झापा,

‘दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियान’ भन्ने नारासहित साइकलमा जिल्ला घुम्ने कार्यक्रम तय भएको छ ।
जिल्लालाई साइकल पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, पूर्वी नेपालमा दिगो तथा शून्यफोहर पर्यटन प्रवर्द्धन गर्ने, साइकलमार्फत स्वस्थ र सक्रिय जीवनशैलीलाई प्रोत्साहन गर्नेलगायत उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष आकाश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार साइक्लिङ क्लबले आयोजना गरेको ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम यही फागुन ३० गतेदेखि आगामी चैत २ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको मुख्य प्रवर्द्धकका रूपमा पर्यटन कार्यालय काँकरभिट्टा रहेको छ ।
उहाँका अनुसार पहिलो पटक साइकलमा जिल्ला घुम्ने कार्यक्रमअन्तर्गत १२ पालिकाको यात्रा तय गरिनेछ । पहिलो दिन ६० किलोमिटरको यात्रा हुने उहाँले जानकारी दिनुभयो । मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकबल, भद्रपुर, हल्दीबारी र विर्तामोड नगरपालिकाको साइकलमा फन्को लगाइने क्लबका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
पर्यटन कार्यालय, काँकरभिट्टाबाट सुरु भएको यात्रा बाहुनडाँगी–४९, धारा–मदन भण्डारी राजमार्ग–बर्ने चिया बगान–अर्जुनधारा जलेश्वरधाम–अर्जुनधारा नगरमा पर्ने सामुदायिक वन हुँदै जामुनखाडी सिमसार भएर दोमुखामा टुङ्गिने क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
दोस्रो दिन ८० किलोमिटरको यात्रा हुनेछ । दोमुखाबाट सुरु भएको यात्रा माइधार–चिल्लागढधाम–शिवगञ्ज बजार–चौरी–हुलाकीमार्ग–झापा बजार–राजगढ–जलथल जङ्गल बनियानी हुँदै नेपालको होचो स्थान कचनकबल पुगेर बनियानी बजारमा यात्रा टुङ्गिने उहाँको भनाइ छ ।
तेस्रो तथा अन्तिम दिन ५० किलोमिटरको यात्रा हुनेछ । बनियानीबाट किच्चकबध–भद्रपुर–हल्दीबारी हुँदै विराटपोखरी भएर विर्तामोडमा ‘घुमौँ झापा साइकलमा’ कार्यक्रमको अन्त्य हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
यात्रामा ५० जना साइकलयात्री तथा २० जना गाइड, मेकानिक र स्वयंसेवक रहनेछन् । कार्यक्रममा कम्तीमा २० प्रतिशत महिला र कम्तीमा २० प्रतिशत झापा बाहिरका सहभागी हुनेछन् ।
आन्तरिक तथा बाह्य पर्यटन, स्थानीय अर्थतन्त्रलाई सहयोग पु¥याउन, सीमा क्षेत्र, धार्मिकस्थल, सिमसार क्षेत्र तथा ग्रामीण भू–भागलाई जोड्दै झापालाई एक साइकलमैत्री गन्तव्यका रूपमा चिनाउन यो कार्यक्रमले सहयोग पुग्ने पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले बताउनुभयो ।





























