एम्बुलेन्स खरिद गर्दै रोङ गाउँपालिका

0
1

बिर्तामोड ।

शैक्षिक क्षेत्रमा बचत अभियान शुरु गर्दै शिक्षामा सुधारका कामलाई पहिलो प्राथमिकतामा राखेको रोङ गाउँपालिकाले स्वास्थ्यलाई समेत अग्राधिकारमा राखेर काम शुरु गरेको छ ।

इलामको रोङ गाउँपालिकाले आफ्नै पहलमा दुई वटा एम्बुलेन्स खरिद गर्ने भएको छ । पालिकामा रहेका ६ वटा वडाका नागरिकलाई ध्यानमा दिँदै एम्बुलेन्स खरिदका लागि आफूले काम शुरु गरेको रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्वो (सुवास)ले बताए । उनले भने– सरकारको मापदण्ड अनुसार पालिकाले खरिद गर्न पाउने दुईवटासम्म एम्बुलेन्स यस पालिकालाई आवश्यक छ ।

एम्बुलेन्स खरिद तथा सञ्चालन प्रक्रियाको कार्यविधि तयार गरेर यसलाई औपचारिक रुपमा आम नागरिकलाई सहयोगका लागि अपिल गर्ने योजनाका साथ काम भइरहेको अध्यक्ष स्याङ्वोले बताए । उनले भने–एउटा एम्बुलेन्स खरिद गर्न करिब २२ लाख रुपैयाँ लाग्ने रहेछ, हामीसँग ४४ लाख भएमा दुई वटा एम्बुलेन्स खरिद गर्न सकिन्छ । कुनै पनि नागरिकको उपचारमा सहज पहुँच नपुगेर ज्यान नजाहोस् भन्ने उद्देश्यले यो अभियान शुरु गर्न लागेको उनले बताए ।

उनले एम्बुलेन्स खरिदका लागि दुई वटा टोल विकास समितिका अध्यक्षहरु रुपेन तामाङ र उपेन्द्र दाहाल तथा स्वास्थ्यकर्मी उर्मिला पोख्रेलको संयुक्त नाममा बैंक खाता समेत खोलेर अभियान शुरु भएको जानकारी दिए । बैंक खाता एम्बुलेन्स खरिद गर्नका लागि मात्रै आन्तरिक लेखा परीक्षण गर्ने बताइएको छ । हिसाबलाई चुस्त र पारदर्शी बनाउन कार्यपालिकाबाट सबै नियमहरु परित भइसकेको जनाइएको छ ।

रोङ गाउँपालिका झापासंग सीमाना जोडिएको पालिका हो । यस पालिकामा करिब १७ हजारभन्दा धेरै जनसंख्या रहेको र यहाँबाट झापासहितका विभिन्न स्थानमा सञ्चालनमा आएका अस्पताल आउन करिब ३० मिनेटदेखि एक घण्टा मात्र्रै समय लाग्ने जनाइएको छ ।

ग्रामीण क्षेत्रमा अस्पताल सञ्चालन गर्न तथा चिकित्सकको सेवा प्रवाह गर्न समस्या हुने भएकाले एम्बुलेन्स खरिदलाई पहिलो प्रथमिकतामा राखेको अध्यक्ष स्याङ्वोले बताए । उनले भने– पालिकामा ५६ वटा टोलविकास संस्थाहरु रहेका छन् । हामी सबै टोलमा आम नागरिकलाई एम्बुलेन्स खरिदका लागि सहयोग माग्छौं । यसले गर्दा यो एम्बुलेन्सप्रति आम नागरिकले अपनत्व लिने छन् । आफ्ना नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा मात्र प्रवाह गर्न सकेमा आर्थिक रुपमा ठूलो टेवा पुग्ने भएकाले यहाँ १२ सयको औषधि किन्न १० हजार खर्च गर्नुपर्ने अवस्था छ, त्यो अन्त्यका लागि पालिका लागेको छ– उनले भने ।

पलिकाले देश–विदेशमा रहेका आम नागरिक तथा विभिन्न संघ–संस्था, टोल विकास संस्था, सामुदायिक वन तथा सबै मनकारी महानुभावलाई सहयोगका लागि अपिल गरेको छ । केही संघ–संस्था तथा व्यक्तिहरुले अभियान राम्रो भन्दै आफ्नो क्षेत्रमा सकेको सहयोग गर्ने प्रतिबद्धताहरु आउन थालेको अध्यक्ष स्याङ्वोले बताए । रोङ गाउँपालिकाका अध्यक्ष स्याङ्बोले व्यक्तिगत रूपमा प्राप्त गरेको रु. ५१ हजार पुरस्कार रकम स्वास्थ्य क्षेत्रमा लगानी गर्ने घोषणा गर्दै रकम समेत जम्मा गरेका छन् ।

सिर्जनशील कामको मूल्यांकन गर्दै प्रथम छत्र खतिवडा स्मृति सिर्जनशील पुरस्कार–२०८२ स्वरुप प्राप्त पुरस्कार एम्बुलेन्स खरिदका लागि जम्मा गरेको भन्दै पुरस्कृत गर्ने पबित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठान बुद्धशान्ति–५ झापालाई धन्यवाद समेत दिएका छन् । उक्त रकमबाट नयाँ एम्बुलेन्स खरिद र स्वास्थ्य सेवाको पहुँच विस्तारमा प्राथमिकता दिने उनले बताए । स्वास्थ्य चौकी सुदृढीकरण, आकस्मिक उपचार, प्राथमिक स्वास्थ्य सेवा र जनस्वास्थ्य सचेतना कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर पहल अगाडि बढाइने बताउँदै नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ ।

स्वास्थ्य क्षेत्रमा समग्र सुधारका लागि सामुहिक सहयोग र स्थानीय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले समुदायमा स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्यले अभियानलाई निरन्तरता दिइने विश्वास दिलाए ।

एम्बुलेन्स खरिदका साथै स्वास्थ्य सेवा, आपतकालीन उपचार, औषधि आपूर्ति र प्राथमिक स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा लगानी बढाइने बताइएको छ । अध्यक्ष स्याङ्बोले पालिकाको समग्र विकास, सामाजिक चेतना अभिवृद्धि र जनउत्तरदायी नेतृत्वमार्फत शिक्षा, स्वास्थ्य, यातायात, पूर्वाधार र सञ्चारका क्षेत्रमा ठोस काम गरिसकेको जानकारी दिए । उनले नागरिकको स्वास्थ्यलाई ध्यान दिएर विभिन्न अभियानहरु सञ्चालन गरिरहेको उल्लेख गरे ।

स्वास्थ्य सेवाबाट कसैले पनि बञ्चित हुनु नपरोस् भनेर आफूहरु लागीपरेको उनको भनाइ छ । रोङ गाउँपालिकाले नेपालमै पहिलोपटक ‘गुरु किसान कार्यक्रम’, अभिभावक शिक्षा र ‘रु. १ बचत’, रोङका उत्पादनहरुको ब्राण्डिङ गर्दै बजारीकरण समेत गरेको छ । किसान सशक्तिकरण, आधुनिक खेती प्रविधि र आर्थिक सचेतना अभिवृद्धिमा अग्रसरता देखाएको अध्यक्ष स्याङ्बोले बताए । कार्यक्रमले स्वास्थ्य र कृषि दुवै क्षेत्रमा स्थानीय समुदायको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । साथै पालिकाको शिक्षामा बचत अभियानको अन्य पालिकाहरुले समेत प्रशंसा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here