मुस्लिम महिलामा आएको परिवर्तन

0
511

मध्य दक्षिणी झापाको चकचकीका मुस्लिम महिला परिवार नियोजनको साधन प्रयोगमा खुलेरै अग्रसर भएको पाइएको छ । महिलाको ज्यान नै जोखिममा परेको अवस्थामा मात्र इस्लाम धर्मले गर्भपतनको मान्यता दिन्छ । धार्मिक अन्धविश्वासलाई चिर्दै मुस्लिम महिलाले देखाएको अग्रसरता सकारात्मक छ । झापाको दक्षिणी क्षेत्रमा मुस्लिम समुदायको बसोबास बाक्लै छ । शिक्षा र चेतनाको अभावमा स्वास्थ्य समस्या झेल्न, परिवार नियोजन गर्नुहुन्न भन्ने धार्मिक अन्धविश्वासका कारण धेरै सन्तान जन्माउन र त्यसकै कारण गरिबी, अभाव झेल्न बाध्य उनीहरुमा विस्तारै चेतना जागृत हुँदैछ, जुन कुरा चकचकीको स्वास्थ्य शिविरमा परिवार नियोजनका अस्थायी साधनका लागि सेवा लिन अग्रसर त्यो समुदायका महिलाले पुष्टि गर्छन् ।
एकताका पोलियो थोपा, जुकाको औषधि, भिटामिन ए जस्ता औषधि खुवाउन जाँदा पनि ‘यो त बच्चा नजन्माउने औषधि होला’ भन्दै खान नमान्ने मुस्लिम महिलाहरूमा अब त्यो धारणा छैन । अब त उनीहरू ती औषधिबारे आफैं स्वास्थ्य स्वयम्सेविकाहरूसँग सोधी खोजी गर्छन् र बेला भएपछि बच्चा लिएर लामबद्ध हुनथालेका छन् । प्रजनन् स्वास्थ्यबारे समेत खुलेर बोल्न थालेका उनीहरू परिवार नियोजनको अस्थायी साधनको नियमित प्रयोगसँगै आवश्यक परे सुरक्षित गर्भपतनको सेवा पनि लिन थालेको पाइएको छ । धेरै बच्चा हुँदा खाने–लाउने समस्यासँगै आफ्नो स्वास्थ्य पनि कमजोर हुन्छ भनेर बुझी परिवार नियोजनका अस्थायी तथा स्थायी साधन प्रयोग र सुरक्षित गर्भपतन गराउन थालेका छन् मुस्लिम महिलाले । केही वर्ष पहिलेसम्म परिवार नियोजनको साधन वर्जित मुस्लिम समुदायका धेरै महिलाले सुरक्षित गर्भपतनको सेवा लिइरहेका छन् । श्रीमानको सहयोग र समुदायमा सञ्चालन भएका स्वास्थ्य सम्बन्धी कार्यक्रम, सञ्चारमाध्यमको बढ्दो पहुँचले प्रजनन् स्वास्थ्यबारे जान्न र परिवार नियोजनका साधन प्रयोग गर्न उनीहरुलाई सहज भएको पाइएको छ । भिटामिन ए, पोलियो थोपा, जुकाको औषधि खुवाउन जाँदा ‘आज ब्रत छ’, ‘अहिले बच्चा सुतेको छ’ जस्ता बहानाबाजीबाट अनेक पटक फर्किने अवस्थामा पु¥याइएका स्वास्थ्य स्वयम्सेविकाले कति घरमा त नमिठो गाली खानु परेको तीतो अनुभव छ ।
शुरूका दिनमा भिटामिन ए खुवाउन जाँदा पनि बच्चाको ज्यान जान्छ भन्दै फर्काउने मुस्लिम महिलाहरू आज आफैं औषधि माग्न आउन थालेको पाइन्छ । शिक्षा र चेतनाले ल्याएको परिवर्तन हो यो । प्रजनन् अधिकारलाई धर्मसँग जोड्नु अनुचित हो । धेरै सन्तान हुँदा खान–लाउन दुःख हुने भएकाले पनि मुस्लिम समुदायमा परिवार नियोजनको बढी आवश्यकता देखिएको छ । बच्चा थोरै भए बिरामी हुँदा पनि उपचार गर्न, शिक्षा दिन तथा खान र लगाउने कपडा पुर्याउन सकिन्छ । परिवार नियोजनको साधन प्रयोगबाट पटके गर्भपतन रोक्न सकिन्छ । समयको परिवर्तनसँगै उनीहरुमा आफ्ना सन्ततीलाई कसरी राम्रो शिक्षादीक्षा दिने भन्ने चिन्ता थपिएको छ । यो चिन्ता परिवर्तनकालागि सकारात्मक छ ।
तर अझै मुस्लिम तथा अन्य समुदायमा पनि विविध अन्धविश्वास, चेतनाको कमी, स्वास्थ्य सेवामा सहज पहुँच नहुनु जस्ता कारणले यस्ता समस्या विद्यमान छन् । ती स्थान र समुदायको पहिचान गरी चेतना जागृत गर्नु आवश्यक छ । गाँस, बास, कपाससँंगै स्वास्थ्य र शिक्षा अहिले आधारभूत आवश्यकता हो । हरेक नागरिकको यो आवश्यकता पूर्तिका लागि उचित कार्यक्रम र व्यवस्था उत्तिकै जरुरी छ । हरेक समुदायका नागरिक शिक्षित, सक्षम अनि सचेत भए भनेमात्र समाज रुपान्तरण र समुन्नत बन्छ । यस विषयमा सरकार, मातहतका निकाय, सरोकारवालाले जिम्मेवार बन्नुपर्छ, अझ महत्वपूर्ण पक्ष भनेको हरेक समुदाय र नागरिक नै सचेत बन्नु जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here