प्रत्येक बुथमा कम्तीमा ३० जना ‘नेशनल युथ फोर्स’ स्वयंसेवक खटाइने – अध्यक्ष ओली

0
3

झापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले गठन गरेको ‘नेशनल भोलेन्टियर्स फोर्स’ ले अब देशका संवैधानिक तथा राज्यका महत्वपूर्ण संरचनामाथि हुने आक्रमण रोक्ने दाबी गरेका छन् ।
झापाको दमकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओलीले विगतमा युवाशक्ति व्यवस्थित रूपमा परिचालन नभएकै कारण राज्यका संरचना क्षतिग्रस्त भएको टिप्पणी गरे । उनले अब त्यस्तो अवस्था दोहोरिन नदिने बताएका हुन् । देशमा विभिन्न आन्दोलनका क्रममा सरकारी संरचनामा आगजनी र तोडफोड भएको अनुभवबाट पाठ सिक्दै पार्टीले ‘नेशनल युथ फोर्स’ गठन गरेको अध्यक्ष ओलीको भनाई छ । ‘देशका संस्थामाथि आक्रमण हुने परिस्थिति अब स्वीकार्य हुँदैन,’ भन्दै उनले राज्यका संरचना जोगाउन संगठित युवा परिचालन आवश्यक रहेको धारणा राखे ।
पूर्व प्रधानमन्त्रीसमेत रहेको ओलीले ‘नेशनल युथ फोर्स’ चुनाव लक्षित संरचना नभई दीर्घकालीन उद्देश्यसहित गठन गरिएको स्पष्ट पारे । पार्टीको जनवर्गीय संगठनका रूपमा रहने उक्त फोर्सले शान्ति सुरक्षा, अनुशासन र सामाजिक स्थिरतामा सहयोग गर्ने बताए ।
उनले राज्य संयन्त्र मात्रै पर्याप्त नहुने उल्लेख गर्दै नागरिकस्तरबाट समेत जिम्मेवार सहभागिता आवश्यक भएको बताए । ‘देश पहिलो’ भन्ने मूल मान्यताका साथ संगठन परिचालन गरिने उनको भनाइ थियो ।
अध्यक्ष ओलीले आगामी निर्वाचनलाई लक्षित गर्दै बुथ कब्जा हुन नदिने चेतावनी दिएका छन् । उनले निर्वाचन प्रक्रिया निष्पक्ष र सुरक्षित बनाउन प्रत्येक मतदान केन्द्रमा स्वयंसेवक परिचालन गरिने जानकारी दिए ।
उनका अनुसार देशभरका हरेक बुथमा कम्तीमा ३० जना स्वयंसेवक खटाइने योजना रहेको छ । ती स्वयंसेवकले प्रहरी प्रशासनसँग सहकार्य गर्दै शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्ने उनले बताए ।
ओलीले लोकतान्त्रिक अभ्यासलाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने उल्लेख गर्दै निर्वाचनलाई भयमुक्त, पारदर्शी र व्यवस्थित बनाउन पार्टी प्रतिबद्ध रहेको दाबी गरे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here