हेमन्त ‘क्षितिज’
ऊ पुराना हलोका ठुटाहरु भेला पार्छ । रछ्यानमा धेरै दिनदेखि बसेको कराही यता–उता पल्टाउँछ, घिसारेर सिकुवाका डिलसम्म ल्याउँछ, बाल्टीमा माटो खोस्रँदै कराही भर्छ ।
विन्दिया अस्तिदेखि नै व्यथाले थलिएकी । हलोका टुक्राहरु जोडेर आगो सल्काउँछ ऊ । सिलिङमा बाँधेर अड्याएको नाम्लो समातेर विन्दिया बसेको तीन दिन भइसक्यो । कतिदिन पर्खनु पर्ने हो ? रघु दुवै हात टाउकोमा राखेर विन्दियाको छेउमा बस्छ, न्यानो राप भरिएको कराही विन्दियाका पिठ्युँतिर सारिदिन्छ, सानी छोरी काखैमा निदाएकी छे ।
रघु सम्झन्छ– छोरी त पँधेरा जाँदा बाटैमा जन्माएकी थिई यसपाली के भयो ? लागोभागो पो लाग्यो कि ?
काँसको डबकामा पानी सार्छ– धारिलो हतियारले मन्त्र फुकेझैँ गरी पानी काढेर पिउन दिन्छ– हलो बलेको खरानी पैताला र टाउकोमा दलिदिन्छ । चिसो पसिना काढेर घुँडा मारेकी विन्दियाका लागि स्लाइन, इनर्जी, डाक्टर सबै तातो खरानी नै थियो ।
रात छिप्पिँदै गयो– आफन्तहरु सिकुवाभरी बसेका छन् । सुँढेनी काकी तेलको बटुको हातमा लिएरभित्र बसिन् । विन्दियाको कोठाको ढोका बन्द भयो ।
धेरैबेरपछि शिशुको आवाज च्याँरच्याँर ग¥यो । सानी छोरी तर्सिएझैँ बिउँझी, मधौरो रुङ्दै झकाउँदै गरेका छिमेकी आफन्तहरु चनाखो भए ! बडाघरे जेठाबाले सोध्नुभयो– जोत्ने कि पोत्ने ? सुँढेनी फुर्किएर कुनैबाट बोलिन्– जोत्ने है जोत्ने । बल्ल छोरो जन्मिएछ– वंशको चिराग । हो पनि रघुले छोरो पाउन कम दुःख गरेको थियो र ? गदाल कान्छालाई बोलाएर चिन्ता बसायो कैयन पल्ट ! कुखुरा परेवा कत्ति मन्सायो–मन्सायो । देवीथानहरुमा दूध चढायो । विन्दिया पनि पाँचछोरी जन्मिँदासम्म छोरो नजन्मँदा दुःखमनाउ गर्थी । विन्दियाको दुःख निराशामा रघु झनै चिन्तित हुन्थ्यो । जेठाजु देवरका छोराहरु आँगनभरी खेल्दा उफ्रिँदा उसले पनि छोरी नाथे अर्काको गहना छोरो नै आफ्नो भन्ने लख काटेकी थिई । चिनामा पनि ‘छोरो छ तिम्रा भाग्यमा’ भन्दा गाउँघर सबै डाकेर कत्रो ठूलो हरिवंश पुराण लगाएकी थिई । बलियो उमेरकी विन्दियाले जंगलका पातहरु सोहोरेर कति धेरै टपरा गाँसेकी थिई । ढिकीमै चामल र चिउरा तयार पार्न सघाउँथ्यो रघु रात भर– छोरो पाइदेली आफूलाई भनेर ।
यतिले कहाँ चित्त बुझ्यो र ? फेरी छोरी नै भइ भने ? विन्दियाले आफ्नो पेट छामी– छ सात महिनाको गर्भ बेस्सरी उफ्र्यो, पेट हल्लाएर लात बजार्यो । अलि बेग्लै अनुभव– पक्कै छोरो नै हो यो ।
‘हेलीका बा – यसपाली त छोरो नै छ मेरो गर्भमा छ पक्का, चलाइ घुमाइ पनि बेग्लै छ हेलीका बा’ रघु उज्यालो भयो । छोरो खेलाउने, पाल्ने, बढाउने कल्पना उभित्र सिँढीका तलाहरु झैँ उचालिँदै गए ।
हतारो गर्दै नुहाउँछ – चोखो बाती लिएर माईका किनारमा पुग्छ, कुलदेव–देवीस्थानहरू सम्झिएर एकमुठो बाती टपरामा राख्दै सल्काएर पानीमा छाडिदिन्छ– पर पुगुञ्जेल हात जोडेर हेरिरहन्छ, सुर्यतिर फर्किएर ढोग्दै भन्छ– ‘प्रभु ! मलाइ छोरो नै देउ है !’
चिताएको पूरा भएको छ, सलक्क परेको छोरो काखभरी लिएर बसेकी छ विन्दिया । चाम्रे र ज्वानो खुशी भएर पकाउँछ रघु । सम्झन्छ– छोरो पाउनलाई कालीको मन्दिरमा भाकल गरेको देवीले पनि सुनिन् । खोरभित्रको कालो बोको डो¥याउँदै लगेर मन्दिरका छेउमा छाडिदिन्छ र भन्छ मेरो छोरालाई रोगव्याधले नछोओस् है देवी ।
धेरै छोरीहरू जन्मिँदै र मर्दैपछि जन्मिएको छोरो जिध्दी र लाडिएको थियो । कुनै कमी आउन नदिएरै गरेको स्याहार –‘गोनुझा’ सलक्क सप्रिएको थियो । रघु छोरो काँधमा बोकेर गाउँघर डुल्थ्यो, मेलापात जाँदा पनिसँगै छेउमा घुम ओडाएर राख्थ्यो । नमानेर गोनुझा काँधैमा बस्छु भन्थ्यो । दिनभरी काँधमा बोकेर गलेको थाहै नपाउने रघु एकोहोरो स्वभावको थियो । गोनुका बारे कसैले केही बोले झम्टिएर ठीक लाउँथ्यो ।
विन्दिया पनि कत्ति फुरुङ्ग थिई – बच्चाहरुको स्वास्थ्य र सफाइमा आफ्नो छोरो पहिलो भएर अनुहार देखिने ठूलो ऐना पुरस्कार पाउँदा । रघुले पुरानो जनैको धागोमा बाँधेर दैलाकै छेउमा झुण्ड्याइदिएको ऐना सिन्दुर टीका लगाएर छोरो उचालेर माया गर्थी । समय बित्दै जाँदा विन्दियाले अरु छोराहरु पनि जन्माएकी थिई– जेठो छोरो नै अप्ठ्याराको ओखती हुन्छ भन्ने सामाजिक कथनका विश्वासमा गोनुझामै धेरै लगाव थियो रघु र विन्दियाको ।
छोरी अलिकति हुर्किएपछि सर्कसमा बेचिदिएर छोरो पढाएको थियो रघुले । पुरुषहरुको बोलवाला र हैकमका अगाडि चुपै थिई विन्दिया ।
समय कति छिटो बित्दो रहेछ– पोटिलो अनुहार, कालो कपाल, सुन्दर गाजलु आँखाहरु भुक्क मोटो छोरो गालामा टाँसेर हेर्दा त्यो ऐना कत्ति जवान भएर मुस्कुराउँथ्यो– आत्मविश्वासले बोल्थ्यो– ‘मेरो बाबु गोनु !’ गोनु पनि साना हातहरुले आमाका गाला र ओठहरु सुम्सुम्याउँथ्यो । तर किन हो– आँखाहरु मधुरा जस्तै ! ध्वाँसोको कसले छोपिएर त्यो ऐना पनि धमिलो जस्तो । निधारमाथिका कपालहरु सेता सबै– हाँस्दा पोको पर्ने गालाका मासुहरू खै त ? मुस्कुराउन बिर्सेका ओठहरु– झर्न मन गर्दै दुखेका दाँतहरू, रित्ता काखहरु ! चिरिएका आँगनहरु, एक अनकण्टार झैँ लाग्ने चौका र चुल्हाहरु । कुँडोमा आगो ठेल्दै गरेको रघुलाई छेउमा बोलाइ–देखाउँदै ऐना वेलीबिस्तार लगाइ ! बोलेन रघु, गर्हुंगो छाती पार्दै आँखाबाट चार थोपा आँशु आँगनमा पोख्छ । अनि हेर्छ ऐनामा ऊ पनि त पुरानो भएछ– जिम्मेवारीका लहराले पिसिएर सिलौटो झैँ चिल्लो तालु, आँखीभौँहरु बढेर अलपत्र लामा घुम्रिएर सेतै आँखै छोप्ला जस्तै ! नाकभित्रका रौँहरु फुलेर बाहिर निस्किएका छि ! कस्तो घिन लाग्ने जस्तै । भरिला दाँतहरु खोज्छ मुख बाएर भित्रसम्म । गोनु छेउमा आउँथ्यो, तिघ्रामा उफ्रन्थ्यो– मकै चपाएर मुखभरी हालिदिन्थ्यो । छिट्टै निलेर अर्को आँ गर्दा हतारो पथ्र्यो रघुलाई मकै सेलाउन ।
रघु सम्झन्छ– जीवनभर उसले कुनै कुकर्म गरेन, नैतिकतामा दुव्र्यसनहरु कहिल्यै मिसाएन । भट्टीका टाटीका च्यापहरुमा छेलिएर कहिल्यै डबका समाएन । तल्लाबारीका घरहरुमा भक्ष बनाउन लगाएर तासजुवामा कहिल्यै जोतिएन । बालखैमा ल्याएकी विन्दिया प्रति समर्पित रघु कुनै रोगको शिकार पनि थिएन । थियो त केवल छातीभरी ममता छिटाहरु ! त्यति पनि सानी नातिनीलाई चिया सेलाइदिँदा ‘रोग सर्छ जुठो !’ भनेर सातो उडाएकी थिई बुहारीले– सधैँका लागि छातीभित्रै सुक्ने गरेर ।
रघु निलो आकासमा बादलले छोपिएझैँ गह्रुंगो भएर कुर्सीमा अडिइरह्यो– ऊ छोरासँग भन्न चाहन्थ्यो– ‘मेरो कुनै रोग छैन’ ।
परिस्थिति र सामाजिक संरचनालाई घुलमिल पार्दै हातको ऐना विन्दियाको काखमा राखिदियो । लोग्नेका गालामा पीडाका मोतीहरु चिउँडो भिजाउँदै तप्कियो, विन्दियाले सप्कोमा जम्मा पारी । दुखेझैँ मुटु बिसाएर विन्दिया हेर्छे– रित्तै काखहरु अनि आँगन– ‘आमा सञ्चै छौ ? के खायौ आज ?’ सम्म नसोध्ने गोरेटोहरु । आँशुले भरिएछ काखको ऐना– रघु बजारिदिन्छ आँगनभरी ऐना र बिर्सन खोज्छ पुराना सबै सम्झनाहरु ।
ऐनाको छिन्द्रिङ्ग आवाजसँगै नारी आवाज सुनिन्छ पर कतै क्षितिजबाट । अनि बच्चाहरुको मसिनो तोतेबोली आफ्नै नजिक आँफैतिर आएझैँ । धुमिल आकृतिको नारी स्वरुप रघु र विन्दिया ठम्याउन खोज्छन्– ‘ हाम्री हेली त हैन ?’ अहँ हैन दुई तीनवटा बच्चाहरु पनि छन् जस्ता । विन्दियाका आँखाले ठम्याउन नसक्दै रघु छोरी चिनेर खुशीले उचालियो ।
‘आमा…’ उस्तै आवाज दुरुस्तै । आमाले पनि चिनी । तीस बर्षपछि हेली बाबुआमाका अघि देखिएकी थिई । आमाले हेलीलाई सुम्सुम्याइ, उही रंग, उही कपाल, उही कोठी । भाइ सेक्दा उछिट्टिएर कोइलाले बनेको ठूलो खत ।
हेलीले भाइहरु सोधी–माइलो पल्टनमा गएको रे, देशको नुन खाएर देशको सेवा गर्न– कंगोमा बम चल्यो कि क्या हो ? पर हेर्छु– आकाश कालो भयो, धुवाँ उडेको देख्दा लाग्छ, बारुदले आँखाहरु बिझाए होलान् उसका ।
‘अनि आमा कान्छो त सानै थियो नि खै त ?’
‘द्वन्द्वका बेलादेखि नै घर आएन, साँझसम्म अबेर रातिसम्म आएन–कोही देख्दा पनि कान्छो झैँ लाग्छ आयो कि भनेर–तेरा बा पनि धाराका डिलमा चढेर परसम्म हेर्थे– आउँदैछ कि भनेर–तर पटक्कै आएन, अहिले त हेर्न छाडे अब । म त राती पनि– ‘आमा ढोका खोल न म कान्छो आइपुगेँ’–भनेझैँ झझल्कोमा पर्छु । त्यो कालो द्वन्दको भुमरीले कान्छोसँगै उसका साथीहरुलाइ पनि बेपत्ता पार्यो । उनीहरु त माया मार्यौँ अब भन्छन्– छोरी म त त्यही कान्छाको आशमा एकमुठी सास लिएर बसेकी छु ।‘
‘अनि गोनुझा कता गयो आज ?’
‘सनक्कै हिँड्यो– नसोधी सामान बोझाएर, आँगन र सिकुवामा बेरा बारेर नटेक्नु भनेर । हामीले नै सम्हालेको जेथोबाट अलिकति जिउनी अरे – हाम्रा लागि छुट्याइदिएर । पर सुन्छु भट्भटेको आवाज–आयो अरे, देख्दिन, ठम्मिँदैनन् आँखाहरु । अनि भन्छु बालाई, हेर्छन् बाटो– आउँछ कि भनेर । खै त आज पनि मधुरो हुँदै गयो आवाज, नआइ गएछ कि क्या हो ? नानीलाई घाममै उभ्याएर गोडा गल्नेगरी’
आमाका बेदना, भोगाइका अर्थ र नियतिका अगाडि उसको कथा खल्लो थियो । उसले सर्कसमा भोगेका कथा र बाबु नचिनिएका तीन सन्तानको कथामा टिपेक्स लगाउँदै भनी– ‘आमा मलाइ ज्वाइँले लिन पठाउनु भएको, तपाइँलाई लिएर जान्छु’।
‘अनि बालाई एक्लै कसरी छाडौँ ?’
‘हैन बुबा आमा दुबै’
तीन साना छोराहरुसहित दुवैलाई लिएर वृद्ध आश्रम पुगेकी हेलीलाई सञ्चालकले माथिदेखि तलसम्म हेर्छ, र सोध्छ– ‘के तिमी यहाँको खाना बनाउन, सरसफाइ गर्न सक्छौ ?’ सम्झौतामा हेली बोली– ‘के तपाइँ मेरो बुबा आमाको खान बस्नको राम्रो प्रवन्ध मिलाउन सक्नुहुन्छ ? अनि मेरा छोराहरुको पढाइ लेखाइको बन्दोबस्त गर्न सहयोग पु¥याउनु हुन्छ ?’ के सोच्यो आश्रमवालाले एकछिन चुप लाग्यो र बोल्यो– ‘मैले यी कैयन बुढाबुढीहरुका दुःख सुनेको छु, सन्तानले आश्रमको गेटसम्म राति नै ल्याएर छाडेका, बस बिसौनीहरुमा कुराएर भागेका छोराहरु, हवाइफिल्ड र ठूला शहरका बीचमा सन्तानले अलपत्र पारेकाहरु । अहिलेसम्म तिमीमात्र एउटी सन्तान हौ, जसले आफ्ना वृद्धहरुको संरक्षणका लागि सही निर्णय ग¥यौ ।‘ उसले हेलीलाई अलिकति फुक्र्याउन खोज्यो ।
हेलीलाई थाहा थियो– उसको यो सम्झौता वन्दी कैदी भन्दापनि भयावह थियो । बँधुवा मजदुरको भन्दा पनि पीडादायी थियो । एकपल्ट थाकेर आश्रमका सिकुवामा पल्टिएका बुवाआमा हेरी, पोका–पत्यौरासँग लडीबुडी खेल्दै गरेका निश्चल छोराहरु नियाली । पुरानो ब्यागबाट एउटा डायरी झिकेर मेरो हातमा राख्दै सम्झौताको कागजमा सही गरी ।
म पनि हेलीसँग विदा भएँ । समयको छोटो अन्तराल पछि फोनको घण्टीले मलाइ झस्कायो, मुटु भारी भयो, रिसिभर समातेको हात चिसो भयो, मन खन्द्रङ्ग भयो, आश्रमबाट फोन रहेछ– मृत्यु थियो मेरी कथाकी हेलीको । मैले उसको डायरी खोजेँ– भित्र एउटा पत्र थियो ।
‘दिदी संविधानले मलाई पनि पुरुष सरह उभिने अधिकार दियो अरे, यो युगीन दिन मेरा लागि आशाको त्यान्द्रो बन्यो । मेरै नामबाट मेरा छोराहरुले परिचयपत्र बनाउन पाउने भए रे । धागो चुँडिएका चङ्गाझैँ लत्रेलान् मेरा बचेराहरु–चिन्ता थियो, सडक बालक बनेर जीवनभर कष्ट भोग्लान् कि–डर थियो । दिदी म काला निला पुरूषहरुबाटै भोगिएर नाजायज सन्तानकी कुमारी आमाको उपाधि बोक्न बाध्य छु । लुछिएर फोहोरी पुरुषहरुबाट एड्स पीडित छु । उनीहरुकै बन्दीगृहमा गहना र श्रृङ्गारको जञ्जीरमा कृत्रिम हाँसो लिएर जीवनका महत्वपूर्ण पलहरु गुमाएँ । उनीहरुकै इशाराको लक्ष्मणरेखामा विवश जिन्दगी विताइरहेँ । पुरूषकै उचनीचबाट सुकुम्वासी बनाइएँ, उनकै दासत्वमा जीवन बिताएका धेरै आमाहरुजस्तै म पनि ।
दिदी जीवन जसरी भोगे पनि माइतीका पाखा र आँगनहरुमा ममाथि फैलिएको एड्स असरल्ल छर्न चाहिँन, त्यसैले आश्रमको बास नै उचित ठानेँ । न्याय दिलाइदिनुहुन्छ भन्ने आशामा छोराहरु छोडेकी छु । सीमाना पारिका भनेर अलमलमा नपरुन्, समाजको औँला समातेर राष्ट्रका लागि लायक बनून् । सँगै थियो बुवाआमाको नागरिकताको पुरानो फोटोकपीको प्रमाण । स्थायी ठेगाना झापा लेखिएको हेलीको नेपाली नागरिकता । पूरा ठेगाना भनेर लेखेकी थिई ।
हेली मगर, गैरीगाउँ–४(शान्तिनगर)