झापा २मा उम्मेदवार–मतदाता प्रत्यक्ष संवाद

0
3

झापा।

प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै झापा क्षेत्र नम्बर २का उम्मेदवारहरूबीच मतदातासँग प्रत्यक्ष संवाद (ककस) कार्यक्रम सम्पन्न भएको छ ।

लोकतान्त्रिक अभ्यासलाई व्यवहारमै बलियो बनाउने उद्देश्यसहित बिर्तामोडमा आयोजित कार्यक्रममा उम्मेदवारहरूले आफ्ना चुनावी दृष्टिकोण सार्वजनिक गर्दै मतदाताका जिज्ञासाको सामना गरेका छन् ।

वीरता जेसीज, अर्जुनधारा जेसीज, बुधबारे जेसीज र सुरुङ्गा जेसीजको संयुक्त आयोजना तथा संवाद समूहको संयोजन र सहजीकरणमा सम्पन्न कार्यक्रमले निर्वाचनलाई केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभई सार्वजनिक जवाफदेहिताको अभ्यासका रूपमा स्थापित गर्ने प्रयास गरेको आयोजकहरूले बताएका छन् । मतदातालाई उम्मेदवारका एजेण्डा प्रत्यक्ष सुन्ने अवसर उपलब्ध गराउँदै जिम्मेवार राजनीतिक संस्कार विकास गर्ने लक्ष्य कार्यक्रमको रहेको प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीले बताए ।

उनले लोकतन्त्रको सुदृढीकरणमा युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए । निर्वाचन प्रतिनिधि चयन गर्ने औपचारिक प्रक्रिया मात्र नभई सक्षम र उत्तरदायी नेतृत्व छनोट गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै उनले मतदातालाई सचेत, विवेकपूर्ण र जिम्मेवार मतदान गर्न आग्रह गरे । उम्मेदवारहरूले जनतासामु गरेका प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिएका थिए ।

संवाद कार्यक्रममा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र समूहका उम्मेदवारहरूको सहभागिता रहेको थियो । प्रतिनिधि सभाका लागि झापा क्षेत्र नं. २का उम्मेदवारहरु नेपाली कांग्रेसबाट सरिता प्रसाई,राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना मगर, नेपाली कम्युनिस्ट पार्टीबाट धर्मशीला चापागाईं, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भद्रप्रसाद नेपाल, नेकपा (माओवादी) विप्लव समूहका अर्जुनकुमार पाण्डे, उज्यालो नेपाल पार्टीबाट चूडाकर्ण बेघा तथा स्वतन्त्र उम्मेदवारका रूपमा डा. युवराज संग्रौलाले आफ्नो एजेन्डा प्रस्तुत गर्दै मतदाताको जिज्ञासाको जवाफ दिएका थिए ।

उम्मेदवारहरूले आ–आफ्ना चुनावी एजेण्डा प्रस्तुत गर्दै झापा–२ को समग्र विकासका लागि शिक्षा र स्वास्थ्य सेवाको सुधार, कृषि आधुनिकीकरण, औद्योगिक विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना, उद्यमशीलता प्रवद्र्धन तथा सुशासन स्थापना आफ्नो प्राथमिकतामा रहेको बताएका थिए ।

कार्यक्रमको प्रश्नोत्तर सत्र विशेष रूपमा सक्रिय देखिएको थियो । सहभागी मतदाताहरूले पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने उपाय, भ्रष्टाचार नियन्त्रण, युवा पलायन रोकथाम, स्थानीय उद्योग संरक्षण तथा दीर्घकालीन विकास योजनाबारे उम्मेदवारहरूसँग प्रत्यक्ष प्रश्न उठाएका थिए । उम्मेदवारहरूले उठाइएका प्रश्नको खुला रूपमा जवाफ दिँदै आफ्ना नीतिगत धारणा स्पष्ट पारेका थिए । प्रत्यक्ष संवादमा विर्तामोड बसपार्कको ५१ विगाहा जग्गाको समस्या, चिया क्षेत्रका समस्याका समाधानका उपाय, कृषिथोक बजारको समस्या लगायतका सवालहरु उठाइएको थियो ।

स्थानीय नागरिक, युवा, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको सहजीकरण संवाद समूहका सहजकर्ता सुमन पुरीले गरेका थिए ।

वीरता जेसीजका अध्यक्ष लोकचन्द्र श्रेष्ठ, बुधबारे जेसीजका अध्यक्ष कुशल अधिकारी, अर्जुनधारा जेसीजकी अध्यक्ष बिमला भट्टराईको संयुक्त अध्यक्षतमा भएको कार्यक्रम सुरुङ्गा जेसीजकी अध्यक्ष मेनुका उप्रेतीले सञ्चालन गरेकी थिइन् । वीरता जेसीजका कानूनी सल्लाहकार प्रभात मास्के कार्यक्रम संयोजक रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य बुधबारे जेसीसका अध्यक्ष अधिकारीले, आस्था वाचन अर्जुनधारा जेसीजकी अध्यक्ष भट्टराई र प्रत्यक्ष संवादको आचारसंहिता वाचन वीरता जेसीजका अध्यक्ष श्रेष्ठले गरेका थिए ।

निर्वाचन नजिकिँदै जाँदा मतदाता र उम्मेदवारबीच प्रत्यक्ष संवादको अभ्यासले स्थानीय राजनीतिक बहसलाई थप सक्रिय बनाएको सहभागीहरूको धारणा रहेको थियो । सहभागीबाट लिखित प्रश्न लिएर सहजकर्ताले अनुमति दिई प्रश्न राख्न लगाउने आचारसंहितासहित व्यवस्थित रुपमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here