तीर्थराज खरेल,
सुरुङ्गा ।

चुनावका बेलामा कुनै पनि उम्मेदवारले आफूलाई कम आँक्दैनन् । तर विगतको विरासत, वर्तमानको प्रवाह र भविष्यका योजनाका कारण जनतामा उम्मेदवारप्रतिको सोच र धारणा निर्माण हुने गर्छ । कसैले सङ्गठनको तागतमा त कसैले इतिहासको भूमिकाका आधार त कुनै दल आम मतदाताको माहौलका आधारमा विजय हुने दावा गर्छन् । आम निर्वाचन–२०८२ को प्रतिनिधिसभाको चुनावमा झापा क्षेत्र नं. ४ बाट १६ उम्मेदवारको मनोनयन रहेको छ ।
झापा–४ मा झापा गाउँपालिकाका ७ वार्ड, कनकाई नगरपालिकाका १ देखि ७ सम्मका वार्ड, गौरीगञ्ज गाउँपालिकाका १ र २ वार्ड, गौरादह नगरपालिकाका वार्ड नं. ९ र शिवसताक्षी नगरपालिकाका ११ वडा गरी जम्मा २८ वटा वार्ड समेटिएका छन् । १ लाख ३० हजार ७ सय १२ मतदाता रहेको क्षेत्र नं. ४ मा प्रत्यासीमध्ये मुख्य ५ जना चुनावी स्पर्धामा अगाडि देखिएका छन् । २०४८ यताका अधिकांश चुनावी नतिजा एमालेको पोल्टामा पर्दै आएकाले यो क्षेत्रलाई एमाले गढ भन्ने गरिएको छ ।
तथापि, २०५१ सालको निर्वाचनमा यो क्षेत्रबाट नेपाली काङ्ग्रेसका चक्रप्रसाद बाँस्तोला र २०६४ सालको संविधानसभा चुनावमा तत्कालीन नेकपा (माओवादी) बाट उमेदवार बनेकी धर्मशिला चापागाईं निर्वाचित भएर एमालेको गढ हल्लाइदिएका थिए । क्षेत्र नं. ४ मा श्रम संस्कृति पार्टी नेपालका अमृता राई, जनता समाजवादी पार्र्टी नेपालले पल्टन ताजपुरिया, जनमत पार्टीले लोथ्रो हेमरम, नेमकिपाले तुलसीलक्ष्मी डुमरु (बाटी) र मङ्गोल नेसनल अर्गनाइजेसनले दिलिप धिमाललाई चुनावी मैदानमा उतारेको छ । त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी पुष्पलाल) बाट टेकबहादुर अधिकारी, सङ्घीय प्रजातान्त्रिक राष्ट्रिय मञ्चबाट किरण लिम्बू लिङ्देन, विप्लवसमर्थित नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट ताराबहादुर थापा, उज्यालो नेपाल पार्टीबाट सन्तोष तामाङ र राष्ट्रिय मुक्ति पार्टीबाट त्रिनारायण राजवंशी प्रतिस्पर्धा गर्दै छन् । उक्त क्षेत्रमा साजन माझीले स्वतन्त्र उमेदवारी दिएका छन् । नेकपा एमालेका एलपी साँवा लिम्बू, नेपाली काङ्ग्रेसका देउकुमार थेबे, राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाल (सुस्केरा), नेपाली कम्युस्टि पार्टी (नेकपा) का पुरुषोत्तम चुडाल (राजु), राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौलालगायत मुख्य उम्मेदवार रहेका छन् ।
एलपी साँवा लिम्बू–नेकपा एमाले
माता दिलमाया साँवा लिम्बू र पिता बुद्धिमान साँवा लिम्बूका पुत्ररत्नका रूपमा २०२४ असार २७ गते ताप्लेजुङ्गको नाल्बोमा जन्मेका एल.पी.साँवा लिम्बू आसन्न आमनिर्वाचनमा झापा क्षेत्र नं. ४ मा सूर्यध्वजावाहक उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् । प्रतिनिधि सभामा पहिलो कार्यकाल (२०७४ – २०७९) र दोस्रो कार्यकाल (२०७९–२०८२) सफलतापूर्वक सम्पन्न गरेका साँवा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य रहेका छन् । धरानस्थित हात्तीसार क्याम्पसमा अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष (२०४३–२०४५) रहेर स्वतन्त्र विद्यार्थी युनियनको सभापति (२०४३ –२०४४) चुनिएका थिए । जनतासँग भिजेको कारणले उनी सबैका प्रिय छन् ।
२०३६ सालको विद्यार्थी राजनीति हुँदै मूलधारको राजनीतिमा प्रवेश गरेका साँवा एक राजनीतिकर्मी मात्र होइनन्, एक उद्यमी पनि हुन् । जनतालाई सके उद्यमी नसके पूर्ण रोजगार बनाउन चाहने एलपी साँवा लिम्बू आगामी फागुन २१ गते हुने निर्वाचनमा नेकपा एमालेको उम्मेदवारका रूपमा ह्याट्रिक विजय गर्ने सोचमा छन् । ‘राजनीति जनताको सेवा हो’ भन्ने मान्यतालाई आत्मसात गर्ने साँवा नेकपा एमालेभित्रका सशक्त नेता हुन् । उनी पहुँच, प्रभाव, विद्वता र जनतासँगको घुलनशीलताको हिसाबले जनतामाझ सकारात्मक छाप छोड्न सफल नेता हुन् । उनी वैचारिक पक्षधरतामा प्रस्ट छन् । उनी विधिको शासन, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन, आवधिक निर्वाचन र जनादेश सिद्धान्तमा विश्वास गर्छन् । उनी कानुन र विधिका पक्षपाती छन् । जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादका पृष्ठपोषकका रूपमा नेकपा एमालेभित्र उज्ज्वल छबि बनाएका साँवालाई एमालेभित्र जनपक्षीय नेताका रूपमा मानिन्छ । सरल र पहुँचयुक्त व्यक्तित्वका धनी साँवा सदैव सन्तुलित प्रस्तुति राख्छन् । एकातिर उनी पार्टी पक्षधरता राख्छन् भने अर्कातिर उनी विपक्षीसँग पनि उत्तिकै सुमधुर सम्बन्ध राख्न सक्छन् । पार्टीका कार्यकर्ताहरू साँगुरो घेराबाट माथि उठेर जनजनको मनमनमा भिजेर एमालेको राष्ट्रियता, लोकतन्त्र र जनजीविकाप्रतिको अटल समर्थनको झन्डालाई माथि उठाएका कारण नै देशविदेशी सबै प्रकारका दक्षिणपन्थी, जनविरोधी शक्तिहरूले आक्रमणको तारो बनाउँदा पनि एमाले नझुकेको उनको भनाइ छ ।
देशमा गरीबी र कुशासन बढिरहेको र लोकतन्त्रको चौतर्फी क्षयीकरण भइरहेको आजको परिवेशमा राजनीतिमा सुसंस्कार र सुसंस्कृतिलाई अघि बढाउन जरुरी रहेकोमा उनको जोड छ । विचार, सिद्धान्त, एजेन्डा, कार्यदिशा, कार्यशैली, संस्कार र संस्कृतिविनाको राजनीति जनता र देशको पक्षमा हुँदैन भन्ने उनको सोच छ । लामो सङ्घर्ष, दुःख, त्याग, तपस्या, बलिदान, आँसु, रगत र पसिनाको मूल्यमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएको छ । तर, यसका संवाहक, अभियन्ता तथा नेतृत्वकर्ताका कारण मुलुक पश्चगमनमा जानुहुँदैन र लोकतन्त्रको विकल्प खोजिनुहुँदैन भन्नेमा उनी दृढ छन् । आजको लोकतन्त्रको विकल्प अझ उन्नत, अझ प्रगतिशील, अझ जनमुखी लोकतन्त्र मात्र हुन सक्छ भन्ने उनको स्पष्ट मत छ ।
साँवा जनता, कार्यकर्ता र बुद्धिजीवीसँग पनि उत्तिकै सहजतापूर्वक पेस हुन्छन् । झापा क्षेत्र नं. ४ का विभिन्न विद्यालय तथा सङ्घसंस्थाका समस्या हल गर्न सशक्त भूमिका खेलेका कारण पनि जनताका माझमा साँवाको विश्वासिलो र उज्यालो छबि बनेको छ । पूर्वाधार निर्माण र विकास निर्माणप्रतिको लगाव, सबै वर्ग र तहतप्काका जनतासँग सहजै सम्पर्क गर्ने, समायोजन हुने र जनतामाझ परिचित व्यक्तित्वको छबिकै कारण आशा र भरोसाका साथ उनी आफ्नो चुनावी अभियान अघि बढाइरहेका छन् । सूर्य ध्वजावाहक साँवा भन्छन्, ‘जनताबाट परीक्षण भएर, जनताबिचमा आफ्ना सोच, कर्म र दृष्टिकोणबाट श्रेष्ठता हासिल गरेर मात्र नेता हुन सकिने कुरामा नेकपा एमाले विश्वास गर्छ ।’ समाजमा नकारात्मकता, निराशा र तनाव बढ्दै गएको छ । सकारात्मक भन्दा नकारात्मक कुरा गर्ने, अराजकताको कुरामा बढावा दिने—यो ढङ्गले समाज अगाडि बढिरहेको छ । मानिस सदैव कुनै न कुनै प्रकारका तनावबाट पीडित हुने गरेका छन् । यसका लागि साँवाको विशेष पहलमा ध्यान शिबिरहरू सञ्चालन गरिएका छन् । सांसदहरुको मूल काम चाहिँ नीति निर्माण गर्ने, नीति बनाउने, कानुन बनाउने हो, तर यसका बिच पनि जनताले चाहिँ विकास निर्माणकै अपेक्षा गर्छन् । उनी निरन्तर विकास निर्माणको अभियानमा निरन्तर लागिरहेका छन् । धेरै नेताका बारेमा धेरै कुरा उठेका छन् । तर आजसम्म आर्थिक अनियमितता, भ्रष्टाचार, नैतिक पतन र कसैलाई कुनै नराम्रो बोलेको भनी साँवालाई कसैले प्रश्न उठाउन सक्दैन । यो उनको जीवनको सबैभन्दा मूल्यवान पुँजी हो । उनको जनतासँगको सामिप्य नै विजयको मुख्य आधार भएको एमाले युवा नेता सिकिन पासवानको भनाइ छ ।
वास्तवमा साँवा जे काममा लाग्छन्, दिलोज्यानले लाग्छन्, सम्पूर्ण ध्यान केन्द्रित गरेर लाग्छन् । एउटा सांसदको हैसियतमा आफ्नो क्षेत्रको प्रतिनिधिको हैसियतमा तुलनात्मक रूपमा धेरै गरेको उनको दावी छ । पहिलो कुरा सताक्षीधाम–झिलझिले–जनता हुँदै ओकलबाडीसम्म पुग्ने गरी अहिले चौरीसम्म कालोपत्रे सम्पन्न भएको छ । सुरुङ्गा–शरणामती–कामाटोली हुँदै भारतको सीमा क्षेत्र डिगल बैंकसम्मको सडक बनाइएको छ । यो अमरपथ सडक उत्तर–दक्षिणको जीवन–धमनी अर्थात् लाइफलाइन हो । सुरुङ्गालाई इलाम जोड्ने बाटोको निर्माण कार्य पनि निकट भविष्यमा सुरु हुन गइरहेको छ । सुरुङ्गा एक व्यापारिक, शैक्षिक केन्द्रका रूपमा विकास गर्ने आफ्नो सपना रहेको साँवाको भनाइ छ । लक्ष्मी मार्गको अलावा त्यसरी नै सुरुङ्गास्थित सहिद लक्ष्मी पाण्डे चौकदेखि भारतीय सीमासम्मको वैकल्पिक मार्ग निर्माणको काम पनि धेरै सम्पन्न भइसकेको छ । झापा बजारको छोटीभन्सार खोल्न प्रयत्न गरिरहेको साँवाको भनाइ छ । विगतमा निर्माण कम्पनीका कारण ढिलासुस्ती भए पनि हुलाकी मार्गअन्तर्गतको कनकाई पुल निर्माण कार्यका लागि सम्बन्धित निकायसँग पहल भइरहेको उनको भनाइ छ ।
साँवाले अपूर्ण काम सम्पन्न गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् । निर्वाचनमा विजयी हुँदा होस् वा परिणाम आफू अनुकूल नुहँदा पनि साँवा निरन्तर रूपमा जनताको सेवामा क्रियाशिल रहँदै आएका छन् । उनले जित मात्र होइन, विगतमा पराजयको अनुभव पनि सँगालेका छन् । २०७० सालको संविधानसभा निर्वाचनमा झिनो मत अन्तरले निर्वाचनमा पराजित भए पनि साँवा जनताभन्दा टाढा रहेनन् । निरन्तर रूपमा विकास निर्माण साथै समाज रूपान्तरणमा क्रियाशील रहँदै अघि बढेका कारण २०७४ र २०७९ को दुवै निर्वाचनमा साँवालाई विजय हासिल गर्न कुनै समस्या परेन । विगतको विवेचना, आगतको आँकलन गर्दै नित्य जनताका माझ उभिने एक जनप्रिय उम्मेद्वारका रूपमा साँवाको सानदार विजय भयो । दुवै पटक आफ्ना प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका देउमान थेबेलाई पछि पार्दै साँवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
‘सुखी नेपाली समृद्ध नेपाल’ राष्ट्रिय महाअभियानमा लागेका साँवा झापाको मध्यभागमा रहेको भूगोल, कनकाई नदीको कटान नियन्त्रण, सीमावर्ती क्षेत्रसम्मको सहज सडक सञ्जाल विस्तार, घरबार विहीनलाई बसोबासको व्यवस्था, स्वरोजगारमुखी कार्यक्रम, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, खानेपानी जस्ता योजनामा साँवाको पहलबाट उल्लेखनीय काम भएको स्थानीय बताउँछन् । विगतका उदाहरणीय काम, समाजसेवी भावना, सामाजिक अभियन्ताको व्यक्तित्व, निष्कलङ्क छबि, स्पष्ट सोच र भविष्यका योजनाका कारण ‘माटोले चिनेको, जनताले रोजेको र मतदाताले खोजेको’ उम्मेदवारको रूपमा रहेको एमाले झापा जिल्ला कमिटी सदस्य विनोद रानाले बताएका छन् ।
देउकुमार थेबे–नेपाली काङ्ग्रेस
झापा–४ मा उत्तरदायी, जनमुखी र मूल्यमा आधारित नेतृत्वको खोजी रहेको बखतमा ६३ वर्षीय देउकुमार थेबे (देउमान) को उम्मेदवारी परेको हो । निर्वाचनको चहलपहलमा होइन, प्रतिनिधित्वको गुणस्तरमाथि गम्भीर आत्ममन्थनको मोडमा उभिएका कारण थेबेको उम्मेदवारीको महत्त्व झल्किन्छ । वर्षौँदेखि जनताले सुन्दै आएका भाषण, देख्दै आएका अनुहार र भोग्दै आएका अधुरा वाचाबीच यो क्षेत्रले प्रश्न गरिरहेको उत्तर खोज्ने क्रममा थेबेको उम्मेदवारी राजनीतिक विकल्पभन्दा पनि नैतिक र उत्तरदायी निर्णयको प्रस्तावका रूपमा उभिएको छ ।
गौरवमय इतिहास, जिम्मेवार वर्तमान र र उज्यालो भविष्यको नारा बोकेर अघि बढेको नेपाली काङ्ग्रेसका कार्यकर्ता राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्त एवं आदर्शप्रति अटुट आस्थावान छन् र दृढ़ अडान र निरन्तर अभियानमा नेपाली काङ्ग्रेस सदैब अविचलित रहने थेबेको भनाइ छ । नेपाल देशको उन्नति अनि नेपाली जनताको समग्र प्रगति नेपाली काङ्ग्रेसको मूल अभिष्ट भएकाले बी.पी. कोइरालाको विचार, कैयन शहिदको बलिदान, हजारौं योद्धाको समर्पण र लाखौं सदस्यको अनवरत यात्रा पार्टीका मूल अभिष्टमा केन्द्रित र लक्षित रहेको उनको भनाइ छ । नेपाली काङ्ग्रेसका झापा सभापति थेबे पार्टी सङ्गठनभित्र मात्र होइन, जनजीवनसँग प्रत्यक्ष जोडिएर राजनीति गर्ने नेताका रूपमा चिनिन्छन् । उनको राजनीतिक यात्रा पद, प्रतिष्ठा वा आकस्मिक लोकप्रियताको सहारामा होइन, अपितु सङ्घर्ष, निरन्तरता र जनसम्पर्कको जगमा उभिएको छ । कार्यकर्ताको पीडा, किसानको चिन्ता, युवाको रोजगारीको खोजी र आम नागरिकको दैनिक जीवनका समस्यासँग नजिकबाट साक्षात्कार गरेको अनुभव उनको राजनीतिक चेतनाको आधार हो ।
झापा–४ ले आज शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार र सुशासनजस्ता आधारभूत सवालमा दीर्घकालीन सोच बोकेको नेतृत्व खोजिरहेको छ । यहाँ समस्या नयाँ छैनन् । नयाँ चाहिएको भनेको समाधानप्रति इमानदार प्रतिनिधि हो । देउकुमार थेबे यिनै मुद्दामा स्पष्ट दृष्टिकोण राख्ने, सम्भावनालाई योजनामा रूपान्तरण गर्ने र संसदमा क्षेत्रको आवाज दृढताका साथ उठाउन सक्ने नेतृत्वका रूपमा प्रस्तुत छन् । उनका लागि राजनीति सत्ता प्राप्तिको साधन होइन, यो जनताको भरोसा बोक्ने जिम्मेवारी हो ।
विगतमा झापा–४ ले धेरै वाचा सुनेको छ, तर अपेक्षित परिणाम कमै देखेको छ । त्यसैले आज यो क्षेत्रले नाराभन्दा काम, भाषणभन्दा व्यवहार र शक्तिभन्दा जवाफदेहिता खोजिरहेको छ । देउकुमार थेबे यही मान्यतामा उभिएका छन्, जहाँ प्रतिनिधि जनतासँग उत्तरदायी हुन्छ, आलोचनाबाट भाग्दैन र निर्णयमा पारदर्शिता अपनाउँछ । उनको उम्मेदवारी राजनीतिक स्थायित्व र लोकतान्त्रिक मूल्यको संरक्षणप्रति प्रतिबद्धताको स्पष्ट सङकेत हो ।
नेपाली काङ्ग्रेस इतिहास, सङ्घर्ष र लोकतान्त्रिक निरन्तरताको प्रतीक हो । उनी भन्छन्–राजनीति जनहितमा उभिन्छ, प्रतिनिधित्व विश्वासयोग्य बन्छ र विकास दीर्घकालीन सोचसँग जोडिन्छ । उनले लोकतान्त्रिक मूल्य, निष्ठा र उत्तरदायित्वमा आधारित नयाँ अध्याय सुरु गर्ने महान् अभियानकोे सारथीका रूपमा थेबेको उम्मेदवारी रहेको नेपाली काङ्ग्रेसका युवा नेता भूवन खतिवडाको भनाइ छ । नेपाली काङ्ग्रेसले आज युग र नयाँ पुस्ताले खोजेको राजनीतिक दलमा आफूलाई रूपान्तरित गरेको छ भन्ने थेबेको भनाइ छ । क्षणिक आवेग र उत्तेजनाले होइन, दीगो सोच, स्पष्ट दृष्टिकोण र नीतिगत प्रतिबद्धताले स्थापित नेतृत्वले मात्र मुलुकको निकास दिने हो ।ऊर्जा र अनुभवको सङ्गम—आज देशले खोजेको सक्षम विल्कप नेपाली काङ्ग्रेस हो । स्थायित्व, सुशासन र समृद्ध विकासका लागि आफ्नो उम्मेदवारी रहेको थेबेको भनाइ छ ।
ठुलो होहल्ला र तामझाम बिनानै चुनाव प्रचारप्रसारमा जुटेका पूर्व जनप्रतिनिधिसमेत रहेका थेबे २०७४ र २०७९ मा एलपी साँवाबाट पराजित भए पनि यस पटक जित हासिल गर्ने पक्षमा छन् । उनी भन्छन्–‘दुई पटकको हारले मलाई निराश बनाएको छैन, ती हारले मलाई चुनावी रणनीति बनाउन शिक्षा दिएका छन् ।’ राष्ट्रियता र लोकतन्त्रको संरक्षण र संबद्र्धन गर्दै लोकतान्त्रिक समाजवादको आदर्श अनुरूप समानुपातिक समावेशी सिद्धान्तका आधारमा नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा स्थापित गरी राजनीतिक, सामाजिक र आर्थिक विकास गर्ने उद्देश्यले नेपाली काङ्ग्रेस नित्यनिरन्तर अघि बढिरहेको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श एवं सिद्धान्तअनुरूप बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको माध्यमबाट प्रत्येक नागरिकका राजनीतिक, आर्थिक, सामाजिक, भाषिक तथा सांस्कृतिक एवं धार्मिक अधिकार र वैयक्तिक स्वतन्त्रताको प्रत्याभूति गर्दै, नागरिकको सुरक्षा, संरक्षण र समान अवसर उपलव्ध गराउन, न्यायपूर्ण, समतामूलक, गतिशील र शान्तिपूर्ण लोकतान्त्रिक समाज निर्माण गरी सम्पन्न नागरिक र समुन्नत राष्ट्र निर्माण गर्दै राजनीतिक, सामाजिक तथा आर्थिक विकासको लक्ष्य पूरा गर्ने र विश्वशान्ति एवं भ्रातृत्व कायम गर्दै विश्वसामु नेपाललाई अखण्ड, सम्पन्न र स्वाभिमानी राष्ट्रका रुपमा परिचित गराउने नेपाली काङ्ग्रेसको उद्देश्यलाई आफूले सदैव अनुशरण गर्ने थेबेको प्रतिबद्धता छ ।
शम्भुप्रसाद ढकाल (सुस्केरा) –राष्ट्रिय स्वतन्त्र पार्टी
पचास वर्षीय शम्भुप्रसाद ढकाल (सुस्केरा) २०७९ को निर्वाचनमा पार्र्टीको कमजोर सङ्गठन रहँदारहँदै १४ हजार ६९ मत ल्याएर एलपी साँवा र देउमान थेबेलाई पछ्याएका थिए । रास्वपा उमेदवार सुस्केरा यो पटक पार्टीको सशक्त सङ्गठन बनाएर नतिजा उल्टाउने दाउमा छन् । २०७९ को निर्वाचनताका रास्वपाको सङ्गठन थिएन, तर यस पटक गाउँ÷नगर कमिटी मात्र होइन, वार्ड र टोल कमिटी पनि बनाएर सशक्त तयारीका साथ सुस्केरा क्रियाशील छन् । स्थानीय कन्काई मावि सुरुङ्गाबाट माध्यमिक शिक्षा र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गरेका सुस्केराले प्रतिनिधि सभा झापा क्षेत्र नम्बर ४ का रास्वपा उम्मेद्वार सुस्केराले ५४ बुँदे वाचापत्र सार्वजनिक गरेका छन् । झापाका अन्य क्षेत्रमा सञ्चारकर्मीका प्रश्नबाट भागिरहेका रास्वपा उम्मेदवारभन्दा फरक झापा क्षेत्र नम्बर ४ मा सुस्केरा सञ्चारकर्मीसँग सदैव दोहोरो संवादमा रहने गर्छन् । ढकालले सार्वजनिक गरेको वाचापत्रमा बारम्बार निर्वाचन जितेर आफ्नो घोषणापत्र अनुसार जनताको काम नगर्ने उम्मेद्वारलाई ठगी मुद्दा हालेर जेल हाल्ने कुरा उल्लेख गरेका छन् । २२ वर्ष नेपाल प्रहरीमा काम गरेका सुस्केरा रेडियो कार्यक्रम प्रस्तोता र साहित्यकार पनि हुन् । उनी योग तथा खाना नफालौं अभियानका अभियन्ता पनि हुन् । उनले आफू चुनाव जितेर गएमा संसदमा जनविरोधी कानुन संशोधन गर्ने बताए ।
२ पटकसम्म १० सिट सम्म नजित्ने पार्टी र १० लाख सम्म भोट नल्याउने पार्टीको दर्ता खारेजी गर्ने समेत चुनावी वाचापत्रमा उल्लेख छ । निर्वाचित नेता सांसदको सम्पत्ति छानबिन गर्ने र जनतामा सुशासनको प्रत्याभूति गराउने, प्रहरी तथा सेनाले १६ वर्षमा पेन्सन सुविधा पाउने, द्वन्द्वपीडित प्रहरी र नागरिकलाई समेत उचित व्यवस्थापन गर्ने, जनमैत्री प्रहरी सेवा लगायातका कुराहरू वाचापत्रमा उल्लेख रहेको छ । यसै गरी जनप्रतिनिधिको मृत्यु वा राजीनामा दिएमा पुनः उपनिर्वाचन नगरी उपविजेतालाई स्वतः जिम्मेवारी दिने कुरा समेत वाचापत्रमा उल्लेख छ । लागुऔषध कारोवारी र बलात्कारीलाई आजीवन कारावासको व्यावस्था र उनीहरुको सजाय माफी मिनाह नहुने व्यवस्था गरिने, गाउँ गाउँमा योगअभ्यास गराई यसको गुरु बनाएर विदेशमा योग अभ्यास गर्नका लागि प्रशिक्षक पठाइने समेत चुनावी वाचापत्रमा उल्लेख छ । यसै गरी युवालाई बिना धितो ऋण उपलब्ध गराइने, माटो बचाउन विषादीरहित खेती प्रणाली अवलम्बन गरिने, विद्यार्थीहरुलाई पढ्दै कमाउदै गर्ने वातावरणको सृजना गरिने समेत वाचापत्रमा उल्लेख छ । यसै गरी ऐलानी जग्गाको धनीपूर्जा वितरण, सुकुम्बासी समस्याको समाधान गर्ने, कनकाई, बिरिङ, कमल लगायतका नदीहरुको स्थायी समाधान गरिने, यस क्षेत्रका धार्मिक पर्यटकीय स्थलहरू दोमुखा, माईधाम, कोहीहवन, जामुनखाडीको स्तरोन्नति गरी थप पर्यटक आउने वातावरण बनाइने कुरा समेत वाचापत्रमा उल्लेख छ । सुस्केराले वाचापत्रमा स्थानीय मदिरालाई ब्रान्डिङ गरी बजार व्यवस्थापन गरिने, हात्तीको आक्रमण रोक्न विशेष पहल, कनकाई नदीको अधुरो पुल बनाइने लगायतका वाचा गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो । यसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्नु हो । लोककल्याणकारी राज्यको सुनिश्चिताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत–साधनको दिगो परिचालन गर्दै उद्यममैत्री, लगानी–अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि स्वच्छ र सुदृढ नियमनकारी संरचना बनाई राष्ट्रिय आय र रोजगारीको विस्तार, श्रमप्रति समर्पित, सामाजिक पुँजीको अभिवृद्धि र जलवायु–पर्यावरणीय सन्तुलन कायम गर्न यो पार्टी सर्वात्मना प्रतिबद्ध छ । शान्तिपूर्ण मार्गबाट नै समाजवादका प्रधान लक्ष्यहरू संविधानमा निर्दिष्ट गरी तदनुकूल राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालनको अठोटलाई संवैधानिक समाजवादका रूपमा व्याख्या गर्दै अप्रिय ऐतिहासिक विरासतका रूपमा विद्यमान लैङगिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरूविरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरूको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइने नीतिअनुरूप आफू सदैव जनताको पक्षमा उभिइरहने सुस्केराको भनाइ छ । कुशल सङ्गठकसमेत रहेका सुस्केराले नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान, विश्वभर फैलिएका नेपालीहरूको सामूहिक सामथ्र्य र एसियाको उदाउँदो भूराजनीतिक महत्वलाई आत्मसात् गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई सदा अक्षुण्ण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभीष्ट रहेको बताए ।
रास्वपा जिल्ला सचिवसमेत रहेका उम्मेदवार सुस्केरा अति अध्ययनशील र चिन्तनशील व्यक्तित्वका रूपमा परिचित छन् । राजनीतिक विकल्पको रूपमा उदाएको मानिने रास्वपाभित्रका प्रखर बौद्धिक व्यक्तित्वको छबि बनाएका सुस्केरा आम क्षेत्र नं. ४ का जनताका लागि आशा र भरोसाको उम्मेदवार रहेको रास्वपाका युवा नेता रमेशचन्द्र मैनालीले बताए ।
पुरूषोत्तम चुडाल (राजु)–नेपाली कम्युनिस्ट पार्टी (नेकपा)
नेपाली कम्युनिष्ट पार्टीले झापा क्षेत्र नम्बर ४ मा युवा नेता पुरुषोत्तम चुडाल (राजु) लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । वर्गसङ्घर्षको अग्निमय जनयुद्धको भट्टीबाट खारिएका चुडाल तीन दशकदेखि राजनीतिमा सक्रिय छन् । आँसु, पसिना र रगतको त्रिवेणीको रूपमा रहेको दश वर्षे जनयुद्ध नेपालको इतिहासमा जनताको तर्फबाट भएको सबैभन्दा ठूलो विद्रोह थियो ।
ताप्लेजुङको साविक फूलबारी गाविस वडा नम्बर ५ मा ४३ वर्ष अघि जन्मिएका चुडाल २०५८ सालदेखि झापाको कनकाई नगरमा बसोबास गर्दै आएका छन् । २०५० सालदेखि विद्यार्थी राजनीतिमा संलग्न भएका उनी २०५४ सालमा अखिल क्रान्तिकारीमा आबद्ध भई केन्द्रीय सदस्यसमेत भएका थिए ।
चुडाल २०५५ साल फागुन २९ गते माओवादीको एरिया सदस्य भएसँगै पार्टीको पूर्णकालीन कार्यकर्ता (डब्ल्यूटीओ) भएका थिए । २०६० सालमा तत्कालीन शाही नेपाली सेनाले सुरुङ्गाबाट पक्राउ गरेका चुडाललाई ११ महिनासम्म सैनिक हिरासतमा राखेर बेपत्ता बनाएको थियो । माओवादी वृत्तमा चुडाललाई ‘जिउँदा शहिद’ भनेर मानिन्छ । आतङ्ककारीको बिल्ला भिराउदै शाही नेपाली सेनाले २०६१ कार्तिकमा जेल चलान गरेका उनलाई २०६३ को जनआन्दोलन सफल भएसगै रिहाइ गरिएको थियो ।
२०६६ सालबाट पार्टीको केन्द्रीय सदस्य बनेका उनले झापा इन्चार्जको जिम्मेवारी समेत सम्हालिसकेका छन् । २०७० सालमा संविधानसभा सदस्यको उम्मेदवार बनेका चुडाल त्यस यता पार्टीको विभिन्न जिम्मेवारीसँगै सामाजिक गतिविधिमा सक्रिय छन् । गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानका अध्यक्षको रूपमा उनले कुशलतापूर्वक कार्यसम्पादन गरिरहेका छन् । संविधानसभा सदस्य समेत रहेका गौरीशङ्कर पूर्व क्षेत्रका माओवादी आन्दोलनका मुख्य योजनाकार, सङ्गठक र बौद्धिक व्यक्तित्वका रूपमा स्थापित थिए । मुलुकमा सङ्घीयता, समावेशिता, धर्म निरपेक्षतासहितको गणतन्त्र ल्याउन र मुलुकलाई समृद्धितर्फ अगाडि बढाउन सक्रिय भूमिका खेलेका चुडालले आगामी निर्वाचनमा विजयी गराई झापा–४ को मुहार फेर्ने अवसर प्रदान गर्न सम्पूर्ण मतदातालाई नेकपा नेता विजय साम्पाङले हार्दिक आग्रह र अपिल गरेका छन् ।
नेपालसहित विश्व कम्युनिस्ट आन्दोलनको गहिरो अध्ययन गरेका चुडाल मिलनसार र जनस्तरमा सहजै घुलमिल हुने युवा नेताका रूपमा चिरपरिचित छन् । चरित्रमा आजसम्म कुनै दाग नलागेका उच्च मनोबल र सकारात्मक सोचका धनी चुडाल आफूले चुनाव जित्नेमा विश्वस्त छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का झापा ४ का उम्मेदवार राजु मतदाताको घर घरमा पुगेर भ्रष्टाचार र मुलुक बिखण्डन गर्ने दुवै अतिबाट मुलुकलाई बचाउन अपिल गरिरहेका छन् । उनले १९ बुँदे प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि युवा उम्मेदवार चुडालले आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै नेपाली जनता लामो समयदेखि सामन्तवाद, साम्राज्यवाद र दलाल पूँजीवादको शोषण दमन र अन्यायको चक्रमा पिल्सिदै आएका जनताको त्याग, बलिदान र सशस्त्र सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नयाँ सम्भावनाको ढोका खोलेको भए पनि आर्थिक असमानता, बेरोजगारी, कुशासन, भ्रष्टाचार र सामाजिक विभेद अझै अन्त्य हुन नसकेको बताएका छन् । उनी भन्छन्–वर्तमान राष्ट्रिय सङ्कटबाट देशलाई निकास दिन वर्तमान शासकीय स्वरूपलाई आमूल परिवर्तन गरी सरकारलाई स्थायित्व दिन आवश्यक छ । चुडालले जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन र पहिचानवादी आन्दोलनबाट प्राप्त उपलब्धीहरूको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, संविधान संशोधनको माध्यमबाट जेन्जी पुस्ताको भावनासहित जनताका अग्रगामी एजेन्डालाई सम्बोधन गर्न, खर्चिलो र भड्किलो निर्वाचन प्रणालीलाई परिमार्जन गरी सरल र सहज निर्वाचन प्रणाली स्थापित गर्न र भ्रष्टाचारीलाई कार्वाही गरी सुशासन, समाजिक न्याय, आर्थिक सम्मृद्धि कायम राखी वैज्ञानिक समाजवादको आधार तयार पार्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) श्रमजीवी जनता, किसान, मजदुर, उत्पीडित वर्ग र समुदायको हक–अधिकारका लागि सङ्घर्षरत रहँदै पूर्ण मुक्ति, स्वतन्त्रता, समानता र सामाजिक न्याय प्राप्तिलाई आफ्नो केन्द्रीय उद्देश्य बनाउँदै आएको पार्टी भएको र पार्टीको सामन्तवाद, साम्राज्यवाद र दलाल पुँजीवादसहित सबै प्रकारका शोषण र विभेदको अन्त्य गर्दै समाजवादी व्यवस्था स्थापना गर्नु पार्टीको मूल लक्ष्यमा अविचलित योद्धाको रूपमा चुडाल उभिएका छन् । नेपाली कम्युनिष्ट पार्टीले बृहत वामपन्थी एकता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित नेपाली विशेषताको वैज्ञानिक समाजवादतर्फको यात्रा अघि बढाएकाले शोषणरहित, विभेदरहित र समतामूलक समाज निर्माणमा आफूले आफ्नो जीवनका सुन्दर वर्षहरू समर्पण गरेको चुडालको भनाइ छ । नेपाली कम्युनिष्ट पार्टी श्रमजीवी जनता, युवा, महिला, किसान, मजदुर, दलित, आदिवासी जनजाति, मधेसी र उत्पीडित समुदायहरूसँगै जनताकै नेतृत्वमा समाजवाद निर्माणको महान् यात्रामा दृढतापूर्वक अघि बढिरहेकाले आफ्नो जित निश्चित भएको उनको भनाइ छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी–भक्तिप्रसाद सिटौला
भक्तिप्रसाद सिटौला राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आबद्ध एक अनुभवी राजनीतिक व्यक्तित्व हुन् । उनी झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार रहेका छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिक रूपमा सक्रिय छन् सिटौला समाजमा समानता, विकास र समुदाय सशक्तीकरणका विषयमा उनको विशेष ध्यान छ । उनी राजनीतिलाई केवल सत्ता र पद प्राप्तिको साधन नभई समाज सुधारको माध्यमको रूपमा हेर्छन् । उनको नेतृत्वमा स्थानीय नागरिकको आवाज राष्ट्रिय स्तरमा पु¥याउने प्रयास निरन्तर भइरहेको छ । विचारप्रधान र अनुभवप्रधान शैलीले उनलाई झापामा प्रभावशाली नेता बनाएको छ । उनी समुदायसँग नजिक रहँदै निर्णय प्रक्रिया र नीति निर्माणमा प्रत्यक्ष योगदान पु¥याउन प्रयासरत छन् ।
भक्तिप्रसाद सिटौलाको जन्म २०१८ साल जेठ १३ गते तेह्रथुममा भएको हो । उनको नागरिकता तेह्रथुमबाट जारी गरिएको छ । बाल्यकालदेखि नै उनी पारिवारिक मूल्य, अनुशासन र सामाजिक उत्तरदायित्वको माहोलमा हुर्किएका छन् । उनका पिता देवीभक्त सिटौला सामाजिक र नैतिक मूल्यमा विश्वास गर्ने व्यक्तित्वका धनी थिए । वैवाहिक जीवनमा उनी लुना सिटौलासँग आबद्ध छन् । पारिवारिक सहयोगले उनको राजनीतिक र सामाजिक यात्रामा स्थिरता र बल थपेको छ । परिवारको साथ र मार्गदर्शनले उनलाई नेतृत्व, सहकार्य र समाजसेवामा सक्रिय हुन प्रेरित गरेको देखिन्छ ।
भक्तिप्रसाद सिटौलाले स्नातकोत्तर तहको शिक्षा त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट हासिल गरेका छन् । उच्च शिक्षाले उनलाई बौद्धिक विकास, नेतृत्व क्षमता र नीति निर्माण सम्बन्धी ज्ञान प्रदान गरेको छ । यसले उनलाई सङ्गठनात्मक क्षमता र निर्णय क्षमतामा सशक्त बनाएको छ । शैक्षिक पृष्ठभूमिसँगै उनले सामाजिक क्षेत्रमा लामो समयसम्म सक्रिय भएर व्यावहारिक अनुभव प्राप्त गरेका छन् । यसले उनलाई निर्णय क्षमता, नेतृत्व र जनसरोकारका मुद्दामा प्रभावकारी बनाएको छ ।
उनको राजनीतिक आबद्धताको लामो इतिहास छ । भक्तिप्रसाद सिटौला राष्ट्रिय प्रजातन्त्र पार्टीको सक्रिय सदस्य हुन् । पार्टीको नीति र उद्देश्य अनुसार उनी झापामा सङ्गठन मजबुत बनाउन, समुदायको आवाज राष्ट्रिय तहमा पु¥याउन र क्षेत्रीय विकासका परियोजनाहरूमा संलग्न छन् । उनको राजनीतिक भूमिका केवल पार्टीभित्र सीमित रहेको छैन । उनी समावेशी लोकतन्त्र, सामाजिक न्याय र समुदायको सशक्तीकरणको पक्षमा बहस र अभियानहरूमा निरन्तर सक्रिय छन् । यसले उनलाई क्षेत्रीय र राष्ट्रिय स्तरमा प्रभावकारी नेता बनाएको छ । उनको गौरवमय सामाजिक भूमिका र नेपालपक्षीय स्पष्ट दृष्टिकोणका कारण उनी एक भरपर्दा नेतृत्वका रूपमा स्थापित छन् ।
भक्तिप्रसाद सिटौला सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । उनी समाजमा समानता, न्याय र समावेशी विकासमा विश्वास गर्ने नेता हुन् । उनी स्थानीय तहमा शिक्षा, स्वास्थ्य र महिला सशक्तीकरणका परियोजनाहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । उनको दृष्टिकोणमा राजनीति केवल सत्ता प्राप्तिको माध्यम होइन, समाज रूपान्तरण र नेतृत्वको साधन हो । उनी झापा निर्वाचन क्षेत्रका नागरिकको आवाज राष्ट्रिय बहसमा पु¥याउने र नीति निर्माणमा प्रत्यक्ष प्रभाव पार्न निरन्तर प्रयासरत छन् । यस दृष्टिकोणले उनलाई समुदाय र पार्टीभित्र दिगो नेतृत्व प्रदान गरेको छ ।
सम्बद्र्धनवादको दार्शनिक जगमा उभिएको मौलिक राजनीतिक दलको रूपमा स्थापित राप्रपा तीन दशक लामो प्रजातान्त्रिक अनुभवले खारिएको नेपाल र नेपालीको एक मात्र गौरवशाली पार्टी भएको सिटौलाको भनाइ छ । उनी भन्छन्, ‘राप्रपा प्रजातन्त्रप्रति मन, वचन र कर्मले प्रतिबद्ध सु–स्पष्ट विचार र अलग पहिचान सहितको राजनीतिक दल हो । हरेक निर्णयमा पारदर्शिता, सहभागिता, जवाफदेहीता र पार्टीका प्रत्येक सदस्यले अपनत्व लिन सक्ने आन्तरिक लोक तन्त्रको अभ्यासले मात्र बलियो र दिगो लोकतन्त्र बनाउन मद्धत गर्नेछ । हाम्रो श्रद्धेय अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर देश र जनताको सेवामा प्रतिबद्ध रहौँ भन्ने महान् वाणीको हामी सबै अनुशरण गर्छौँ ।’
राप्रपाले सबैभन्दा पहिले नीति र नियतमा सुधार हुनसके मात्र मुलुकले प्रगति गर्न सक्छ भन्नेमा विश्वास गर्दछ । राजसंस्था, समधर्म सर्वधर्म सापेक्ष सनातन धर्मसहित हिन्दु राज्य हुनुपर्नेमा दृढ विश्वास राख्ने दलको हैसियतले मतदान गर्न सिटौलाले आम मतदातासँग अपिल गरेका छन् । पृथ्वीनारायण शाहले देखाएको बाटो अर्थात् पृथ्वीपथमा अविचलित अगाडि बढिरहेको राप्रपाले आफ्नो सङ्कल्प जनसमक्ष प्रस्तुत गरेको छ, सोही अनुरूप आफू क्रियाशील भइरहेको सिटौलाको भनाइ छ ।




























