बिर्तामोड।

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको भन्दै उपचारका लागि आर्थिक सहयोगको अपिल गरेसंगै देशविदेशबाट लाखौं रुपैंया सहयोग जुटेको छ ।
यसैक्रममा नागरिकको सुरक्षामा अहोरात्र खट्ने नेपाल प्रहरीले समेत साम्बालाई सहयोग गरेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, कर्णाली प्रदेशको नेतृत्व गरिरहेका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द रिजालले ५० हजार रुपैंया आर्थिक सहयोग गरेका छन् । उनले आफु मातहत भित्रका ट्राफिक प्रहरीलाई सहयोग गर्न आहवान गरेका थिए ।
उनको आहवान लगत्तै ट्राफिक प्रहरीहरुले रकम जम्मा गरेको प्रहरी उपरीक्षक रिजालले जानकारी दिए । रिजालका अनुसार प्रदेशभर कार्यरत १ सय १७ जना ट्राफिक प्रहरीले स्वेच्छिक रूपमा रकम संकलन गरी सहयोग गरेका हुन्। उनले नागरिकको जनधनको सुरक्षासंगै देशको गौरव बढाउन महत्वपूर्ण योग्दान दिने नेपाली फुटबलकी कप्तान साम्बालाई सहयोग गरेको बताए ।
सामाजिक सञ्जालमार्फत उनले पछिल्लो सात हप्तादेखि चोटका कारण मैदानबाहिर रहनुपरेको जानकारी दिँदै यसअघि गरिएको शल्यक्रियामा हालिएको ग्राफ्ट र एमसिएल (मिडियल कोलेटरल लिगामेन्ट) दुवैमा गम्भीर क्षति पुगेको उल्लेख गरेकी छन्। यसका लागि पुनः जटिल शल्यक्रिया आवश्यक रहेको उनले बताएकी छन्।
अघिल्लो प्रक्रिया रोकिँदा झण्डै दुई महिनापछि मात्र पुनः शल्यक्रियाको मिति तय गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ। हाल उनी न्युजिल्यान्डस्थित क्लबमा आबद्ध छिन्। क्लबले स्थानीय अस्पतालमै उपचार गराउन तयार रहेको जनाए पनि उनले आफ्नो चोट गम्भीर रहेकाले उच्चस्तरीय उपचारका लागि कतारको अस्पेटार अस्पतालमै उपचार गराउने इच्छा व्यक्त गरेकी छन्। क्लबले बीमाबाट प्राप्त रकम उपलब्ध गराउने भए पनि शल्यक्रिया र ७–८ महिनाको पुनर्स्थापन (रिह्याबिलिटेसन)का लागि उक्त रकम अपुग हुने जनाइएको छ।
उपचारका लागि प्रारम्भिक रूपमा करिब ८० हजार अमेरिकी डलर खर्च हुने अनुमान छ। उनले सहयोगका लागि अपिल गरेको २४ घण्टा नबत्दिै सहयोग रकम जम्मा भएको थियो । उनले अब सहयोग पर्याप्त भएको बताएकी छन् ।





























