बिर्तामोड।

झापा पुस्तक तथा स्टेसनरी व्यवसायी सङ्घ ले स्थापना गर्न लागेको ‘व्यवसायी हित कोष’मा रकम सङ्कलन सुरु भएसँगै व्यवसायी वृत्तमा उत्साह थपिएको छ।
२०८३ वैशाख १ गतेदेखि औपचारिक रूपमा लागू हुने गरी तयार पारिएको यस कोषको कार्यविधि २०८२ स्वीकृत हुनुअघि नै व्यवसायीहरूबाट सहयोग जुट्न थालेको हो। सङ्घका अध्यक्ष विनोद सापकोटाका अनुसार तीन दिनको छोटो अवधिमै ७० हजार रुपैयाँ सङ्कलन भइसकेको छ।
कोषमा हालसम्म विराटनगरका मातृका शिवाकोटीले १५ हजार, बिर्तामोडका पुष्प प्रसाईले २५ हजार, झिलझिलेका विनोद सापकोटाले १० हजार तथा बुट्टाबारीका गौरीप्रसाद चौलागाईंले १० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन्। यस्तै सुरुङ्गाका दुर्गाप्रसाद घिमिरेले पनि कोष वृद्धिका लागि नगद १० हजार प्रदान गरेका छन्।
कोषमा जम्मा भएको अधिकांश रकम व्यवसायीहरूबाटै प्राप्त भएको अध्यक्ष सापकोटाले जानकारी दिए। उनले २०८३ सालभित्रै कोषमा कम्तीमा १५ लाख रुपैयाँ जम्मा गर्ने लक्ष्य लिइएको बताए।
सङ्घ दर्ता भएसँगै व्यवसायीको सुरक्षा र हितका लागि छुट्टै कोष सञ्चालन गर्ने निर्णय गरिएको थियो। सोही निर्णयअनुसार हाल कोषको कार्यविधि २०८२ निर्माणाधीन अवस्थामा छ।
कोषका संयोजक सुमन खनालका अनुसार प्राकृतिक विपत्ति वा आकस्मिक दुर्घटनाबाट व्यवसायीलाई हुने क्षतिमा तत्काल राहत उपलब्ध गराउने उद्देश्यले यो कोष स्थापना गरिएको हो। आगलागी, बाढी, भूक्षय, भूकम्प, हुरी बतास, चट्याङ जस्ता प्राकृतिक विपत्तिबाट प्रभावित व्यवसायीलाई आर्थिक सहारा दिने लक्ष्य कोषले राखेको छ।
त्यसैगरी व्यवसायीको व्यवसाय सञ्चालनकै क्रममा वा अन्य दुर्घटनामा परी अङ्गभङ्ग हुन गए उपचारका लागि सहयोग उपलब्ध गराइने व्यवस्था गरिने खनालले बताए। यदि कुनै व्यवसायी वा उनीहरूको परिवारका सदस्यको दुर्घटनाबाट मृत्यु भएमा पनि कार्यविधिअनुसार राहत रकम प्रदान गरिनेछ।
झापामा करिब ४०० पुस्तक तथा स्टेसनरी व्यवसायी सक्रिय छन्। उनीहरूलाई संगठित गर्दै हक–हित, सुरक्षा र व्यावसायिक स्थायित्वका लागि सङ्घले विभिन्न पहल गर्दै आएको छ। व्यवसायी हित कोषलाई दीर्घकालीन सामाजिक सुरक्षा कार्यक्रमका रूपमा लिइएको छ, जसले संकटको घडीमा व्यवसायीलाई आर्थिक रूपमा ढल्न नदिने व्यवसायी सङ्घका सचिव चुडामणि घिमिरेले बताए।
अध्यक्ष सापकोटाका अनुसार सानो–सानो योगदानबाट ठूलो कोष निर्माण गर्न सकिने भएकाले सबै व्यवसायी र दातृ संस्थालाई सहभागी हुन आह्वान गरिएको छ। ‘आजको सानो सहयोग भोलिको ठूलो सहारा बन्न सक्छ,’ उनले भने।
महासङ्घका निवर्तमान कोशी प्रदेश अध्यक्ष जीवन नेपाल का अनुसार यस्ता कोषले व्यवसायीबीच एकता र आपसी विश्वास बलियो बनाउनुका साथै जोखिम व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्छ।
प्राकृतिक विपत्ति वा आकस्मिक क्षतिबाट व्यवसाय ठप्प हुने अवस्था आउँदा तत्काल राहत पाउँदा पुनः व्यवसाय सञ्चालनमा फर्किन सहज हुने उनले बताएका छन् । यसले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा उनको छ।
झापा पुस्तक तथा स्टेसनरी व्यवसायी सङ्घलाई वस्तुगत संगठनका रूपमा स्थापित गर्दै सदस्यहरूको सामूहिक सुरक्षा र समृद्धिको आधार तयार गर्ने दिशामा व्यवसायी हित कोष महत्वपूर्ण कदम को रूपमा मानिएको छ।






























