- ‘गोताखोर’ शैलीमा रास्वपाको घरदैलो, ठूला दललाई त्राहिमाम
सुरेन्द्र भण्डारी
झापा । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सीमित प्रभाव देखाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०८२को निर्वाचन नजिकिँदै गर्दा झापासहित देशभरका ठूला दलका लागि बलियो चुनौतिका रूपमा उदाएको छ । छोटो समयमै संगठन विस्तार, नेतृत्वप्रतिको जनआकर्षण र वैकल्पिक शक्तिको खोजीमा रहेका मतदाताको समर्थनले रास्वपालाई चुनावी प्रतिस्पर्धाको केन्द्रमा पु¥याएको छ । २०७९को निर्वाचनभन्दा करिब ६ महिना अघि मात्र निर्वाचन आयोग नेपालमा दर्ता भएको रास्वपा पहिलो सहभागितामै प्रत्यक्ष र समानुपातिक गरी २२ सिट जित्दै संसदमा चौथो ठूलो दल बन्न सफल भएको थियो । पार्टीका सभापति रवि लामिछानेको नेतृत्व, भ्रष्टाचारबिरुद्धको एजेण्डा र पुराना दलप्रतिको असन्तुष्टिको लाभ रास्वपालाई मिलेको विश्लेषण गरिएको थियो ।
२०७९मा सम्पन्न निर्वाचनमा रास्वपाले समानुपातिकतर्फ झापामा ७७ हजार ४४४ मत प्राप्त गर्दै सशक्त उपस्थिति देखाएको थियो । यो परिणामले एमाले र कांग्रेसपछि तेस्रो शक्तिका रूपमा आफूलाई स्थापित गर्न रास्वपा सफल भएको देखिन्छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार २०७९ को निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) (एमाले १ लाख २७ हजार ७८० मतसहित पहिलो र नेपाली कांग्रेस १ लाख ६८६ मतसहित दोस्रो स्थानमा थिए । तर नयाँ दल भएर पनि रास्वपाले उल्लेख्य मत प्राप्त गर्नुले झापामा वैकल्पिक राजनीतिक शक्तिप्रति आकर्षण बढ्दै गएको संकेत दिएको थियो । विशेषगरी क्षेत्र नम्बर २ र ५ मा रास्वपाले उल्लेख्य मत प्राप्त गर्नुले शहरी मतदाता, युवा वर्ग र वैकल्पिक राजनीतिक धारको समर्थन प्राप्त भएको देख्न सकिन्छ । यसले प्रत्यक्ष निर्वाचनमै प्रतिस्पर्धा गर्न सक्ने आधार तयार गरेको प्रष्ट हुन्छ ।
झापाका पाँच निर्वाचन क्षेत्रमा अघिल्लो निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ जित हासिल गर्न नसकेपनि समानुपातिक तर्फ ठूलादलसंगै प्रतिष्पर्धामा उत्रदै आफ्नो सशक्त उपस्थिति जनायो । २०७९ पछि रास्वपा देशभर संगठन विस्तार, सदस्यता अभियान र स्थानीय तहसम्म संरचना निर्माणलाई तीव्र बनाउँदै योपटक चुनावी मैदानमा देखिएको छ । पार्टी सभापति रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन र मुद्दा चले पनि त्यसलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गर्दै समर्थकहरू थप सक्रिय बनेका छन् । यसले पार्टीप्रति सहानुभूति र जनसमर्थन बढाउन भूमिका खेलेको देखिन्छ । यसबीच पुराना दलप्रति असन्तुष्टि बढाउने विभिन्न आन्दोलन र सामाजिक असन्तोषले पनि नयाँ शक्तिलाई लाभ पुगेको छ । मतदातामा ‘पुरानाबाट परिवर्तन सम्भव छैन’ भन्ने धारणा बलियो बन्दै जाँदा रास्वपाले त्यसको राजनीतिक लाभ लिन थालेको छ ।
अझ झापा–५ यतिबेला देशकै चासोको केन्द्र बनेको छ । यो क्षेत्र केपी शर्मा ओलीको निर्वाचन क्षेत्रका रूपमा चिनिन्छ । २०४८को आम निर्वाचन यता २०६४ को निर्वाचन बाहेक अरु निर्वाचनको नतिजा आफ्नै पोल्टामा पार्दै आएका ओलीको राजनीतिक विरासत संकटमा परेको चर्चा शुरु भएको छ । एमाले अध्यक्ष ओलीलाई टक्कर दिन रास्वपाले शीर्ष तहका नेताको उम्मेदवारी घोषणा गरेपछि झापा–५ मा चुनावी सरगर्मी तीव्र बनेको छ । एमाले यसपटक गठबन्धनविहीन रूपमा मैदानमा उत्रिएको छ भने रास्वपा आक्रामक प्रचार रणनीतिसहित मतदातामाझ पुगेको छ ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ओलीलाई चुनौति दिँदै काठमाडौं महानगरको मेयर पद त्यागेर झापा ५ बाट चुनावी प्रतिष्पर्धामा छन् । जसले गर्दा एमालेको रानीतिक वृत्तमा हलचल मच्चिएको छ । झापा राजनीतिक रूपमा सचेत र परिवर्तनको पक्षमा उभिने जिल्लाका रूपमा परिचित छ । २०६४मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार विश्वदीप लिङ्देनलाई व्यापक समर्थन दिएको झापा ५ले यसपटक पनि नयाँ राजनीतिक शक्तिप्रति आकर्षण देखाउने सम्भावना रहेको विश्लेषण भइरहेको छ ।
२०६४मा सम्पन्न निर्वाचनमा झापालीले तत्कालीन झापाका सात निर्वाचन क्षेत्रमध्ये ६ वटा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवारलाई विजयी गराए । २०७९मा ‘सुसुप्त’ देखिएको रास्वपा अहिले भने चुनावी प्रतिस्पर्धाको निर्णायक शक्ति बन्ने दिशामा अग्रसर छ । एमाले र कांग्रेस जस्ता पुराना र स्थापित दलहरूले आफ्नो परम्परागत जनाधार जोगाउन संघर्ष गरिरहेका बेला रास्वपाले वैकल्पिक शक्ति खोज्ने मतदातालाई आकर्षित गरिरहेको छ । २०७९मा समानुपातिकतर्फ प्राप्त मत र त्यसपछि भएको संगठन विस्तारले रास्वपालाई २०८२को निर्वाचनमा प्रत्यक्षतर्फ पनि बलियो प्रतिस्पर्धी बनाएको छ । झापामा देखिएको यो प्रवृत्तिले देशभरको राजनीतिक समीकरणमा नयाँ मोड ल्याउने संकेत गरेको छ । अघिल्लो निर्वाचनमा सीमित प्रभाव देखाएको रास्वपा २०८२सम्म आइपुग्दा सशक्त चुनौतिका रूपमा स्थापित हुँदै पुराना दलको वर्चस्वलाई चुनौति दिने अवस्थामा पुगेको छ ।
यस्तो थियो २०७९को समानुपातिक अंकगणित
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को समानुपातिकतर्फको मत परिणामले झापामा परम्परागत दलहरूको प्रभाव कायम रहे पनि नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य उपस्थिति देखाएको थियो । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापामा सबैभन्दा बढी मत नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) (एमाले ले प्राप्त गरेको थियो ।
एमालेले कूल १ लाख २७ हजार ७८० मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेको थियो । एमालेको प्रभाव विशेषगरी क्षेत्र नम्बर ५मा देखिएको थियो । जहाँ उसले ३५ हजार ८७२ मत प्राप्त गरेको थियो । त्यसैगरी क्षेत्र नम्बर १मा २२ हजार ४४७, क्षेत्र नम्बर २मा २० हजार ४९०, क्षेत्र नम्बर ३मा १९ हजार ४६० र क्षेत्र नम्बर ४ मा २३ हजार ४११ मत प्राप्त गरेको थियो । यो परिणामले झापामा एमालेको संगठनात्मक आधार अझै बलियो रहेको संकेत गर्छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले कूल १ लाख ६८६ मत प्राप्त गरेको थियो ।
कांग्रेसको सबैभन्दा बलियो उपस्थिति क्षेत्र नम्बर १ र ३मा देखिएको थियो । जहाँ उसले क्रमशः २५ हजार ४२० र २५ हजार ५३५ मत प्राप्त गरेको थियो । तर अन्य क्षेत्रमा मत तुलनात्मक रूपमा कम हुँदा समग्र मतसंख्या एमालेभन्दा उल्लेख्य रूपमा कम रह्यो । तर, नयाँ दलको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ हजार ४४४ मत प्राप्त गर्दै झापामा तेस्रो शक्तिका रूपमा आफ्नो उपस्थिति स्थापित गरेको थियो । विशेषगरी क्षेत्र नम्बर २मा २२ हजार ५१७ र क्षेत्र नम्बर ५मा १८ हजार २०५ मत प्राप्त गर्नुले शहरी तथा युवा मतदातामाझ यसको प्रभाव विस्तार भएको देखिन्छ ।
परम्परागत रूपमा झापामा प्रभाव राख्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४६ हजार ४६६ मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ । राप्रपाको सबैभन्दा बलियो क्षेत्र नम्बर ३ रहेको छ, जहाँ उसले १९ हजार ७४३ मत प्राप्त गरेको छ । यसले केही क्षेत्रमा राप्रपाको स्थिर जनाधार रहेको पुष्टि गर्छ । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कूल ३१ हजार ६६६ मत प्राप्त गरेको थियो । माओवादी केन्द्रको प्रभाव क्षेत्र नम्बर ५ मा बढी देखिएको थियो । जहाँ उसले ८ हजार ६८० मत प्राप्त गरेको छ । अन्य क्षेत्रमा भने मत तुलनात्मक रूपमा कम रहँदा समग्र प्रतिस्पर्धामा पछि परेको देखिन्छ ।
एमाले, कांग्रेस र राप्रपालाई विरासत जोगाउन चुनौति
राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका शीर्ष नेता झापाका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, एमालेका नेता तथा निर्वतमान सभामुख देवराज घिमिरे सहितका शीर्ष नेताहरुलाई आफ्नो विरासत जोगाउन यो निर्वाचन चुनौतिपूर्ण बन्ने आंकलन गरिएको छ ।
गएका निर्वाचनमा दलहरुले चुनावी गठबन्धन गरेर निर्वाचनमा होमिने गरेका थिए । तर, यस पटक दलहरुले चुनावी तालमेल नगर्दा आफ्नै मतदाताको भरमा बिजय हासिल गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा झापा ५मा राप्रपाको काँधमा चढेर चुनाव जित्दै आएका एमाले अध्यक्ष ओलीलाई सकस देखिएको छ ।
यता एमालेको बुई चढेर दुईपटकसम्म निर्वाचन जितेका राप्रपा अध्यक्ष लिङ्देनलाई पनि आफ्नो विरासत जोगाउन हम्मे पर्ने देखिएको छ । झापा ३ र ५ मात्र होइन झापा २ पनि राष्ट्रिय राजनीतिमा चासोका रुपमा हेरिएको छ । यसअघिका निर्वाचनमा कुनैपनि सांसदले दोस्रोपटक बिजय हासिल गर्न नसकेको यस क्षेत्रमा विगतका इतिहास दोहोरिने सम्भावना कायम रहँदा निर्वतमान सांसद घिमिरेलाई संकट पैदा भएको छ । उनलाई आफ्नै पालाकी उपसभामुख भारी पर्ने विश्लेषण हुन थालेको छ । यस क्षेत्रमा शहरी क्षेत्रका मतदाताले हरेक निर्वाचनमा मत परिर्वतन गर्ने गरेकाले पनि यसपटक घिमिरेलाई संकट देखिएको छ ।
राप्रपासँग गठबन्धन गरेको एमालेले २०७९को प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ झापा ५मा आफ्ना उम्मेद्वार केपी शर्मा ओलीलाई ५२ हजार ३ सय १९ मतका साथ निर्वाचित गराएको थियो । जबकि सो निर्वाचन क्षेत्रमा एमालेको समानुपातिक मत ३५ हजार ८ सय ७२ मात्र छ ।तर, उदीयमान शक्तिको रुपमा देखा परेको रास्वपाको समानुपातिक मत १८ हजार २ सय ५ रहेको छ । यही निर्वाचन क्षेत्रमा राप्रपाको मत ७ हजार ३ सय ७० छ ।
एमालेको गठजोडको बलमा यता झापा ३मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ४० हजार ६ सय ६२ मतका साथ निर्वाचित भए । तर, राप्रपाको यो निर्वाचन क्षेत्रमा कूल समानुपातिक मत १९ हजार ७ सय ४३ मात्र छ । यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको मत २५ हजार ५ सय ३५ छ ।
झापा २ मा पनि राप्रपासंगको गठबन्धनमा एमालेका उम्मेदवार देवराज घिमिरे २८ हजार ७ सय १६ मत प्राप्त गर्दै निर्वाचित भए । यो निर्वाचन क्षेत्रमा एमालेको समानुपातिक मत २६ हजार ४ सय ९० मात्र छ । जबकि यो निर्वाचन क्षेत्रमा रास्वपाको समानुपातिक मत २२ हजार ५ सय ७० रहेको छ । त्यसो त झापा २मा नेपाली कांग्रेसको मत १५ हजार ४ सय ९८ रहेको छ । यही निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक मत ७ हजार ८ सय ८० रहेको छ ।
२०७९को प्राप्त समानुपातिक मत परिणामलाई विश्लेषण गर्ने हो भने उदीयमान शक्तिका रुपमा देखापरेको राष्ट्रिय स्वतन्त्र पार्टी झापामा तेस्रो मताभारसहित सशक्त रुपमा चुनावी मैदानमा उत्रिएको छ । ठूला दलले सभा सम्मेलनसहितको घर दैलो गरिरहेपनि रास्वपा ‘गोताखर’ शैलीमा मतदाताको घर–घरमा पुगेर मत आफ्नो पक्षमा पर्ने रणनीतिसहित अगाडि बढेको छ ।
२०७९को निर्वाचनमा प्रतिनिधिसभातर्फ कूल ६ लाख ६५ हजार ७ सय १९ मतदातामध्ये समानुपातिकतर्फ ४ लाख ३७ हजार ९ सय २४ मत खसेको थियो । जसमा सदरमत ४ लाख १६ हजार ५ रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । ६५ दशमलव ७७ प्रतिशत मत खस्दा ५ दशमलव २७ प्रतिशत मत बदर भएको थियो ।






























