शिवगञ्ज ।

भानु माध्यमिक विद्यालय ले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ए प्लस (ए+) ग्रेड ल्याउन सफल १४ जना विद्यार्थीलाई विशेष अवार्ड प्रदान गर्दै सम्मान गरेको छ ।
विद्यालयको ५८ औँ स्थापना दिवस तथा अभिभावक दिवसको अवसर पारेर आयोजित भव्य समारोहका बीच उत्कृष्ट नतिजा ल्याउने छात्र–छात्रालाई ‘भानु मावि अवार्ड २०८१’ प्रदान गरिएको हो । समारोहका प्रमुख अतिथि तथा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा ले अवार्ड वितरण गर्दै सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउनु गौरवको विषय भएको बताए । उनले विद्यार्थीको सफलता विद्यालय प्रशासन, शिक्षक, अभिभावक र स्थानीय समुदायबीचको सहकार्यको परिणाम भएको उल्लेख गरे ।

अवार्ड प्राप्त गर्ने विद्यार्थीहरूमा माला बस्नेत, नीतिका पौडेल, तपस्या पौडेल, अभय थापा, श्रीजल पौडेल, स्नेहा शाह, सौगात संग्रौला, श्रेया पौडेल, सेम तामाङ, चाँदनी कुमारी नायक, सुजल मिश्र, दिनबन्ध केसी, भुवन कडरिया र नुपमा प्रसाई रहेका छन् । यस्तै, २०८० सालको एसईई परीक्षामा सर्वाधिक जीपीए ल्याई नगर टप हुन सफल विद्यार्थी मिराक हाङ चेम्जोङ र प्रमिला उप्रेतीलाई पनि विशेष रूपमा सम्मान गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा कक्षा १ देखि १२ सम्म अध्ययनरत विभिन्न तहका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । कक्षा १–५ तर्फ अनमोल चौहान र खुसी राईलाई स्वर्गीय भानुभक्त–टिकादेवी संग्रौला स्मृति छात्रवृत्ति, रितेश खनाल र अर्चना अधिकारीलाई टेकनाथ–भगीरथ मैनाली छात्रवृत्ति प्रदान गरियो । त्यसैगरी रोशन सिग्देल र आइशा इजमलाई भानुभक्त–टिकादेवी संग्रौला स्मृति छात्रवृत्ति तथा कुञ्जन अधिकारी र दिया अधिकारीलाई टेकनाथ–भगीरथ मैनाली छात्रवृत्ति प्रदान गरिएको छ ।

कक्षा ९–१० तर्फ सुशान्त मैनाली र कञ्चन काफ्लेलाई स्वर्गीय भानुभक्त–टिकादेवी संग्रौला स्मृति छात्रवृत्ति तथा गणेश टुड र सम्झना चौधरीलाई टेकनाथ–भगीरथ मैनाली छात्रवृत्ति प्रदान गरिएको छ । प्राविधिक धारतर्फ कक्षा ९–१० का अभय थापा र श्रेया पौडेल तथा कक्षा ११–१२ का सुरज आचार्य र रेखा नेपाललाई जितेन्द्रराज चेम्जोङ÷तुङ्गवाङफे छात्रवृत्ति प्रदान गरिएएको थियो । कक्षा ११–१२ का रुपेश ताजपुरिया, किन्जु समाल मगर, दुर्गा भण्डारी र मनु लिम्बूलाई मनकुमार इजम ‘मुन्ना भाइ’ स्मृति छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयमा स्थापना गरिएका विभिन्न अक्षय कोषबाट प्राप्त ब्याज रकममार्फत छात्रवृत्ति वितरण गरिएको प्रधानाध्यापक डामकुमार कुँवरले जानकारी दिए । उनका अनुसार जितेन्द्रराज चेम्जोङ–सरस्वती तुङ्गवाम्फे चेम्जोङ छात्रवृत्ति अक्षय कोषमा १ लाख ११ हजार १११ रुपैयाँ, स्वर्गीय भानुभक्त–टिकादेवी संग्रौला स्मृति छात्रवृत्ति कोषमा १ लाख ५५ हजार ११० रुपैयाँ, टेकनाथ–भगीरथ मैनाली छात्रवृत्ति कोषमा १ लाख १ हजार १११ रुपैयाँ तथा स्वर्गीय मनकुमार इजम ‘मुन्ना भाइ’ स्मृति अक्षय कोषमा १ लाख १ हजार रुपैयाँ सञ्चित रहेको छ ।
कार्यक्रमका अवसरमा विद्यालयकी शिक्षिका भीमा कुमारी खत्रीद्वारा लिखित ‘अदृश्य पीडा’ नामक नाटक मञ्चन गरिएको थियो । पूजा चापागाईंको निर्देशनमा प्रस्तुत नाटकले विद्यालय उमेरका बालबालिकामा लागू औषधको दुष्प्रभावबारे सशक्त सन्देश दिएको थियो । नाटकले धेरै अभिभावक तथा विद्यार्थीलाई भावुक बनाएको दर्शकले बताए ।
यसै अवसरमा विद्यालयमा नर्सिङ कक्षाको समेत उद्घाटन गरिएको छ । प्रमुख अतिथि नगर प्रमुख थोप्राले नर्सिङ कक्षाको उद्घाटन गर्दै विद्यालयले शैक्षिक गुणस्तर र पूर्वाधार विकासमा निरन्तर प्रगति गरिरहेको उल्लेख गरे ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र इजमको अध्यक्षतामा सम्पन्न भएको थियो भने सहायक प्रधानाध्यापक टिका प्रसाद घिमिरेले स्वागत मन्तव्य राखेका थिए । विद्यालयका लेखा प्रमुख गणेश ढुंगेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
पछिल्ला वर्षहरूमा पूर्वाधार विकास, शैक्षिक सुधार तथा समुदायसँगको सहकार्यका कारण भानु माध्यमिक विद्यालय शिवसताक्षी नगरपालिकाकै अब्बल सामुदायिक विद्यालयका रूपमा स्थापित हुँदै गएको अभिभावकले बताएका छन् ।































