काँक्रेविहार (सुर्खेत),

कर्णालीमा १५ हजारभन्दा बढी सुरक्षाकर्मीहरू चुनावमा परिचालन गरिएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहका अनुसार सो सङ्ख्यामा प्रहरी र निर्वाचन प्रहरीहरू निर्वाचनको सुरक्षामा खटिएको बताउनुभयो ।
पाँच हजार ५८० नेपाल प्रहरी र नौ हजार ७४२ निर्वाचन प्रहरीहरू रहेका छन् । कर्णालीका विमानस्थल र कारागारहरूको सुरक्षा नेपाली सेनाले लिएको छ । यी क्षेत्रलाई संवेदनशील रूपमा हेरिएकाले सेनाले सुरक्षा जिम्मा लिएको हो ।
कर्णालीमा रहेका सुर्खेत, रुकुम पश्चिम, डोल्पा, मुगु, जुम्ला र हुम्ला जिल्लामा रहेका छ वटा विमानस्थल र नौ वटा कारागारको सुरक्षामा सेना खटिसकेको शाहले बताउनुभयो ।
कर्णालीमा १० लाख ३७ हजार २५० जना कुल मतदाता रहेका छन् । नौ सय ४१ मतदानस्थल र १४ सय ३७ मतदान केन्द्रहरू रहेका छन् ।































