व्यवसायी सदस्य राहत कोषमा सहयोग बढ्दै, जन्मदिन र विवाह उत्सव एकै ठाउँ मनाइयो

0
6

झापा । व्यवसायिक संस्थाहरू केवल व्यापारिक हितमा सीमित नहुने, सामाजिक सहकार्य र आपसी सहयोगको साझा प्लेटफर्म बन्न सक्ने उदाहरण पछिल्लो समय झापाको बिर्तामोडमा देखिन थालेको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघद्वारा स्थापना गरिएको ‘व्यवसायी सदस्य राहत कोष’ अहिले व्यवसायीबीच सहकार्य र सहानुभूतिको अभियानका रूपमा विस्तार हुँदै गएको छ ।   

व्यवसायीलाई आपत्, विपद्, स्वास्थ्य समस्या वा आकस्मिक संकट पर्दा संस्थागत सहयोग उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको उक्त कोषलाई एक करोड रुपैयाँ पु¥याउने दीर्घकालीन लक्ष्य राखिएको संघले जनाएको छ । कोष स्थापना भएपछि व्यक्तिगत उत्सवलाई सामाजिक योगदानसँग जोड्ने अभ्यास बढ्दै गएको संघका अध्यक्ष राजु न्यौपानेले बताए ।
कोष सुदृढीकरण अभियानअन्तर्गत बिर्तामोडका अग्रज व्यवसायी तथा संघका सल्लाहकार मोहन मित्तल र मधु मित्तल दम्पत्तिले आफ्नो वैवाहिक वर्षगाँठलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै २३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेका छन् । रकम संघका अध्यक्ष राजु न्यौपाने र राहत कोष संयोजक राजकुमार घिमिरे ‘राजु’लाई हस्तान्तरण गरिएको हो ।

सो अवसरमा संघले मित्तल दम्पत्तिलाई कदरपत्र प्रदान गर्दै सम्मान गरेको थियो । अध्यक्ष न्यौपानेले व्यवसायीहरूले निजी खुसीका क्षणलाई सामूहिक हितसँग जोड्न थालेको प्रवृत्तिले राहत कोषलाई दिगो बनाउने विश्वास व्यक्त गरे ।
उनका अनुसार विगतमा औपचारिक कार्यक्रममै सीमित रहने सहयोग अहिले व्यक्तिगत उत्सवमार्फत नियमित बन्न थालेको छ, जसले व्यवसायीबीच सहकार्यको नयाँ संस्कार विकास गरिरहेको छ ।

जन्मदिन पनि सहयोगकै अवसर

संघका महासचिव कुशल खतिवडाको जन्मदिन पनि संघको कार्यालयमै मनाइएको थियो । जन्मदिनलाई औपचारिक शुभकामनामा मात्र सीमित नराख्दै उनले राहत कोषका लागि सात हजार सात सय सात रुपैयाँ सहयोग प्रदान गरेका छन् । उनले रकम अध्यक्ष न्यौपाने र संयोजक घिमिरेलाई हस्तान्तरण गरेका हुन् ।
संघका अनुसार पछिल्लो समय जन्मदिन, वैवाहिक वर्षगाँठ, पारिवारिक स्मृति दिवस तथा पितृ स्मरणका अवसरमा सहयोग गर्ने व्यवसायीको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ । यसले राहत कोषलाई अभियानकै स्वरूप दिएको संघको बुझाइ छ ।

२५ लाख नाघ्यो संकलन

राहत कोषमा २५ लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको संघले जनाएको छ । लक्ष्यअनुसार रकम वृद्धि हुँदै गए व्यवसायी समुदायका लागि आपत्कालीन सुरक्षा संयन्त्र तयार हुने अपेक्षा गरिएको छ ।

व्यवसायीहरू दुर्घटना, आकस्मिक बिरामी, प्राकृतिक विपद् वा आर्थिक संकटमा परेका बेला तत्काल सहयोग उपलब्ध गराउने संरचना अभाव महसुस भएपछि कोष स्थापना गरिएको संघका पदाधिकारी बताउँछन् ।

सामाजिक सुरक्षा मोडेलतर्फ व्यवसायी

व्यवसायिक प्रतिस्पर्धा तीव्र बन्दै गइरहेको अवस्थामा आपसी सहकार्य कमजोर हुने चिन्ता व्यक्त भइरहेका बेला बिर्तामोडमा भने फरक अभ्यास देखिन थालेको छ । व्यक्तिगत उत्सवलाई सामूहिक हितसँग जोड्ने यो अभ्यास दीर्घकालमा व्यवसायी समुदायका लागि अनौपचारिक सामाजिक सुरक्षा प्रणालीको आधार बन्न सक्ने संघको विश्वास छ ।
संघले आगामी दिनमा थप व्यवसायीलाई अभियानमा सहभागी गराउँदै राहत कोषलाई लक्षित रकमसम्म पु¥याउने योजना अघि बढाएको जनाएको छ । व्यवसायी समुदायको बढ्दो सहभागिताले कोष केवल आर्थिक संरचना मात्र नभई सहकार्य र संवेदनशीलताको साझा प्रतीक बनाउने लक्ष्य लिइएको संघका वरिष्ठ उद्योग उपाध्यक्ष विशाल थापाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here