नेपाल कम्युनिष्ट पार्टी (एमाले) दमक–८को घरदैलो मनकामना टोलसहित तीन टोलमा सम्पन्न

0
4

दमक नेकपा एमाले दमक–८ वडा कमिटीले प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गर्दै मनकामना टोलसहित विभिन्न टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रित गरी सूर्य चिन्हमा मत माग्ने उद्देश्यले घरदैलो गरिएको हो।

झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका पक्षमा मत माग्दै नेता, कार्यकर्ता र समर्थकले घरदैलो गरेका थिए। निर्वाचन परिचालन कमिटी दमक–८का संयोजक तथा वडा अध्यक्ष दिपेश दाहालले उम्मेदवार ओलीलाई जिताउन घरदैलो अभियान सञ्चालन गरिएको बताए।

घरदैलोका क्रममा मतदाताले राखेका जिज्ञासाको जवाफ पार्टीका केन्द्रीय सदस्य गोविन्द थापाले दिएका थिए। एमाले वडा कमिटी उपाध्यक्ष युवराज आचार्यका अनुसार मतदाताले विकास, पूर्वाधार र स्थानीय आवश्यकतासम्बन्धी विषय उठाएका थिए।

घरदैलो कार्यक्रम मनकामना टोलस्थित हरि न्यौपानेको घरअगाडिबाट सुरु भई बालुवाटार टोल, सिर्जना टोल र सगरमाथा टोलका केही क्षेत्रमा पुगेर सम्पन्न भएको थियो। अभियानका क्रममा टोलीले घर–घरमा पुगेर मतदातासँग भेटघाट गर्दै मत मागेको थियो।

एमाले वडा कमिटीले घरदैलो कार्यक्रम भोलि पनि वडा भित्रका अन्य टोलमा जारी रहने जनाएको छ। साथै आज दिउँसो ३ बजे दमक–८ को किरात चोकमा अध्यक्ष ओलीले मतदातासँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको वडा कमिटी सदस्य खेम श्रेष्ठले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here