वैदेशिक रोजगारीबाट फर्किएको ४ दिनमै धारिलो हतियार प्रहार, श्रीमती अनुसन्धानको दायरामा

0
3

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ चित्रे टोलमा शनिबार राति ३६ वर्षीय राजनकुमार अधिकारीमाथि घरभित्रै धारिलो हतियार प्रहार भएको छ ।


घरभित्र सुतिरहेका बेला राति करिब १०ः३० बजेतिर उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीका अनुसार अधिकारीको मुख, हात, टाउको र बायाँ कान लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनापछि तत्काल उद्धार गरेर उनलाई उपचारका लागि विराटचोकको सुकुना सामुदायिक अस्पताल लगिएको थियो । त्यहाँ आवश्यक उपचार सम्भव नभएपछि उनलाई विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार अधिकारी २ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । फागुन ५ गते मात्र नेपाल फर्किएका हुन् । वैदेशिक रोजगारीबाट फर्किएको ४ दिनमै उनीमाथि आक्रमण भएको हो । घटना वैदेशिक रोजगारीबाट फर्किएलगत्तै भएकोले स्थानीयस्तरमा चासो उत्पन्न भएको छ ।

डीएसपी चौधरीले प्रारम्भिक अनुसन्धानका आधारमा घटनामा अधिकारीकी पत्नी रन्जना कार्की (अधिकारी)को संलग्नता देखिएको बताए । ‘प्रारम्भिक अनुसन्धानबाट बाहिरी व्यक्तिसँग मिलेर श्रीमतीले घटना गराएजस्तो देखिन्छ,’ उनले भने । रन्जनालाई घटनास्थलबाट नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

सोधपुछका क्रममा रन्जना आफैंले श्रीमानलाई खुर्पाले प्रहार गरेको स्वीकार गरेकी छन् । तर, घटनास्थलको अवस्था हेर्दा उनी एक्लैले यस्तो क्रूरतापूर्ण घटना गर्न सकेकी जस्तो देखिँदैन । डीएसपी चौधरीले भने, ‘घटनामा अरु व्यक्ति पनि संलग्न रहेको आशंका छ । सबै कोणबाट अनुसन्धान गरेर वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको छ ।’

हाल रन्जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ । घटनामा संलग्न अन्य सम्भावित व्यक्तिको खोजी र पहिचानका लागि इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा टोली खटिएको छ । घटनाको वास्तविककता पत्ता लगाउन प्रहरी सक्रिय छ ।

प्रहरीका अनुसार वैदेशिक रोजगारीबाट फर्किएको केही दिनमै आफ्नै घरमा भएको यो आक्रमणले स्थानीय समुदायमा आतंक सिर्जना गरेको छ । प्रहरीले घटनासम्बन्धी थप प्रमाण संकलनको काम भइएरहेको र सबै सम्भावित विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here