परालको डल्लो राखेर बमको आतंक

0
2

झापा : झापाको शिवसताक्षी नगरपालिका–१० माइधारस्थित कन्काई पुलमा आज बिहान फेला परेको शंकास्पद वस्तु होक्स भएको पुष्टि भएको छ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक जाँच तथा डिस्पोज गर्ने तयारीका क्रममा उक्त वस्तु विस्फोटक नभई परालको डल्लो रहेको पुष्टि गरेको हो। पराललाई डल्लो बनाएर तारले बेरेको र बाहिरी भागमा “नेपाल बन्द होशियार” लेखिएको कागज राखी ढुङ्गाले थिचेर पुलको बीच भागमा राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
उक्त वस्तु बम भएको आशङ्कामा सुरक्षाका दृष्टिले बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको सो खण्डमा सवारी आवागमन रोकिएको थियो। घटनापछि नेपाली सेना र प्रहरीको संयुक्त टोलीले शंकास्पद वस्तु हटाएपछि राजमार्गमा यातायात सेवा पुनः सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले कसैले सर्वसाधारणमा त्रास सिर्जना गर्ने उद्देश्यले उक्त कार्य गरेको हुन सक्ने बताएकी छिन् । घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजी कार्य भइरहेको उनको भनाइ छ।
शंकास्पद वस्तुका कारण केही समय राजमार्गमा यातायात प्रभावित बनेको थियो भने सुरक्षा निकायले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here