झापा, युवावर्गमा नेतृत्व क्षमता विकाससँगै द्वन्द्व व्यवस्थापन र शान्ति निर्माणप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको आयोजनामा १२१ औँ रोटरी दिवस विविध कार्यक्रमसहित सम्पन्न गरिएको छ।
बिर्तामोडस्थित इन्द्र चन्द्र क्याम्पसमा आयोजित कार्यक्रममा बीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै ‘द्वन्द्व व्यवस्थापन र शान्ति निर्माणमा युवाको भूमिका’ विषयक प्रशिक्षण सञ्चालन गरिएको थियो । कार्यक्रममा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक प्रशिक्षण समेत प्रदान गरिएको थियो ।
युवाहरूलाई सामाजिक जिम्मेवारीबोध गराउँदै सकारात्मक सोच, संवाद क्षमता र सहकार्यको संस्कार विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रोटरी क्लबले जनाएको छ । प्रशिक्षणमा ५४ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रममा रोटरीको इतिहास, उद्देश्य र सामाजिक योगदानबारे जानकारी गराउने उद्देश्यले हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगिताले विद्यार्थीहरूमा रोटरी आन्दोलनप्रति चासो र ज्ञान विस्तारमा सहयोग पुगेको आयोजकको भनाइ छ ।
कार्यक्रमको सहजीकरण क्लबकी अध्यक्ष पुष्पाञ्जलि ठकुरी सिंन्हा, सचिव रोशन बुढाथोकी तथा पूर्वअध्यक्ष नवीन उप्रेतीले गरेका थिए । उनीहरूले युवालाई शान्ति निर्माण, सहअस्तित्व र जिम्मेवार नागरिकताको अभ्यासमा सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा क्लबका प्रेसिडेन्ट नोमिनी तुलसी मिश्र, क्लव एड्मिनीट्रेसन सन्नी गोयल, क्याम्पस प्रमुख प्रकाश दाहाल तथा प्राध्यापक वालकृष्ण चेम्जोङको आतिथ्य रहेको थियो ।
वक्ताहरूले प्रविधिको तीव्र विकाससँगै बढ्दो साइबर जोखिमबाट जोगिन सचेतना अपरिहार्य भएको उल्लेख गर्दै युवाले सामाजिक परिवर्तनका वाहकको भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए ।
रोटरी दिवसको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व विकास, संवाद संस्कृति र शान्तिपूर्ण सहअस्तित्वबारे व्यावहारिक ज्ञान प्रदान गरेको सहभागीहरूले बताएका छन् ।































