्वासन दिएर सम्बन्ध राखेको र पछि अस्वीकार गरेपछि उनी बेपत्ता भएको आरोपसमेत अनुसन्धानको दायरामा रहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ । साथै, डिजिटल प्रमाण, सुसाइड नोट तथा परिवारको बयानका आधारमा मुद्दा अघि बढाइएको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here