
निर्वाचनको माहोल बढेसँगै आममतदाता कस्तो व्यक्तिलाई मतदान गरेर विजयी बनाउने भन्ने सोचमा छन् । अब केही दिनमा मतदानको समय आइसकेकाले अब निर्णय गरिसक्नुपर्ने भइसकेको छ । यस सम्बन्धमा सबैले भन्ने एउटै भनाइ छ– हाम्रो होइन राम्रो छानौं । त्यस्तै योग्य र असल उम्मेदवार चुन्ने सल्लाह पनि प्रायः सबैको उस्तै छ । आखिर राम्रो र योग्य कसलाई भन्ने ? नीतिशास्त्रको भनाइ हेरौं ।
लोक व्यवहार जान्ने :
लोक व्यवहार जान्ने व्यक्तिलाई जनप्रतिनिधि बनाउनुपर्छ भनिएको छ । लोक अर्थात् जनतासँग व्यवहार गर्न सिपालु हुनुपर्छ । जो समाजका कुन अवस्थाका व्यक्तिसँग कस्तो सम्बन्ध राखेर व्यवहार गर्ने भन्ने जान्दछ र सोही अनुसार व्यवहार गर्दछ त्यही नै मतदाताको मन जित्न सक्षम हुन्छ । दुःखमा भाग्ने सुखमा जाग्ने प्रवृत्ति भुएको उम्मेदवार मतदाताको रोजाइमा पर्दैन ।
सदाचार :
भ्रष्टाचारको विपरितार्थक शब्द हो सदाचार । राजनीतिक क्षेत्रको सबैभन्दा ठूलो दोष दुरगुणको रुपमा रहेको भ्रष्टाचारको लेस मात्र पनि गन्ध नभएको सदाचारी व्यक्तिले नै निःस्वार्थ भावले जनसेवा गर्न सक्छ । भ्रष्टाचारमुक्त, स्वच्छ छवि भएको, उच्च नैतिकतायुक्त व्यक्ति नै जन प्रतिनिधिमा चयन गर्न योग्य हुन्छ । सदाचारी व्यक्ति नै आफ्नो कर्तव्य पूरा गरी सामाजिक उत्तरदायित्व निर्वाह गर्न समर्थ हुन्छ ।
दया, उदारता :
अरुको दुःखप्रति दयाको भाव नभएको व्यक्ति असल हुन सक्दैन । जनताको दुःख–पीडामा बेवास्ता गर्ने करुणाको भाव नभएको पत्थरको मन हुनेले केही गर्दैन । सबैलाई (पृथ्वीका प्राणी) जल बर्षाउने बादल सधैँ माथि र केही नदिने समुद्र तल रहे झैं दानी दयालु व्यक्ति उच्च स्थान प्राप्त गर्दछ । दयारहित अदाता माथि उठ्न असमर्थ हुन्छ । उदार भावनाले नै माथि पु¥याउँछ । प्रकृतिको स्वभाव अनुसार पनि माथि हुन यी गुणको अनिवार्यता दर्शाइएको छ ।
शत्रु र मित्रलाई समान ठान्ने :
यहाँ समान भन्नाले कसैप्रति पक्षपात नगरी सबैप्रति समदृष्टि राख्ने स्वभाव आवश्यक छ नेता वा नेतृत्व लिने व्यक्तिमा भन्न खोजिएको हो । आफ्नो र अरुको नभनी भिन्न वा विरोधी विचारभएकालाई समेटेर लैजाने, खराबलाई पनि असलतर्फ प्रेरित गर्न सक्नेले नै समूह परिचालन गर्दै अगि बढ्न सक्षम हुन्छ । भिजन (दुर दृष्टि) बिनाको नेता र सिजन बिनाको खेती काम लाग्दैन भनिएकै पनि छ । जान्नेहरु शत्रुप्रति शत्रुता वा बदलाको भावना छोडेर मित्रवत व्यवहार गरी अन्ततः मित्र बनाइ छाड्छन् ।
काम क्रोध लोभादि मुक्त (जितेन्द्रीय)
गीतामा यी तीनलाई नरकको द्वार भनिएको छ । नरक भनेको दुःख वा जेल हो । जो यिनको वशमा परेर कर्म गर्छ त्यो नरकमा जाकिन्छ । ठूला पदमा पुगेकाहरु पनि लोभादिका वशमा परेर (भ्रष्टाचारी बनेर) जेलमा जाकिएको देखिएकै छ । यिनको प्रभाव पर्नेले कसैको कल्याण गर्न सक्दैन । कामभावको असर थाहा भएकै कुरा हो । चिसोपानीमा पहाड फोडेर निस्कने ताकत हुन्छ भने क्रोध वा तातो स्वभाव सिद्धिको बाधक हो । यिनको प्रभावबाट मुक्त व्यक्ति जनमतको अधिकारी बन्न सक्ने बताइन्छ ।
विद्वान वा शिक्षित :
यहाँ विद्वान वा शिक्षित भनेर पटमुर्खलाई संकेत गरिएको होइन । ज्ञान, सिप, विनय, चेतना भएको सामान्य शैक्षिक योग्यता भएको भन्ने बुझ्नु पर्छ । आजका पढेलेखेकाहरु विद्वान होइन विद्याहिन बनेका छन् । नैतिक मूल्यमान्यता छोड्दैछन् । विद्या गुणले युक्त व्यक्ति जनताको प्रतिनिधि बन्न बनाउन योग्य हुन्छ । पदीय जिम्मेवारी काम, कर्तव्य र अधिकारको पालना गर्न पनि योग्यता जरुरी छ ।
सत्यवादी हुनुपर्छ : झूठको खेती नगर्ने
छल गर्न सिपालु मान्छेलाई कसैले विश्वास गर्दैन । झूठो बोल्ने, व्यवहार गर्ने कसैको विश्वासपात्र बन्न सक्दैन । झूठको खेती गर्नेले जनताको सेवा गर्न असम्भव छ । सत्यनिष्ठा र सत्यमा अडिग रहने कुशल नेता बन्ने भएकाले तिनलाई चुन्नु बुद्धिमानी हुन्छ । झुटो टिक्दैन सत्य डग्दैन भनिएकोले झुटो आश्वासनका भरमा विजयी बन्न कोही सक्दैन । छलकपटको परिणाम सधैँ दुःखदायी हुन्छ ।
धर्मज्ञ हुनुपर्छ :
यहाँ प्रश्न उठ्न सक्छ राजनीति गर्नेलाई किन धर्मको कुरा आयो ? झट्ट विचार गर्दा कुरा सही पनि देखिन्छ । तर नीतिकारको भनाइ छ– राजनीति धर्मद्वारा निर्देशित हुनुपर्छ । धोती लगौटी लगाएका एक व्यक्ति महात्मा गान्धी भारतका राष्ट्रनिर्माता बनेका होइनन् । लोकप्रिय र शक्तिशाली भारतीय प्रधानमन्त्री कति धार्मिक छन् भनिरहन पर्दैन ।
अर्थात् पण्डित मात्र होइन एउटा कुशल शिक्षक, कलाकार, नेता, डाक्टर, इञ्जिनियर, व्यवसायी, प्रशासक, साहित्यकार, पत्रकार हुन पनि धर्म आवश्यक छ । धर्मको मर्म नजान्ने नबुझ्ने व्यक्ति शीर्ष तहमा पुगे पनि हितकर नहुने हुन्छ । नास्तिकता कल्याणको बाधक बन्ने गरेको पाइन्छ । धर्मप्रति झुकाव लगाव भएकालाई योग्य र असल ठान्नुपर्छ भनिएको छ ।



























